arrow

राष्ट्रपति निर्वाचनका लागि ८८१ मतदाताको नामावली सार्वजनिक, समेटिएनन् चौधरी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १० बुधबार
president-election-parties-22.jpg

काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचन प्रक्रिया शुरु भएको छ । निर्वाचन आयोगले बुधबार राष्ट्रपति र उपराष्ट्रपति पदका उम्मेदवारलाई मतदान गर्ने ८८१ जना मतदाताको नामावली सार्वजनिक गरेको  छ । 

२५ फागुनमा राष्ट्रपति र ३ चैतमा उपराष्ट्रपतिको हुने निर्वाचनमा संघीय संसदका ३३१ र प्रदेश सभाका ५५० जनाले मतदानमा सहभागी हुन पाउने गरी आयोगले बुधबार नामावली सार्वजनिक गरेको हो । 

सार्वजनिक मतदाता नामावलीको दाबी विरोधको उजुरी बुधबार  बिहान ११ बजेदेखि बिहीबार मध्यान्ह १२ बजेसम्म दिन सकिने आयोगले सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख छ । 

दाबी विरोधको उजुरीमाथि फागुन १२ गते अपरान्ह ३ बजेसम्म छानबिन गरी अपरान्ह ४ बजे अन्तिम नामावली प्रकाशन गरिने छ । राष्ट्रपतिको पदको लागि १३ फागुनमा मनोनयन दर्ता र २५ फागुनमा मतदान हुनेछ । 

उपराष्ट्रपति पदको निर्वाचनका लागि २७ फागुनमा मनोनयन दर्ता र ३ चैतमा मतदान हुनेछ । 

यता, निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको उक्त नामावलीमा नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीको नाम भने समावेश गरिएको छैन । सरकारले गत शुक्रबार राष्ट्रपतिमार्फत प्रजातन्त्र दिवसको अवसर पारेर सांसद चौधरीलाई आममाफी दिएको थियो ।

आममाफीको आधिकारिक जानकारी आइनसकेकाले उनको नाम नराखिएको आयोगले जनाएको छ । चौधरीले आफ्नो दाबी‚ विरोध प्रस्तुत गरेमा उनको नाम समावेश गर्न सकिने जनाइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ