arrow

बलात्कार आरोपी सन्दीप राष्ट्रिय टोलीमा, सफाइ नपाउँदै मैदानमा जाने तरखर 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २७ शुक्रबार
sandeep-arrest.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नाबालिग बलात्कारका आरोपी राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेलाई नेपालले नामिबिया र स्कटल्यान्डविरुद्ध हुने विश्वकप लिग–२ त्रिकोणात्मक शृंखलाको अन्तिम टोलीमा समावेश गरेको छ ।  नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो । जसमा सन्दीपलाई पनि समेटिएको छ । जबकि सन्दीपको मुद्दा अदालतमा जारी छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एक सातासम्म चल्ने श्रृंखला फागुन २ देखि शुरु हुनेछ । नेपालको टिममा रोहित र सन्दीपसँगै कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, ललित राजवंशी, गुलशन झा, भीम सार्की र सूर्य तामाङ रहेका छन् । 

सन्दीपमाथि गत भदौ ५ गते एक नाबालिगलाई काठमाडौंको तिलगंगास्थित होटलमा लगेर बलात्कार गरेको अभियोग छ । उनी राष्ट्रिय क्रिकेट टिमको नेतृत्व गरेर टी–२० अन्तर्राष्ट्रिय खेलका लागि केन्या जानुभन्दा अघिल्लो साँझ बन्द प्रशिक्षणबाट निस्केर नाबालिग बलात्कार प्रकरणमा मुछिएका थिए । सन्दीपविरुद्ध पीडित किशोरीले भदौ २१ गते उजुरी दिएकी थिइन् । भदौ २३ गते जिल्ला अदालत काठमाडौंले पक्राउ पूर्जी जारी गरेपछि क्यानले सोही दिन नै सन्दीपलाई क्यानले कप्तान र राष्ट्रिय खेलाडीबाट निलम्बन गरेको थियो ।

उनी असोज २० गतेमात्रै नेपाल फर्केका थिए । त्यसपछि चलेको मुद्दामा अदालतले प्राप्त प्रमाणका आधारमा दोषी देखिएको भन्दै गत कात्तिक १८ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । 

फौजदारी कानूनमा तीन वर्षभन्दा बढी कैद हुन सक्ने कसुरमा तत्काल प्राप्त प्रमाणका आधारमा अभियुक्त दोषी देखिए थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने प्रावधान अनुसार उनलाई थुनामा राखेर कारबाही चल्दै थियो । 

सोही क्रममा उनले उच्च अदालत पाटनमा धरौटीमा रिहाइका लागि मुद्दा दिए । उच्च अदालत पाटनले पुस २८ गते २० लाख धरौटी लिएर रिहा हुने आदेश दियो । कसुर स्थापित भएका सन्दीपलाई १० देखि १२ वर्षसम्म कैद हुन सने कानून छ । तर उच्च अदालतले धरौटीमा रिहा हुन आदेश दिएपछि महान्यायाधीवक्ताको कार्यालयले सर्वोच्च अदालतमा उच्चको आदेश बदरसहित थुनामा राखेर कारबाही प्रक्रिया अगाडि बढाउन माग गर्दै निवेदन दियो । 

सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले शुक्रबार सन्दीपलाई धरौटीमा छाड्ने उच्च अदालतको फैसलासहितका मिसिल झिकाउने आदेश दिएको छ । 

उनीविरुद्ध लागेको अभियोग, तत्काल प्राप्त प्रमाण तथा जिल्ला र उच्च अदालतले गरेका आदेशसमेत भएको ‘कैफियत प्रतिवेदन’ मगाउने आदेश भएको सर्वोच्च अदालतले जनाएको छ । 

उच्च अदालतले सर्वोच्चमा लामिछानेलाई धरौटीमा छाड्ने आदेश केका आधारमा भएको हो भन्नेबारे पनि छुट्टै रिपोर्ट बुझाउनुपर्नेछ ।

तर मुद्दाको अन्तिम टुंगो नलाग्दै क्यानको माघ १७ गते पोखरामा बसेको बोर्ड बैठकले उनीमाथिको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो । प्रतिबन्ध फुकुवा गरेसँगै क्यानले उनलाई खेलमा फर्काउँदै राष्ट्रिय टोलीमै समावेश गरेको हो ।

सन्दीपलाई टिममा समावेश गरेपछि क्यानको चर्को आलोचना भएको छ । तर क्यानले पछाडि फर्कने कुनै लक्षण लेखाएन । यस विषयमा अदालतले पनि केही बोलेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ