arrow

सम्पादकीय

प्रचण्डको कार्यकालमा देशलाई अढैया नलागोस्

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २७ बुधबार
prachanda-parliament-2079-09-26.jpg

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारी मतसहित विश्वासको मत पाएका छन् । अहिलेसम्मकै सर्वाधिक विश्वासको मत पाएकामा प्रचण्डलाई हार्दिक बधाई । योसँगै उनले अढाई वर्ष सरकार प्रमुखको रुपमा देश हाँक्ने छन् । अढाई वर्ष यस मानेमा कि उनलाई नेकपा एमालेले आधा–आधा कार्यकाल सत्ता चलाउने सहमति गरेर सरकार गठन गरेको बाहिरिएको थियो । 

अचम्म त के भने उनलाई आफैंले धोका दिएको पार्टी नेपाली कांग्रेसलेसमेत विश्वासको मत दिएको छ । यसले प्रचण्डको ओझ बढाएकोमात्र छैन जिम्मेवार पनि बनाएको छ । अर्कातर्फ अप्रत्याशित रुपले पाएको विश्वासको मतबाट उनलाई काम गर्न सजिलोसमेत भएको छ । 

यससँगै उनलाई कथंकदाचित एमाले वा कांग्रेसमध्ये कुनै एक पार्टीले छाडेमा पनि आरामसँग बहुमत रहिरहने छ । हुनत सत्ता संचालनमा सघाउन एमाले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा टिम बनेको छ । तर कांग्रेसले पनि विश्वासको मत दिएपछि प्रचण्डलाई ओलीले धेरै दबाब दिन नसक्ने विश्लेषण गरिएको छ । 

यो राजनीतिक पाटोलाई छाड्ने हो भने तेस्रो पटक प्रधानमन्त्री बनेका प्रचण्डलाई अढाई वर्ष कसैले पनि सत्ताबाट हटाउन सक्ने छैन । उनलाई आफ्नो तेस्रो कार्यकाललाई स्वर्णिम बनाउन यो समय पर्याप्त हुनेछ । 

बहुदलपछिका कुनै पनि प्रधानमन्त्रीले आफ्नो कार्यकाललाई स्वर्णिम बनाउन सकेनन् । कुनै न कुनै खिचातानीले गर्दा उनीहरु सफल बन्न सकेनन् । कुनै न कुनै विवादमा आइरहे । 

प्रचण्ड स्वयं पनि यसअघिका दुई कार्यकाललाई स्मरणीय बनाउन नसकेका प्रधानमन्त्री हुन् । पहिलो पटक प्रधानमन्त्री बन्दा उनमा अनुभवको कमी थियो । आफू नै सर्वेसर्वा भएको अहम् पाल्दा गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बनेका प्रचण्डले प्रधानसेनापति हटाउने दुस्साहस गर्दा पदबाटै हात धुनुपर्यो । यद्यपि उनले नैतिकताका आधारमा नौ महिना सत्ता संचालन गरेर राजीनामा गरे । 

२०७३ सालमा उनले एमालेसँगको सहकार्य तोडेर कांग्रेससँग मिलेर सत्तामा गए । निर्वाचनको चरणमा रहेको बेला भएकाले उनले छोटो कार्यकाल नेतृत्व सम्हालेर सहमतिअनुसार सत्ता कांग्रेस सभापति शेरबहादुर देउवालाई सुम्पेका थिए । 

यसपालि उनले कांग्रेससँगको सहकार्य तोेडेर एमालेसँग जोडिएर सत्ताको साँचो आफ्नो हातमा लिएका हुन् । विश्वासको मत भने धोका दिएको दलबाटसमेत पाएकाले उनी सर्वाधिक सहमतिका साथ प्रधानमन्त्री बनेका छन् । 

संविधानअनुसार दुई वर्षसम्म सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नपाइने भएकाले प्रचण्डको तेस्रो कार्यकाल सबैभन्दा बढी समयको हुनेछ । समय त उनको बढ्ने भयो तर उनको कार्यकाल स्वर्णिम बन्छ कि बन्दैन भन्नेमा सबैको चाँसो छ । 

उनले चुनावताका आफू प्रधानमन्त्री बनेर देशको अवस्थालाई कायापलट गर्ने बताएका थिए । प्रधानमन्त्री भएर विश्वासको मत लिएपछि पनि आफूले गरेको बाचा नभुलेको बताएका छन् । उनले स्वार्थमा नलागी आफ्नो बोलीको गरिमा राखिदिए पुग्छ । 

सशस्त्र द्वन्द्वको असर अहिलेसम्म कम भएकै छैन । पीडितका पीडा उस्तै छन् । त्यही द्वन्द्वले पारेको असरले निम्त्याएको बसाइँसराइँले मुलुकको स्थिति अस्तव्यस्त छ । गाउँ रित्तिदो छ । शहरमा बस्ने ठाउँ छैन । 

विकासको गति मन्द छ । द्वन्द्वले रोजगारी र ज्यान जोगाउन खाडी जान सिकाएको रोग अहिलेसम्म हट्न सकेको छैन । अहिलेसम्म नेतामात्र मोटाए । अधिकांश आमनागरिकले गणतन्त्रको महसुस गर्न पाएका छैनन् । 

अब पनि आमनागरिकले गणतन्त्रको अनुभूति गर्न पाएनन् भने यसको औचित्यमाथि प्रश्न उठ्न सक्छ । सर्वहारा वर्गका लागि सशस्त्र द्वन्द्व गरेर सत्र हजार नेपालीको ज्यान जानु तर आफूमात्र सत्तामा रमाइरहँदा शोभनीय देखिँदैन । 

प्रचण्डले अहिलेसम्म जे गल्ती गरे त्यसलाई मंगलबारको विश्वासको मतले माफी दिएको छ । त्यो माफीलाई उनले आफू चोखिने र राजनेता बन्ने अवसरको रुपमा लिएर काम गर्नुपर्नेछ । नत्र उनले अढाई वर्ष सरकारको नेतृत्व गर्दा देशले अढैया साढेसाती खेप्नुपर्ने हुन सक्छ । उनको कार्यकालमा देशलाई अढैया नलागोस् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ