- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
त्यो दिन पुतलीसडक प्लाजाबाट भृकुटीमण्डप हुँदै नयाँसडक जानको लागि टुँडिखेलको बीचबाट जाने छोटो चोर बाटोमात्र समातेको भए पनि उनी छुट्थिन् । उनी राष्ट्रिय सभा गृहबाट भद्रकालीतिर जाँदै गर्दा मलाई दोस्रो पटक फर्केर हेरेपछि मेरो आँखाको प्रतिक्रिया कस्तो रह्यो म शब्दमा ब्याख्या गर्न सक्दिन ।
मनमा गएको सानो भूकम्पको अनुभूति अझै पनि याद आउँछ । मैले चोर बाटो जाने योजना बदलेँ । भद्रकाली हुँदै जानको लागि देब्रे मोडिएँ । यदि त्यो दिन त्यो क्षण मेरो पाइलाले पुरानै लय समातेको भए हाम्रा आँखा चार हुन पाउँदैनथे । हाम्रा मुस्कान आदान प्रदान हुन पाउँदैनथे ।
उनी सायद आफ्नो बाटो लाग्थिन् । हाम्रो प्रेम कथा एउटा छोटो वाक्यमा सकिन्थ्यो। सायद उनले मलाई अनि मैले उनलाई युग युग सम्झने बलिया आधारहरू बन्नै नपाइ भत्कन्थे । हामी दुवैका जीवनले सायद आज छुट्टाछुट्टै लक्ष समातिसकेका हुन्थे ।
आजकल यसो ठाकठुक पर्दा उनी त्यो दिन सम्झेर मलाई अलिक चसक्क नै दुख्नेगरी, “त्यो दिन बाटो हेरेर मात्रै हिँडेको भए पनि आज यो दुःखमा फस्नु पर्दैनथ्यो । यी फुट्न नसकेका आँखाको त्यो दिनको चमकदमकले आज यो दुर्भाग्य ब्यहोर्नु परिरहेछ” भन्न पर्दैनथ्यो ।
अप्रत्यासित भेट, समय अनि बैँशालु संयोगको खेल थियो हामी पहिलो पटकमै प्रेममा पर्नुमा । हाम्रा हृदयहरू चुम्बकीय तवरले एक अर्काको लागि धड्किनुमा । अनि त्यही संयोगको कारण काठमाडौँ जस्तो फोहर र धुले ठाउँ अनायास बगैँचा जस्तै बिछट्टै राम्रो देखिन थाल्नुमा ।
बालबालिकाहरू गुडिया जस्ता अनि युवतीहरू परी जस्ता प्रतित हुनुमा । राजधानी शहर कसैले बडो जतनसँग पृथ्वीमा ल्याएर थुपुक्क राखिदिएको स्वर्गको एउटा सानो टुक्रा हो कि जस्तो लाग्नुमा । चराहरूको चिरबिर सुन्दा पनि कसैले नजिकै कतै बसेर मेरो लागि बाँसुरी नै बजाएको हो कि जस्तो महसुस हुनुमा । मैले कहिल्यै नचिनेका, नभेटेका, अनि त्यसअघि कहिल्यै नदेखेका बटुवाहरूलाई हेर्दा उनीहरू म प्रेममा परेकोमा औधी खुशी छन् भन्ने भ्रममा पर्नुमा ।
यता प्रेम अंकुरित हुँदै गर्दा उता फुपूका छोरा दक्षिण कोरिया जाने क्रममा बुटवलबाट काठमाडौँ आए । सबै कागजपत्र अनि लत्ताकपडा तयार गरेर एक सातापछि विमानस्थलबाट उड्नुअघि एक पटक पशुपति जाने इच्छा ब्यक्त गरेपछि हामी फागुन सकिनै थाल्दाको त्यो एक बिहानीमा गौशाला ओर्लेर पहेंलो घाम ताप्दै मन्दिर परिसर पुग्यौँ ।
लामो समय पंक्तिमा उभिएपछि पशुपतिनाथको दर्शन गर्न पायौँ । त्यसपछि केहीबेर टहलिँदै हामी बागमती पारी गयौँ । ढुंगाले छापेको बाटो हुँदै श्लेशमान्तक वनतिर उकालिँदै गर्दा छेउँमा बसेका एक सन्त आत्माले हामीलाई नजिकै बस्न आग्रह गरे ।
सन्तको त्यो नम्र आग्रहलाई अस्वीकार गरेर के पो लुट्नु छ र भन्ने सोँची हामी बस्यौं अनि उनले हामीलाई लगभग प्रवचन जस्तै दिन थाले ।
उनले भन्न थाले, 'संसार माया जस्तो देखिने कुहिरोले ढाकिएको एउटा सफेद भ्रम हो। त्यसैले यसलाई आफ्नो भन्न छोड्नुस् । यो जीवन पनि तपाईको आफ्नो होइन । श्रीमती, छोरा, छोरी कोही पनि आफ्ना हुँदैनन् । जुन शरीरप्रति तपाई हामी यति अभिमान गर्छौं नि त्यो पनि आफ्नो होइन । आफ्नो हुन्थ्यो भने हामीले यसलाई मर्नबाट रोक्न सक्थ्यौँ नि हैन र ? यो त मर्छ ।'
यसलाई छर्लङ्ग हुनेगरी उनले भने, 'नपत्याए तल नदी किनारको त्यो आर्यघाटमा हेर्नुस् त -जसको शव जलिरहेको छ उनी जीवित हुँदा अझ अरू बाँच्ने कोसिस अनि आशा गरेकै थिए होला नि, हैन र ? तपाई नै भन्नुस् यो संसारमा कोही मर्न चाहन्छ ? कोही पनि मर्न चाहन्न । तर पनि यो शरीर हाम्रै अगाडि मर्छ। जन्मेपछि मर्नु त पर्छ नै । आज यी कानले हाम्रो लागि कति धेरै कुरा सुन्छन् तर केही समयपछि बहिरो हुन्छन् । हामीले यिनलाई कम सुन्ने हुनबाट रोक्न सक्दैनौँ । यी आँखाले पनि हाम्रो जीवनकालमा धेरै वस्तुहरू देख्छन् । तर सधै त यिनले पनि देख्न सक्दैनन् । हामीले यिनलाई कमजोर हुनबाट रोक्न सक्दैनौँ ।'
अरु अंगको पनि वर्णन गर्दै ती सन्तले भन्दै गए, 'यी नाकले पनि सधैं सुँघ्न सक्दैनन् । कहिलेकाहिँ त बन्दै हुन्छन् । अनि हामीले मुखबाट श्वास लिनुपर्छ। सदा जागिरहने, सचेत गराइरहने दिमागले कुरा बुझ्न छोड्छ । सम्झन छोड्छ । त्यसैले जति सक्यो त्यति छिटो यो कुरा बुझ्दा राम्रो हुन्छ कि यो शरीर हाम्रो होइन । हाम्रो चाहना अनुसार केही पनि चल्दैन भने कसरी हाम्रो हुन्छ ?'
आफूले चाहेर केही नहुने भन्दै सन्तले अगाडि थपे, 'हाम्रो चाहनाअनुसार केही पनि हुँदैन जीवनमा । कसको चाहना अनुसार कति समयको लागि किन छु म यहाँ भनेर जान्न उत्सुक छु म । म जान्न चाहन्छु यो शरीरभित्र चेतन मन कसरी अलग बसेर यो सब देख्छ र सबै हुनुपर्ने र नहुनु पर्ने सबै कुरा हेरेर बस्छ । शरीर मरेपछि यो चेतन मन जो सबै देख्छ त्यो कहाँ जान्छ भनेर म जान्न चाहन्छु। मिस्रीको डल्लोमा गुलियोसँगै अमिलो स्वाद पनि हुन्छ तर गलियोले अमिलोको अस्तित्वनै नभएको जस्तो भान दिए जस्तै हामी भित्र एउटा चेतात्मा छ जसलाई हामी अनुभूति गर्नतिर लाग्दैनौँ ।'
सन्त बोल्दै गए, 'म चाहन्छु आत्माको वास्तविक परिचय भइजाओस् । आधा घण्टा सोचेर हेर्नुस यहाँ केही कुरा आफ्नो र स्थायी भन्ने छैन शिवाय त्यो आत्मा वा चेतन मन । हामी आफूलाई अरूको हृदयमा रहेको वा कसैले आफूलाई हृदयमा राखेको भ्रममा बाँच्छौँ…।' ती सन्त आत्माले त्यस बखत धेरै कुरा गरेका थिए। आफ्नो कुरालाई टेवा दिनको लागि उनले धेरै उदाहरणहरू प्रस्तुत गरेका थिए ।
ती सन्त आत्माले त्यसो भन्दै गर्दा मैले भने झल्यास्स आफ्नी प्रेमिकालाई सम्झेको थिएँ जसले मेरो हृदय लुटिसकेकी थिइन् ।
ती सन्तका कुरामा केही सत्यता थियो, त्यसैले दम थियो । ती सबै सम्पूर्ण एवं अन्तिम सत्य भने थिएनन् । डेरामा फर्कंदै गर्दा भानिज दाजु र म ती सन्तले गरेका कुराबारे केहीबेर गफियौँ । अहिले फर्केर हेर्दा त्यतिबेलाको हाम्रो ठहर्याइ अलिक उत्ताउलो खालको थियो, 'बूढाले हामीमा आफ्नो साथि खोज्दै थिए।'
तर मलाई जब जब म कतै फसिरहेको त छैन ? केही कुराले मलाई बाँधिरहेको त छैन ? मैले कसैबाट केही अपेक्षा त गरिरहेको छैन ? भन्ने महसुस हुन्थ्यो अनि म ती सन्तका कुरा सम्झन्थेँ ।
अनि शुरू हुन्थ्यो मेरो स्वयंसँगको भीषण अन्तर्य-युद्द । सांसारिक मन भन्थ्यो मानव जीवन प्रेमको परिणाम हो । प्रेम हुनु जीवनको नैसर्गिक प्रकृया हो । प्रेमबाटै सबथोक संभव भएको हो …।
तर जब सन्तको कुरा पनि त सही हो नि जस्तो लाग्थ्यो अनि म तर्क वितर्कको आँधीमा परेको बिचरो चरो जस्तो हुन्थेँ । मेरा तर्कका पखेटा भुत्ते हुन्थे ।
दर्शनमा रुची राख्ने मानिस भएकोले ती सन्त आत्माका कुराले मलाई गहिरो गरी छोएका थिए । तर प्रेमिल समय अनि प्रेयसीसँगको आशक्तिको कारण सन्तका ती कुरा लामो समयसम्म ओझेलमा रहे । तपाईहरू जस्तै म पनि प्रेमको सानो सत्य अनि दायित्वको घुमाउरो परिधिमा आफूलाई अटाएर बाँचेको छु । प्रेममा जीवन बृहत् जस्तो देखिन्छ ।
आजकै दिनमा पनि मैले वैराग्य रोज्ने हो भने प्रेम छोड्नै पर्छ।
प्रेम युद्धको अन्तर्य के हो त त्यसो भए ? के वैराग्य प्रेम सम्भव छैन ?
प्रेम बिना वैराग्य प्राप्त हुन सक्दैन । प्रेम एक राग हो।
वैराग्य त प्रेमको रागबाट मुक्ति हो।
वैराग्य प्रेमको अन्तर्य पनि छ कि यो बुद्धिविलासका लागि शृजित एक शब्दजाल मात्र हो ? (लेखक शर्माको २२ औँ वैवाहिक वर्षगाँठ फेब्रुअरी २५ तारिखमा रहेको थियो)