- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाडेपछि सरकारमा कुन दल सहभागी होला भन्ने कौतुहलता पैदा भएको छ । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा आफूलाई सहज हुने दलको खोजी गरे पनि अहिलेसम्म सरकारमा जानेको टुंगो नलाग्दा कौतुहलता पैदा भएको हो ।
सरकारमा जनाका लागि उपेन्द्र यादवको जनता समाजवादी पार्टी जसपा र महन्थ ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टी लोसपाको रुची भए पनि आधार भने देखिएको छैन । माओवादी नेताहरूको भनाइमा प्रचण्ड यही गठबन्धन रहिरहोस् तर ओलीको घेराबन्दी नहोस् भन्ने चाहन्छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली पनि यही गठबन्धनमा राष्ट्रपति, सभामुख र अढाइ वर्षपछि प्रधानमन्त्री पाउने गरी गठबन्धनमा दबाब बनाउँदै आएका छन् । सरकार बनेको एक महिनामा केपी ओलीको व्यवहारप्रति प्रधानमन्त्री प्रचण्ड खुशी छैनन् । त्यही भएर सरकारलाई चाहिने १३८ जना सांसदको समर्थन भए पनि हुन्छ भन्नेमा प्रचण्डको मनोविज्ञान देखिन्छ ।
त्यसैले नेपाली कांग्रेसको समर्थन कायम राखेर जसपा, नेकपा एकीकृत समाजवादी (नेकपा एस) लाई साथ लिने प्रचण्डको रणनीति देखिन्छ । एमाले, राप्रपा र रास्वपा बाहिरिए कांग्रेसले समर्थन गर्ने प्रचण्डको विश्वास देखिन्छ ।
अहिले कांग्रेससँग ८९, माओवादी केन्द्रसँग ३२, जसपासँग १२, नेकपा एससँग १०, जनमत पार्टीसँग ६ र स्वतन्त्र २ गरी एक सय ५० सांसद सरकारको पक्षमा हुने प्रचण्डको विश्लेषण रहेको छ ।
जनमत पार्टीले मागेको मन्त्रालय नदिएर ओलीले सीके राउतलाई पनि रुष्ट बनाएपछि चिढिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ दुई जना मन्त्री र एक जना राज्यमन्त्री एउटै समय पारेर छिरेर राजीनामा दिएपछि सरकारलाई सहज हुने मन्त्री र पार्टीको खोजी भैरहेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट मन्त्रिपरिषदमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले प्रधानमन्त्री प्रचण्डसमक्ष पदबाट राजीनामा बुझाएका छन् ।
आइतबार दिउँसो सो पार्टीको संसदीय दल र केन्द्रीय समिति बैठकले मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेपछि बेलुकी उनीहरुले राजीनामा बुझाएका हुन् । गृहसहित अब रिक्त २ मन्त्रालयमा कुन पार्टीबाट कसले कार्यभार पाउने हुन् यकिन भैहालेको छैन । तर पनि अहिलेको अवस्थामा एमालेको भूमिका के रहने भन्ने पनि अन्यौल रहेको छ ।
प्रतिनिधि सभाको बैठकमा आइतबार एमाले अध्यक्ष ओलीले रवि र उनको पार्टीको पक्षमा आफ्नो समय खर्चेका थिए । यस्तो अवस्थामा ओलीले राष्ट्रपतिको निर्वाचनमा एमालेलाई साथ रहने अपेक्षा गरेको आशंका छ । यद्यपि रवि लामछिानेले गरेको पत्रकार सम्मेलनमा एमाले र माओवादीलाई गाली गर्न भ्याएका थिएनन् ।
रविको पार्टीले एमालेलाई साथ दिने र प्रचण्डले एमालेको दबाब थेग्न नसक्ने अवस्था आए कांग्रेसलाई साथमा लिएर एमालेलाई साइजमा राख्ने रणनीति लिन माओवादीको स्थायी कमिटी बैठकबाट राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गराइसकेका छन् ।
कांग्रेस र माओवादीले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन हुनुपर्ने धारणा सार्वजनिक गर्दै आएको छ । त्यसकारण एमालेले बढी दबाब दिए कांग्रेसलाई साथमा लिएर अगाडि बढ्ने रणनीतिमा माओवादी देखिन्छ ।
तर माओवादीका लागि यो बाटो त्यति सहज देखिएको छैन । कांग्रेसले गत पुस २६ गते प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर पुस १० गते भत्किएको आफू नेतृत्वको पाँच दलीय सत्ता गठबन्धनलाई ब्युँताउने प्रयासस्वरुप माओवादी फकाउने र एमाले चिढ्याउने रणनीति बनाए पनि माओवादीको स्थायी कमिटीको निर्णयअनुसार तत्काललाई एमालेलाई साइजमा राख्ने रणनीति मात्रै हो भन्ने आशंका कायमै रहेको छ ।