- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
तनहुँ । घरपरिवारसँगै काम गरेर आम्दानी लिनुपर्छ भन्ने उद्देश्यले काठमाडौंको पढाइ सकिनासाथ तनहुँको भानु नगरपालिका-१२ घलेछापका ३२ वर्षीय कुशलचन्द्र अधिकारी गाउँ फर्किए ।
अधिकारीले जागिर गर्नु तथा अन्य व्यवसाय गर्नुभन्दा कृषि व्यवसायबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने लागेपछि २२ वर्षदेखि बाँझो रहेको जमिनको उपयोग गर्दै अहिले मिर्लुङ बहुउद्देश्यीय कृषि फार्म प्रालि सञ्चालन गरिरहेका छन् । उनले पाँच वटा बाख्रादेखि पशुपालन व्यवसाय शुरुआत गरेका हुन् ।
समाजशास्त्रमा स्नातकोत्तर गरेका कुशलले रु ४८ हजारको लगानीमा पाँच वटा बाख्राबाट व्यवसाय शुरुआत गरेको उनी बताउछन् । थोरै संख्यामा बाँझो जमिनमा घाँस लगाएर व्यवसाय वृद्धि तथा विकास गर्दै हाल बाख्रा मात्रै ६५ रहेको उनी बताउछन् ।
उनको कृषि व्यवसायले दुई सय रोपनी जमिन ओगटेको छ । आफ्नो जमिनसँगै जोडिएको डेढ सय रोपनी जग्गा भाडामा लिएर उनले फार्म सञ्चालन गरेका थिए । खोर र गोठले करिब छ रोपनी जग्गा ओगटेको छ भने बाँकीमा भैँसी, गाई, बाख्राका लागि प्रोटिनयुक्त घाँस लगाएका छन् ।
करिब ३० वर्ष वैदेशिक रोजगारीको शिलशिलामा बहराइन बसेका कुशलका बुवा राजेन्द्रको प्रेरणाले उनी कृषि व्यवसायमा लागेको बताउँछन् । “विदेशमा गरिएको दुःख स्वदेशमा गर्नसके मनग्य आम्दानी गर्न सकिन्छ भनेर प्रोत्साहन गरेकाले यो व्यवसायमा सन्तुष्ट छु”, कुशल भन्छन् ।
उनले बुवाले दिएको प्रेरणाअनुसार नै गाउँ फर्केपछि गाउँमै कृषिसम्बन्धी व्यवसाय गरेका हुन् । “बहराइनबाट फर्केपछि बुवाले तनहुँमै बस्न रुचाउनुभयो”, उनले भने, “बुवाको रुचिअनुरुप नै मैले पनि गाउँमै व्यवसाय गरेँ, कृषि व्यवसायमा लागेको देखेर छिमेकीले पढेलेखेको शिक्षित युवा पनि बाख्रापालनमा लागेको भनेर भने ।
लगानीसँगै आम्दानी राम्रो हुँदै गएपछि भने छिमेकीले यहीँ आम्दानीको स्रोत रहेछ भन्ने गरेको उनी सुनाउछन् ।
उनले पढाइ सँगसँगै काठमाडौँमा आफ्नै ‘ट्राभल्स एण्ड टुर्स’ व्यवसाय गरेका थिए । उनी नाफामा चलेको व्यवसाय छाडेर गाउँ फर्किएर कृषि फार्म सञ्चालन गर्दै आएका छन् । विसं २०६५ मा उच्च शिक्षाका लागि काठमाडौँ गएका कुशल १० वर्षपछि व्यवसाय गर्ने लक्ष्यसहित गाउँ फर्किएका हुन् ।
उनले व्यवसाय सञ्चालन गर्ने समयमा समाजशास्त्र विषयमा स्नात्तकोत्तर तहको पढाइ सकाएको बताए । उनले विद्यालयका शिक्षकले शिक्षण पेशासँगै केराखेती गरेको देखेर पनि कृषि व्यवसायमा प्रेरित भएको बताए । कुशल भन्छन्, “बाँझो भएको जमिनको पनि उपयोग भएको छ ।”
हाल उनले गोठमा बाख्रासँगै भैँसी, गाई, कडकनाथ कुखुरा, कालिज, मौरीपालन गरिरहेका छन् । विगतमा बाख्रा मात्रै पालेका कुशलले अहिले भैँसी, गाई, कुखुरा, मौरी, कालिज थपेका हुन् । सङ्घर्ष धेरै भए पनि आम्दानी राम्रो हुँदै आएको उनी बताउछन् । उनको गोठमा १२ भैँसी, एउटा ब्याडे राँगो, ६५ बाख्रा छन् ।
“बाख्रा नोक्सानी भएमा भैँसीबाट पूर्ति गर्न सकिन्छ, एकथरिमा नोक्सान भएमा अर्को व्यवसायबाट पूर्ति र आम्दानी लिइरहन सकिन्छ”, उनले भने । उनले आफैँले गाईभैँसीबाट उत्पादित दूध बिक्रीका लागि बजारसम्म पुर्याउने गरेको बताए । दैनिक ७५ लिटर दूध उत्पादन गर्दै आएको र ३० लिटर बिक्री गरिन्छ भने बाँकी दूधबाट पनिर बनाएर बिक्री गर्ने गरेको उनी बताउछन् ।
दूधको बजार नपाउँदा घ्यू, नौनी बनाएर बिक्री गर्ने गरेको उनी बताउछन् । पनिर बनाउन थालेपछि स्थानीय बजारमा खपत हुने गरेको उनले बताए । उनले फार्ममा उत्पादित पनिर प्रतिकिलो रु सात सयमा बिक्री गर्दै आएको बताए । हालसम्म उनले भवनसहित करिब रु ७० लाख लगानी भएको बताए ।
उनले विगतमा ४०/४५ घार मौरी पालेका थिए । मौरीले उपयोग गर्ने फलफूलमा विषादी प्रयोग गर्दा ३५ घार मौरी मरेका थिए । काठमाडौँको घरमा उनकी पत्नी र छोराछोरी बस्दै आएका छन् ।
कुशलले बाख्रा अनुसन्धान केन्द्र बन्दीपुरमार्फत १० दिनको तालिम लिएर बाख्राको हेरचाह र दानापानीबारे सिके । उनले सिकाइलाई सहजरुपमा अहिले उपयोग गरेका छन् । उनले उक्त तालिममा रोग र उपचारबारे जानकारी पाए । तालिमले काममा ऊर्जा थपिएको उनी बताउछन् ।
उनले बाख्राका लागि राम्रो घाँसको बीउ र बिरूवा खोजी गरी १५० रोपनी जमिनमा सुपर नेपियर, सियोथ्री, मुलाटो, रायोखनिया लगायतका घाँस लगाएका छन् । उनले कृषि पेशामा छिमेकीलाई पनि घाँस रोप्न प्रोत्साहत गर्दै आएका छन् ।
कुशलका अनुसार उक्त जातका घाँसमा १७ प्रतिशतसम्म प्रोटिन हुन्छ । उनले डाले घाँसमा किम्बु, टाँकी, निवारो, खनिउँलगायत स्थानीय प्रजातिका घाँस रोपेका छन् । खसीबाख्रा बेच्न कुनै कठिनाइ नभएको उनी बताउछन् । मागप्रशस्त भएकाले ग्राहक फार्ममै आउने गरेको उनी बताउँछन् ।
“धेरै ठाउँबाट खसीबाख्राको माग बढेपछि काम गर्न र उत्पादनमा जाँगर चल्ने रहेछ”, उनले भने । उनले शुरूमा पाल्पाबाट १० घार र तनहुँकै विभिन्न ठाउँबाट मौरी ल्याएर ३५ घार मौरी आधुनिक घार बनाएर मौरीपालन पनि अगाडि बढाएका छन् ।
मौरीपालनको पहिलो वर्षमा मौरी र मह गरी रु तीन लाख आम्दानी लिएको उनी बताउछन् । उनले एक वर्षमा ३५ घार मौरी बेचे । मौरी फस्टाउँदै गएको अवस्थामा एकाएक घारमा कीरा लाग्ने र मर्ने भयो । तनहुँभरि नै यस्तो समस्या देखिएको थियो । कुशलको फार्मका मौरी मासिएका थिए । उनले के कारणले मरे भनेर अध्ययन गरी फेरी नयाँ १५ घार हालेर व्यवसायलाई निरन्तरता दिए ।
“मौरी चराउने समस्या छैन, गाउँघरमा तोरीखेती हुन्छ, चिउरी र मौरी चर्ने अरू फूल पाइन्छन्, जेठ-असार र कात्तिक-मङ्सिर गरी वर्षमा दुई पटक मह काढ्न सकिन्छ”, उनले भने ।
यससँगै उनले रैथाने प्रजातिका कुखुरापालनलाई अगाडि बढाए । उनी स्थानीय बजारमा कुखुराको माग राम्रो रहेको बताउछन् । त्यसैले कुशलले रैथानेसँगै कडकनाथ खुकुरा पाल्न थाले ।
अन्यको तुलनात्मकरूपमा कडकनाथ अलि महँगो रहेको उनी बताउछन् । हाल जिउँदो प्रतिकिलो रु एक हजार मूल्य पर्दछ । “यो जातको कुखुरा करिब छ महिनामै बेच्न योग्य हुन्छ”, उनले भने ।
अहिले उनको गोठमा २९ गाईभैँसी छन् भने १२ भैँसी र दुई गाई छन् । दैनिक सय लिटर दूध उत्पादन हुन्छ । सबै दूध स्थानीय बजारमै खपत हुने गरेको छ । धेरैजसो मिठाइ उत्पादकले दूध लिने गरेको उनी बताउछन् ।
यसपछि गाउँमा उत्पादन हुने दूध पनि किनेर डेरी उद्योग सञ्चालन गर्ने लक्ष्य रहेको उनी बताउछन् । डेरी उत्पादनमा आफ्नो ब्रान्ड बनाउने सपना उनको छ । अब माछा पाल्ने तयारी गरेको उनी बताउछन् । लगानीअनुसार आम्दानीमा सन्तुष्ट रहेको उनी बताउछन् ।
‘हाल मासिक करिब रु सात लाख बराबरको कारोबार हुन्छ”, उनले भने । उनले परिवारका सदस्यबाहेक फार्ममा चार जना तलबमा नै कर्मचारी राखेकी छन् । व्यवसायबाट आम्दानी लिनुका साथै कुशल ‘राष्ट्रिय युवा प्रतिभाको सम्मान-२०७८’ बाट सम्मानित भएका छन् । कृषि पेशाको सम्मानले काममा ऊर्जा थपिएको उनको भनाइ छ ।
उनले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँबाट अनुदान एकपटक अनुदान लिएको र फार्मलाई विस्तारमा सहयोग पुगेको बताए । कृषि क्षेत्रमा लाग्ने युवालाई सरकारले व्यवसायमा टिकाउन अनुदानभन्दा सीप सिकाउन आवश्यक रहेको उनको भनाइ छ ।
उनका अनुसार आधुनिक प्रविधिका सामग्री चलाउन, पशुपक्षीको सामान्य प्राविधिक ज्ञानलाई प्राथमिकता दिन सके किसान नै आत्मनिर्भर हुने हुँदा व्यवसायिक रुपमा सञ्चालित कृषि फार्मका कृषकले प्राविधिक नपुग्दै सामान्य उपचार गर्न सक्नेछन् ।
व्यवसायमा धेरै नोक्सानी व्यहोर्नुपर्ने अवस्था न्यूनीकरण गर्न सकिने उनले बताए । नेपाल व्यवसायी बाख्रापालन महासंघ, तनहुँको उनी अध्यक्ष छन् ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले पशुपालक कृषकले पशुपालनका सामान्य खालका प्राविधिक ज्ञान आफैँले सिक्नुपर्ने बताए ।
उनले भने, “सामान्य प्राविधिक ज्ञानले किसानले पालेका पशुपक्षी बिरामी हुँदा उपचारमा सहयोग पुग्छ, प्राविधिकको अभाव रहेकाले पनि तोकिएका समयमा प्राविधिक नपुग्दा पशुपक्षी मर्न सक्छन्, यस्तो अवस्थामा सहयोग पुग्नेछ ।”
जिल्लामा अहिले युवा पशुपालनतर्फ आकर्षित भएको उनी बताउछन् । सामान्य खालका प्राविधिक ज्ञानको भने आवश्यकता रहेको पाइएको श्रेष्ठ बताउछन् । -रासस