arrow

प्रेम दिवसको बदलिँदो परिभाषा

logo
युवराज गौतम, 
प्रकाशित २०७९ फागुन २ मंगलबार
yubraj-valentine-2079.jpg

पश्चिमा मुलुकबाट भित्रिएको भ्यालेन्टाइन डे अर्थात् विश्व प्रेम दिवस मनाउने प्रचलन नेपालमा संस्कारको रुप लिँदै गएको छ । भ्यालेन्टाइन डे मनाउने परम्परा नेपाली समाजमा झांगिदो अवस्थामा छ । विशेषगरी शहर बजारमा एक सातादेखि नै भ्यालेन्टाइनको रमझम शुरु हुन्छ । 

अंग्रेजी क्यालेन्टर अन्तर्गत ७ फेब्रुअरीदेखि १४ फेब्रुअरी अर्थात् प्रेम दिवसका दिनसम्म विभिन्न तरिकाले दिवस मनाउने गरिन्छ । आधुनिक संस्कृतिले गाँज्दै गरेको नेपाली नयाँ पुस्ताले प्रेम दिवसलाई महान् पर्वका रुपमा स्विकार्न थालेका छन् ।

तेस्रो शताब्दीमा रोमका सैनिकहरुमाथि त्यहाँका सैन्य प्रमुखले अघोषित रुपमा विवाहमा प्रतिवन्ध लगाएपछि एक सैनिकले विद्रोह स्वरुप प्रेम विवाह गरेको प्रसंगसँग भ्यालेन्टाइन डेको इतिहास गाँसिएको छ । क्लाउडियसका पादरीले ति जोडीको विवाह जुराइदिएपछि उनै पादरीको नाम भ्यालेन्टाइनबाट यस दिनको शुरुआती भएको इतिहास छ ।

भ्यालेन्टाइन पादरीको हत्या भएपछि त्यही दिनबाट भ्यालेन्टाइन डेको परम्परा बसेको इतिहास पढ्न पाइन्छ । भ्यालेन्टाइनको हत्यापछि त्यो दिन विश्वभरका युवाहरुका निम्ति प्रेमको विजयी भएको दिनका रुपमा मनाउने परम्परा बसेको मान्यता कायम छ । 

रोमबाट फैलिएको उक्त प्रचलन नेपालीमा समाजमा झाँगिदै गएको हो । यद्यपि यो दिवसको इतिहास जति रोचक र भावुक छ त्यक्ति नै आलोचित पनि बन्दै गइरहेको छ । 

इतिहास महान् भए पनि आधुनिकताको नाममा छाडापन भित्रिएको छ । विश्वका थुप्रै आदर्श प्रेमका उदाहरणलाई छायाँमा राखेर वर्तमान पुस्ताले प्रेमलाई गलत प्रयोग गरिरहेका छन् । 

प्रेमवादी गायक थिरज राई भन्छन्, ‘हाम्रो समाजले प्रेमलाई केटाकेटी बीचको प्रेमलाई मात्र प्रेम ठान्यो र भ्यालेन्टाइन डेलाई त्यही रुपमा स्वीकार्दै आएको छ, यो विल्कुलै गलत छ ।’

‘आमाबाबु र छोराछोरी बीचको प्रेम, श्रीमान् र श्रीमतीबीचको प्रेम, साथी साथीबीचको प्रेमी र पे्रमिकाबीचको प्रेम  पनि प्रेम नै हो जहाँ आत्मियता, घनिष्टता र निस्वार्थता रहन्छ त्यहाँ प्रेमले बास लिन्छ र त्यही प्रेम महान् बन्छ,’ उनले भने ।

प्रेमले श्रद्धा जगाउँछ र विश्वासको वातावरण बनाउँछ । त्यसैले संसारको सर्वोत्तम बस्तु नै प्रेम हो । तर यति हुँदाहुँदै प्रेम दिवसले समाजको नियम तोड्दै जान थालेकामा सामाजिक अभियन्ता शैलेन्द्र शर्मा गौडेल असन्तुष्टि जनाउँछन् । 

उनी भन्छन्, ‘समाजको आँखा छल्दै छाडा संस्कृतिको विकास दिनदिनै हुन थालेको छ । प्रणय दिवसलाई वंैशले उन्माद भएका कतिपय युवायुवतीहरुले आफ्नो अभिष्ट पूरा गर्ने दिनमा चित्रण गर्दै आएका छन् यस्तो गर्नु सरासर गलत हो ।’

रंगकर्मी राज शाहको विचार अलिक फरक छ । उनको विचारमा रोमियो जुलियट, ममताज र शाहाजन, लैला मजनूको प्रेम र नेपाली समाजका मुना र मदनका बीचको आदर्श प्रेम हो । तर समाजले केटा र केटीबीच हुने प्रेमलाई मात्र प्रेम भन्दै आइरहेको छ । 

अरुप्रति गरिएको प्रेम ओझेलमा राखिएको छ । उनी भन्छन्, ‘मुना र मदनका बीचको प्रेममा जति त्याग र बलिदान थियो त्यक्ति नै त्याग भोटेको प्रेममा पनि पाइन्छ । तर समयक्रमले मुना र मदनको प्रेमलाई मात्र प्रेम ठान्यो र भोटेले मदनप्रतिको प्रेमलाई महत्व दिएन ।’

कतिपयले प्रेमलाई गलत रुपमा व्याख्या गरेर पवित्र प्रेम दिवसलाई अपवित्र बनाउन खोजेको आरोप लगाइरहेका छन् । उपहार आदनप्रदानका कारण प्रेम भड्किलो र महँगो बन्दै गएको छ । 

प्रेमस्वरुप कसैले कसैलाई उपहार दिन्छन् । उपहार सबैले सबैलाई दिन मिल्छ । प्रेमपूर्वक श्रद्धाभावले दिने उपहार सबैका लागि उत्तम ठहरिन्छ । प्रेम दिवसमा प्रेमी प्रेमिकाबीच गुलाफको फूल आदानप्रदानको संकुचित मान्यता मात्र राख्दैन । 

भ्रम यसमा छ– भ्यालेन्टाइन केटा र केटीका बीचको दिवस हो जहाँ प्रेमी र प्रेमीकाले मात्र प्रश्रय पाउँछन् । त्यसैले यस्तो संस्कार विकास हुँदै गएकोमा लेखक रामसिहं रावल भन्छन्, ‘प्रेम दिवस केटा–केटीबीचको माया र प्रेम साट्ने माध्यम मात्र ठान्नु गलत हो ।’ 

कसैले माया प्रेम र श्रद्धाले कसैलाई उपहार टक्राउँछ भने त्यो उसको समाजप्रतिको इमान्दारिता र मानवताप्रतिको सद्भाव नै हो भन्ने उनको बुझाइ छ ।

आफूलाई मन परेको व्यक्तिलाई प्रेम प्रस्ताव राख्न कुनै अवसर आवश्यक त पर्दैन । तर पनि माध्यम अवश्य आवश्यक छ । पहिले–पहिले प्रेम प्रस्ताव राख्न बिहे–बटुलो, रत्यौली, मेलामा मन परेको व्यक्तिलाई सिधै प्रस्ताव राखिन्थ्यो । 

तर अब समय बदलिएको छ । इन्टरनेट तथा डिजिटल प्रविधिदेखि ठूला सपिङ मलसम्म पाइने उपहारले प्रेम प्रस्ताव गर्न सहज बनाएको छ । 

इन्टरनेटको सहायताले युवा–युवतीलाई उपहार आदन प्रदान गर्न कठिन छैन । एकदशक यता नेपालमा सामाजिक सञ्जालले प्रेम प्रस्ताव गर्न र उपहार आदनप्रदान गर्न सजिलो बनाइदिएको छ । 

आफ्नो सामाजिक सञ्जालमा ग्रिटिङ कार्ड सजाएर आफूलाई मन परेको व्यक्तिलाई प्रेमका भावना अभिव्यक्ति गर्न थालिसकेका छन् । 

हिजोआज युवा पुस्ता फेसबुक, ट्वीटर, मिग, गुगल प्लस लगायतका सञ्जालमार्फत उपहार प्रदान गर्ने गर्छन् । 

प्रेम दिवस प्रस्तावका लागि उपयुक्त दिन मान्ने युवाहरुको संख्या बढ्दो छ । तर सामाजिक सञ्जालमात्र सधै प्रभावकारी माध्यम भने बन्न सकेको छैन । एकतर्फी रुपमा सामाजिक सञ्जाल प्रयोग गर्दा प्रेम अभिव्यक्त गर्न सहज बन्न सकिरहेको छैन । बजार तथा सपिङ कम्लेक्समा पाइने गिफ्ट आइटमहरु नै बढी प्रभावकारी ठहरिएका छन् । 

विद्यार्थी नेता संजीव ढकाल प्रेम अभिव्यक्त गर्न सामाजिक सञ्जाल भन्दा पनि बजारमा पाइने गिफ्ट आइटमहरु नै प्रभावकारी रहेको सुनाउँछन् । ‘सामाजिक सञ्जालले मन परको व्यक्ति प्रभावित हुन नसक्ने रहेछ, र्यापिङ पेपरमा प्याक गरेर दिएको गिफ्ट नै सधै स्मरण गराइरहने माध्यम हुने रहेछ,’ उनले भने । 

सामाजिक सञ्जालबाट व्यक्त गरिएको प्रेमको भावना वा प्रस्ताव विश्वसनीय हुन नसकेको धेरै युवाहरुको रहेको छ । सुजनलाई जस्तो अनुभव सुनाउने जमात हामी सामु उल्लेख्य छन् ।

क्यानाडाको कलग्रेइमा रहेका फिदिमका किरण खरेलले पनि सामाजिक सञ्जालमा अभिव्यक्त गरिने मायाको वजन र विश्वास नहुने स्वीकार्छन् ।सामाजिक सञ्जालमा अभिव्यक्त गरिने प्रेम र गिफ्ट दिएर वा प्रत्यक्ष भेटेर भावना साटासाट गरिने मायाको तुलनै हुन नसक्ने उनी बताउँछन् । 

‘मलाई सामाजिक सञ्जालको विश्वास नै लाग्दैन’, उनले भने । पहिले सामाजिक सञ्जाल र गिफ्ट आइटमहरु नहुँदा कागजको पानामा रगतले लेखेर आफ्नो भावना व्यक्त गरिन्थ्यो त्यो धेरै प्रभावकारी थियो । 

तर हाल आएर गिफ्टहरु नै प्रेमलाई प्रगाढ बनाउने माध्यम भएका छन् । आधुनिक प्रविधि र बदलिँदो सामाजिक परिवेशले प्रेम दिवसको जुन महत्व र सान्दर्भिकता हुनुपर्ने त्यस्तो नभइ विसंगतीहरु बढेकोमा भने धेरैले चिन्ता ब्यक्त गरिरहेका छन् । 



नयाँ