arrow

खाद्य गुणस्तरसहित तीन विधेयक राष्ट्रिय सभाबाट पारित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २३ सोमबार
Parliament_building-1619601493.png
तस्बिर – फाइल ।

काठमाडौं । राष्ट्रिय सभाको आजको बैठकले ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६’ लाई सर्वसम्मतिले पारित गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित सो विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् । 

सो प्रस्तावमाथि सांसद खिमलाल देवकोटाले यो विधेयक सकारात्मक रहेको बताउँदै स्थानीय र प्रदेश सरकारको भूमिकासमेत यसमा स्पष्ट हुनुपर्ने बर्ताए । उनले सबै प्रकारका आयोजनालाई प्रभावकारी बनाउन तीनवटै तहका सरकारकातर्फबाट अनुगमन गर्ने व्यवस्था गर्नुपर्ने र विधेयकमा यससम्बन्धी प्रावधान राख्नुपर्नेमा जोड दिए ।

सांसद देवकोटाले उठाएको जिज्ञासाको जवाफ दिँदै मन्त्री शर्माले विकास आयोजनाको प्रभावकारी अनुमगन र मूल्याङ्कन हुन नसक्दा अपेक्षित लाभ हुन नसकेका सन्दर्भमा आमचासोलाई सम्बोधन गर्दै सरकारले यस विधेयकलाई अगाडि बढाइएको बताइन् । 

यस्तै बैठकले ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७’ सर्वसहमतिले पारित गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको तर्फबाट मन्त्री शर्माले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । 

आजको बैठकले ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७’ सर्वमम्मतिले पारित गरेको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साहले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेकी थिइन् । 

राष्ट्रिय सभाको अर्को बैठक यही माघ २७ गते शुक्रबार साँझ ५ बजे बस्नेछ । 



नयाँ