arrow

नेपालगञ्जमा दादुरा संक्रमित दिनदिनै थपिँदै

logo
सौरभ गिरी, 
प्रकाशित २०७९ पुष ३० शनिबार
dadura-bimar-nepaljung.jpg

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा दादुरा–रुबेला खोपको प्रगति प्रतिशत ७५.२१ पुगेको छ । नेपालगञ्जका दादुरा प्रभावित १२ वटा वडाका लक्षित २२१९० जनसंख्या मध्ये हालसम्म १६६८९ जनाले खोप लगाएका छन् । शनिबार मात्रै ३८४४ बालबालिकाले खोप लगाएको नेपालगञ्ज उपमहानगरपालिकाका खोप फोकल पर्सन जागेश्वर बस्नेतले बताए ।

पुस १२ गते दादुरा देखिएको नेपालगञ्जमा २२ गतेदेखि खोप अभियान चलिरहेको छ । ६ महिनादेखि १५ बर्षसम्मका बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइरहेको बस्नेतले बताए । दिनदिनै दादुरा विरामी थपिरहेको नेपालगञ्जमा आज मात्रै २० जना नयाँ विरामी थपिएका छन् ।

 योसँगै हालसम्म दादुरा संक्रमितको संख्या १७६ पुगेको छ । यी मध्ये १३१ जना निको भएको र ४४ जना घरमै आइसोलेसनमा रहेको खोप फोकल पर्सन बस्नेतले जानकारी दिए । नेपालगञ्जमा १५ वटा वडामा दादुरा फैलिसकेको छ । दादुराका कारण एक जना अढाई बर्षीय बालकले ज्यान गुमाइसकेका छन् ।

बाँके जिल्लाभर भने दादुरा संक्रमितको संख्या १८० पुगेको छ । नेपालगञ्जमा १७६, खजुरामा ३ र कोहलपुरमा १ जना संक्रमित भेटिएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । भोली माघी पर्वका दिन समेत खोप लगाउने कार्यलाई निरन्तरता दिइने श्रेष्ठले बताए ।

आइतबार दुई वटा वडाका दुई खोप केन्द्रबाट खोप लगाइनेछ । वडा नम्बर ३ स्थित उमरान टोल र वडा नम्बर १६ को जयसपुर स्वास्थ्य चौकीमा खोप लगाइने श्रेष्ठले जानकारी दिए । 

माघ २ गतेबाट भने सबै प्रभावित वडा र खोपको कभरेज नपुगेका वडाहरुबाट खोप लगाउने कार्यलाई तीब्रता दिइने उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ