arrow

राजश्व सङ्कलन घटेपछि भैरहवा सीमामा सशस्त्रको सक्रियता बढ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २३ शनिबार
bhairahawa-apf-check-tax-2023.jpg

भैरहवा। भैरहवा भन्सार कार्यालयमा राजश्व सङ्कलन घटेसँगै सीमा क्षेत्रमा सशस्त्र प्रहरीले सक्रियता बढाएको छ। नेपालकै दोस्रो ठूलो भन्सार नाकाको रूपमा रहेको भैरहवा भन्सार कार्यालयले पछिल्लो १२ महिनादेखि निरन्तर राजश्व सङ्कलन लक्ष्यअनुरूप गर्न नसकेर घाटामा गइरहेको छ। मुलुकका लागि ठूलो योगदान गर्ने यो नाकाबाट नै राजश्व सङ्कलन घटेसँगै सीमा सुरक्षा र अवैध चोरी निकासी रोकथाम तथा नियन्त्रणको जिम्मा पाएको सशस्त्र प्रहरीले सीमा विन्दुमै सक्रियता बढाएको हो।

सीमा सुरक्षा र अवैध गतिविधि नियन्त्रण सशस्त्र प्रहरीको पहिलो जिम्मेवारी हो। सशस्त्र प्रहरी बल नेपाल २७ नम्बर हेड क्वाटरको नेतृत्वमा समग्र रुपन्देहीको सीमा सुरक्षा व्यवस्था भइरहेको छ।

सशस्त्र प्रहरी उपरीक्षक गगन श्रेष्ठका अनुसार सीमामा चोरी निकासी रोक्न थप जनशक्ति परिचालन गरी आकस्मिक र आवश्यकताअनुसार ठाँउठाँउमा चेकजाँच बढाइएको छ। सरकारलाई राजश्वको दबाब पनि परेको छ, सशस्त्र प्रहरीले पनि केही योगदान गर्न सक्छ की भनेर जनशक्तिको अधिकतम प्रयोग गरी राजश्व वृद्धिका लागि दुई सातादेखि लागेको उनले बताए।

एसपी श्रेष्ठका अनुसार नियमितका साथसाथै सर्प्राइज चेकिङ पनि भइरहेको। जहाँबाट नतिजा राम्रो पाएको र त्यसमै केन्द्रित भएर सीमामा भएको अवैध ओसारपसार नियन्त्रण र निरुत्साहित गर्न सशस्त्र प्रहरी लागेको छ। उनले भने, 'सीमा क्षेत्रमा लाग्दै आएको फरेनिया बजारमा जान नेपालीलाई रोक लगाउँदै आएका छौँ, कोभिडको नयाँ भेरिअन्ट पनि देखिएकोले थप सजगता, सुरक्षा चुनौती र जोखिमलाई मध्यनजर गर्दै नेपालीलाई सचेत पनि गराइरहेका छौँ।'

एक वर्षदेखि भैरहवा भन्सार कार्यालयले पाएको लक्ष्य भेटाउन सकेको छैन। कार्यालयको तथ्यसङक अनुसार मङ्सिर ०७८ सम्म लक्ष्यअनुरूप सफलता हासिल भए पनि पुसपछि लक्ष्य प्राप्त नै नभई आयात घट्दै गएको छ। नयाँ वर्षको सुरुवातसँगै घट्दो क्रममा रहेको भन्सार राजश्व सङ्कलन बढेको छैन। आर्थिक वर्ष २०७९/८०को पहिलो महिना लक्ष्यको ७० दशमलव ९८ प्रतिशत राजश्व सङ्कलन भए पनि भदौमा ६७, असोजमा ४१, कार्तिकमा ४० र मङ्सिरमा ३९ प्रतिशतमा सीमित रह्यो।

५ पुस ०७८ देखि नेपाल राष्ट्र बैक केन्द्रीय कार्यालय विदेशी विनिमय व्यवस्थापन विभागले ‘क’ वर्गको वाणिज्य बैक र ‘ख’ वर्गको विकास बैकलाई विभिन्न २० वटा हार्मोनिक कोडअन्तर्गतको वस्तुको एलसी खोल्दा अनिवार्य तोकिएको मार्जिन प्रतिशत लिनुपर्ने प्रावधान लागु गरेसँगै भैरहवा भन्सार कार्यालयले लक्ष्य पार गर्न सकेको छैन।

नीतिमा फेरबदलले भन्सार आयात घटेसँगै राजश्वमा कमी हुनुका साथै तस्करहरू पनि मौलाएका थिए। जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी र भन्सार कार्यालयको गस्ती टोलीले अवैध तरिकाबाट नेपाल भित्रिएका सामानहरू पनि नियमित रूपमा भन्सार हुँदै आइरहेको पाएपछि पछिल्लो समय सुरक्षा निकायको ध्यानाकर्षण सीमामा रहेको छ।

सरकारले विभिन्न शीर्षकका वस्तुहरूको आयात गर्दा अनिवार्य रूपमा प्रतितपत्र (एलसी) को व्यवस्था गरेसँगै एलसी प्रक्रियामा जान साना व्यवसायीले झन्झटिलो मानेर सङ्गठित रूपमा तस्करी हुने गरेको भन्सार स्रोतले जानकारी दिएको छ। सुरक्षा निकाय र भन्सारको गस्ती टोलीले बरामद गर्ने अधिकांश अवैध वस्तु तिनै साना व्यवसायीको हुने गरेको छ।

सशस्त्र प्रहरीसँगै नेपाल प्रहरीको पनि प्रमुख जिम्मेवारी अवैध वस्तुको ओसारपसार नियन्त्रणमा हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षकको कमाण्डमा  ७८ वटा प्रहरी युनिट, अस्थायी चेक पोस्ट र मोबाइल टोली र सादा पोसाकका प्रहरी पनि खटिएका छन्।

यता स्थल मार्ग भई सबैभन्दा बढी पर्यटक आउने बेलहिया सीमामादेखि केही दुरीमै रहेको डण्डा बिओपीको चेकिङ प्वाइन्टसमेत सीमा क्षेत्रमा अधिकतम प्रयोग भएको छ। पर्यटक, सर्वसाधारणलाई चेकिङको नाममा धेरै सास्ती भएको भन्ने गुनासो आएकोले सोलाई मध्यनजर गर्दै सीमा विन्दुमै चेकजाँचमा कडाइ गरिएको हो।

बिओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक मनोज खड्काकै कमाण्डमा सीमा चेकजाँच कडाइ गरिएको छ। सीमामै चेकिङ बढाए अवैध वस्तुहरू वैध तरिकाले भित्रिने र  राजश्व सङ्कलनमा पनि वृद्धि हुने अपेक्षाका साथ चेकजाँच सीमा केन्द्रित गरेको सशस्त्र प्रहरी निरीक्षक खड्काले बताए।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार चालु आर्थिक वर्षमा मात्रै दुई करोडभन्दा बढीको किराना, विद्युतीय, सवारीसाधन, लत्ताकपडा, तथा पशु चौपाया लगायत चोरी तस्करीका सामान भैरहवा भन्सार कार्यालय पठाइएको छ।

सशस्त्र प्रहरी बल नेपाल २७ नम्बर हेड क्वाटरका अनुसार चालु आर्थिक वर्षमा तीन करोडभन्दा बढीको चिनी, कपडा, कुखुरा, माछा, मोटरपार्टस तथा हार्डवेयर, किराना लगायतका चोरी तस्करीका सामान नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरीको पछिल्लो समयको सक्रियताले पनि पुसमा मात्रै ६५ लाखभन्दा बढीको अवैध सामान नियन्त्रणमा लिई भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरी बल नेपाल २७ नम्बर हेड क्वाटरका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेम प्रकाश पोखरेलले जानकारी दिए। न्यूजकारखाना



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ