arrow

माओवादीको नाम नेकपा समाजवादी हुने प्रचण्डपछिको नेता बाबुराम भट्टराई 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २४ आइतबार
Prachanda-Baburam.jpg

काठमाडौं । लडाकु व्यवस्थापन गर्ने बेलामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तथा नेतृत्वसहितका नेताहरुले अर्बौं भ्रष्टाचार गरेको आरोप लगाउँदै माओवादी छाडेको सात वर्षपछि डा. बाबुराम भट्टराई माओवादीमै फर्कने भएका छन् । 

माओवादी केन्द्रको शनिबार बसेको सचिवालय बैठकले फास्ट ट्याक विधिबाट दुई पार्टी एकता गर्ने र प्रचण्डपछिको दोस्रो वरीयतामा रहेर डा. बाबुरामले पार्टी काममा लगाउने गरी प्रकृया अघि बढाइसकेको छ । 

प्रचण्डपछिको दोस्रो वरीयता स्वीकार गरेर डा. भट्टराई माओवादीमा आउन राजी भएका छन् । ‘पार्टी एकताको चरणमा छ उहाँलाई अध्यक्षपछिको दोस्रो वरीयता दिने सहमति भएको छ’, माओवादीका एक पदाधिकारीले भने ।
 
एकताका लागि दुवै पार्टीले पार्टीगत रुपमा कार्यदल बनाउने र ती कार्यदलले गर्ने आन्तरिक तयारी लगत्तै एकता गर्ने समझदारी बनेको छ । नेकपा एस र जसपाले पनि यस्तै प्रकृतिको कार्यदल बनाएर प्रकृया अघि बढाए पनि माओवादीले उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा बनाएको कार्यदलले डा. भट्टराई लगायतका पुराना नेताहरुलाई पार्टीमा ल्याउने प्रकृया शुरु गर्नेछ ।

 ‘दुई पार्टी एकतापछि पार्टीको नाम नेकपा समाजवादी राख्ने समझदारी भएको छ’, स्रोतले भन्यो । माओवादीले एकताका लागि उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराको नेतृत्वमा महासचिव देवप्रसाद गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, जर्नादन शर्मा र शक्तिबहादुर बस्नेत रहेको वार्ता टोली शनिबार नै गठन गरिसकेको छ । 

नेपाल समाजवादी पार्टीले वार्ता टोली आइतबार राजनीतिक समितिको बैठकबाट बनाउने भएको छ । संविधान सभाबाट संविधान निर्माण भएलगत्तै डा. बाबुराम भट्टराई २०७२ असोज ९ मा माओवादी मुख्यालय पेरिसडाँडालाई ‘भूकम्पमा भत्किएको रातो घर’ को संज्ञा दिँदै माओवादी छोडेर नयाँ शक्ति निर्माण अभियानमा लागेका थिए । 

उनले त्यस क्रममा माओवादीका उच्च नेताहरुलाई भ्रष्टाचारी भएको आरोप पनि लगाएका थिए । त्यस क्रममा भटटराईले उपेन्द्र यादवसँगको एकता, लोसपामा रहेका अहिलेका नेताहरुसँगको पनि एकता गरेर अगाडि बढेका थिए । 

तर त्यो सफल नभएपछि उनी फेरि माओवादी केन्द्रसँगकै एकतामा अगाडि बढ्न तयार भएका हुन् । त्यस्तै प्रचण्डले पनि नेकपा एमालेसँग यो बीचमा पार्टी एकता गरेका थिए । 

तर त्यो एकता पनि नटिकेपछि प्रचण्ड बाबुरामलाई फेरि एकै पार्टीमा भित्राएर सहकार्य गर्न तयार भएका हुन् । त्यसपछि यी दुई नेताले पटक पटक गरेको वार्ता र सम्वादपछि एकताको वातावरण बनेको हो । 

उनीहरुबीच एकताको तयारी भने गत मंसिरको निर्वाचन अघि नै भएको थियो । त्यस क्रममा बाबुरामले आफूले चुनाव लड्दै आएको क्षेत्रमा यसपटक प्रचण्डलाई छोडेका थिए भने बाबुरामकी छोरी मानुषी यमीलाई माओवादीबाट टिकट दिएर काठमाडौको क्षेत्र ७ मा चुनावमा पठाइएको थियो । 

शनिबार बाबुराम र प्रधानमन्त्रीसमेत रहेका प्रचण्डका बीचमा बालुवाटारमा भएको छलफलपछि दुवै पार्टी एकतामा जाने सैद्धान्तिक सहमतिमा पुगेपछि माओवादीले आफ्नो नाम फेर्न सहमत भएको स्रोतको दाबी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ