arrow

पर्वत ठूलीपोखरीका बिरामी उपचार गर्न पोखरा जानुपर्ने बाध्यता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ३ बुधबार
Kushma nagar hospital.jpg

पर्वत । पर्वतको कुस्मा नगरपालिका वडा नं. १२, ठूली पोखरीस्थित नगर अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सकविहीन बनेको छ । एक एमबीबीएस चिकित्सकसहित १० जनाको दरबन्दी रहेको उक्त अस्पताल विगत चार वर्षदेखि स्वास्थ्य सहायकले निमित्त भइ चलाउँदै आएका छन् ।

दरबन्दीमा रहेका चिकित्सक अध्ययन बिदामा गएपछि हालसम्म अन्य चिकित्सक आएका छैनन् । डा विवेक भण्डारी २०७५ सालमा अध्ययन बिदामा गएपछि केन्द्रमा दरबन्दीको कुनै पनि चिकित्सक पठाइएन । सुविधासम्पन्न भौतिक पूर्वाधार र एम्बुलेन्ससहित आधुनिक उपकरण भए पनि दरबन्दीका चिकित्सक नै नआएपछि सेवाग्राही मारमा परेका छन् । 

अस्पतालका निमित्त प्रमुख सागर नेपालीले दरबन्दीका चिकित्सक नै जिल्लामा नभएर समसया भएको बताए । नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवा दिन ग्रामीण क्षेत्रमा खोलिएको आधारभूत अस्पताल दरबन्दीअनुसारका स्वास्थ्यकर्मी नहुँदा सर्वसाधारण सामान्य बिरामी हुँदासमेत पोखरा वा काठमाडौँ जानुपर्ने बाध्यता छ ।

 देश सङ्घीय संरचनामा गएपछि दरबन्दीका चिकित्सक आउन छाडेका र स्थानीय तह तथा प्रदेश सरकारले व्यवस्थापन नगरेका कारण समस्या भएको उनको भनाइ थियो । 

केही समय एमबीबीएस सकेपछि अनिवार्य सेवा गर्नुपर्ने भएकाले एक/दुई चिकित्सक आए पनि उनीहरूको समेत सेवा सकिएकाले  निमित्तको भरमा उक्त केन्द्र सञ्चालन हुँदै आएको हो । अहिले स्वास्थ्य केन्द्रमा करार सेवाका एक स्वास्थ्य सहायक, एक ल्याब असिस्टेन्ट, एक स्टाफ नर्स, तीन अनमी र स्थायी तीन अहेब छन् । 

उक्त नगरपालिकाका साथै मोदी गाउँपालिका, फलेवास नगरपालिका र स्याङ्जाको आँधीखोला गाउँपालिकाका बिरामीसमेत आउने अस्पतालमा पर्याप्त स्वास्थ्यकर्मी नहुँदा समस्या भएको वडाध्यक्ष झलकप्रसाद रिमालले बताए । अस्पतालमा चिकित्सक मात्रै नभएर अन्य उपकरणसमेत पर्याप्त छैनन् । एक्सरे मेसिन बिग्रिएको दुई वर्षभन्दा बढी भइसकेको अस्पतालका सिनियर अहेब पठी धामीले बताए । 

सामान्य उपचारका लागि आवश्यक पर्ने एक्सरे विग्रिएको दुई वर्ष भयो । सम्बन्धित निकायमा पटक-पटक भन्दासमेत सुनुवाइ नभएको भन्दै उनले अस्पतालमा अहिले गर्भवतीका लागि मात्रै प्रयोग हुने भिडियो एक्सरे चालु अवस्थामा रहेपनि तालिम प्राप्त स्वास्थ्यकर्मी नहुँदा गर्भवतीले समेत नियमित सेवा पाउन नसकेको स्पष्ट पारे । एक स्टाफ नर्सले तालिम लिएर आए पनि अध्ययन बिदामा जाँदा उक्त मेसिन चलाउने जनशक्ति केन्द्रमा नभएको उनले बताए । 

उक्त नगरपालिकाले समेत अस्पतालको उपचार सेवालाई प्रभावकारी बनाउन तथा चिकित्सक माग गर्ने विषयमा कुनै चासो दिएको छैन ।

जनप्रतिनिधिले प्रदेश तथा सङ्घीय सरकारअन्तर्गतको सम्बन्धित मन्त्रालयसँग छलफल भएको जिकिर गरे पनि अहिलेसम्म कुनै पहल नभएको सरोकारवालाको गुनासो थियो । 

नगरप्रमुख रामचन्द्र जोशीले नगर अस्पतालमा दरबन्दीअनुसारको चिकित्सक ल्याउन आवश्यक पहल गरिरहेको र केही समयमै नियुक्त गरिने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ