arrow

बलात्कार आरोपी सन्दीप लामिछाने बन्द प्रशिक्षणमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १९ बिहिबार
sandeep-lamichhane3.jpg
तस्बिर – फाइल ।

काठमाडौं । बलात्कार आरोपमा मुद्दा खेपिरहेका पूर्व राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने बन्द प्रशिक्षणमा सामेल भएका छन् । बलात्कार आरोपमा पक्राउ परे पनि थुनामुक्त भएका कारण उनलाई पुनः थुनामै राखेर मुद्दा चलाउन आजमात्रै सर्वोच्च अदालतमा निवेदन दर्ता भएकै दिन नेपाल क्रिकेट संघ क्यानले भने राष्ट्रिय टिममा छनोट गर्नका लागि बन्द प्रशिक्षणमा राखेको हो । 

हिजोमात्रै क्यानको बोर्ड बैठकले उनको निलम्बन फुकुवा गरेको थियो । बलात्कार आरोपमा गत भदौ २३ गते जिल्ला अदालत काठमाडौंले पक्राउ गरी अनुसन्धान गर्न आदेश दिएपछि क्यानले सोही दिन उनलाई निलम्बन गरेको थियो । 

तर अहिले आएर मुद्दाको छिनोफानो नहुँदै क्यानले उनको निलम्बन फुकुवा गरेको हो । बन्द प्रशिक्षणमा सहभागी भएसँगै उनको राष्ट्रिय क्रिकेट टिमबाट खेल्ने सम्भावना बलियो रहेको मुख्य छनोटकर्ता दीपेन्द्र चौधरीले मिडियालाई बताएका छन् । 

सन्दीप २८ जनाको प्रारम्भिक टोलीमा थिएनन् । राष्ट्रिय टिमका मुख्य प्रशिक्षक मोन्टी देशाईले गत आइतबारदेखि प्रशिक्षण दिइरहेका छन् । सन्दीपले बुधबार मात्रै देशाईसँग भेट गरेका थिए 

नेपाली टोलीले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालमा यही फागुन २ गतेदेखि शुरु हुने त्रिकोणात्मक श्रृंखलाका लागि तयारी गरिरहेको छ । 

नेपालसँगै नामिबिया र स्कटल्याण्ड सहभागी हुँदैछन् । 

बलात्कारको मुद्दा चलिरहँदा सन्दीपलाई उच्च अदालत पाटनले थुनामुक्त रहेर मुद्दा लड्न पाउने सुविधा दिएको थियो । पुस २८ गते यो आदेश दिएसँगै सन्दीपले २० लाख बुझाएर धरौटीमा छुटेका थिए । 

तर आज माघ १९ गते उनलाई पक्राउ गरेरै मुद्दा चलाउनु पर्ने भन्दै सर्वोच्चमा महान्यायाधीवक्ताको कार्यालयले निवेदन दर्ता गरेको छ । हिजो दर्ता गर्न खोजेको भए पनि दर्ता हुन सकेको थिएन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ