- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। सन् २०२२ को फेब्रुअरी २४ मा बिहानको करिब ४ बजे रुसी सेनाहरू युक्रेनी भूमिमा प्रवेश गर्न थाले।
बिहान ४ बजेर ५० मिनेटमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले एक भाषण गर्दै आठ वर्षदेखि कीभ शासनद्वारा दुर्व्यवहार र नरसंहारको सिकार भएका मानिसहरूलाई बचाउनको लागि एक विशेष सैन्य अभियान सञ्चालन गर्ने निर्णय गरेको घोषणा गरे।
बिहानको करिब ५ बजे रुसी सेनाले कीभ नजिकका विभिन्न स्थान र रुसी सिमाना नजिकको उत्तर पूर्वी सहर खार्किभमा मिसाइल एवं लामो दुरीका तोप प्रहार गर्दै आक्रमण सुरु गरे र यसरी युरोपेली भूमिमा दोस्रो विश्व युद्ध यताकै पहिलो ठुलो युद्ध सुरु भयो।
लडाइँ सुरु भएको पहिलो दिनमै युक्रेनी सेनाले धेरै मोर्चाहरूमा रुसी सेनाविरुद्ध लडाइँ गरे। पहिलो दिन सेना र सर्वसाधारण गरी एक सय भन्दा बढीको ज्यान गएको थियो।
विश्व तरंगीत
रुसी सेनाले युक्रेनमा आक्रमण सुरु गरेसँगै शीत युद्धका बेला सोभियत संघ विरुद्ध गठित सैन्य गठबन्धन उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो)ले पूर्वी युरोपेली भूमिमा आफ्नो स्थिति सेनाको सङ्ख्या र हतियार थप्दै बलियो बनायो।
आक्रमणसँगै रुसले कीभ नै कब्जा गर्ने र युक्रेनी सत्तालाई हत्याएर नयाँ सत्ता स्थापित गर्ने उद्देश्य राखेको धेरैको अनुमान थियो। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफू नम्बर एक लक्ष्य रहेको टिप्पणी गरेका थिए।
युक्रेनी भित्री सहर र खास गरी राजधानी कीभमा २५ फेब्रुअरी २०२२ देखि २ अप्रिल २०२२ सम्म रुसी सेना र युक्रेनी सेना बिच भयङ्कर लडाइँ चल्यो।
हजारौँ सेना र सर्वसाधारण मारिए, दर्जनौँ युद्ध ट्याकहरू नष्ट भए, कयौँ सैन्य पूर्वाधार र सार्वजनिक पूर्वाधारहरू ध्वस्त भए। फेब्रुअरी २४ मा आक्रमण सुरु गरेको मास्कोले २९ मार्चमा रुस समर्थित पृथकतावादी डोनबास क्षेत्रमा केन्द्रित हुने भन्दै कीभ र अन्य क्षेत्रहरूबाट सेना फिर्ता गर्ने घोषणा गरेको थियो।
त्यसअघि मार्च २ मा रुसले दक्षिणी सहर खेरसनको नियन्त्रण दाबी गरेको थियो। कीभबाट बाहिरिएको मास्कोले ३० सेप्टेम्बर २०२२ मा लुहान्स्क, डोनेट्स्क, जापोरिज्जिया र खेरसन गरी चार युक्रेनी क्षेत्रहरूलाई कब्जाको घोषणा गर्यो। त्यसपछि यहाँ जनमत सङ्ग्रह गराएर यी प्रान्तहरूलाई अहिले रुसले आफूमै गाभी सकेको छ।
सन् २०१४ मा क्रिमिया कब्जा गरेयता रुसले अहिले महत्त्वपूर्ण रूपमा यी चार प्रान्तहरू कब्जा गरेको हो। तथापि युक्रेनले क्रिमियासमेत फिर्ता ल्याउने गरी आफू लड्ने र पूरै भूमि फिर्ता ल्याउने भनेर लडिरहेको छ।
२०२२ को अप्रिलमा कीभबाट रुसले आफ्नो सेना फिर्ता गर्दा युक्रेनी सहर बुचाको सडकमा सयौँ मारिएका सेना एवं नागरिकहरूको लास सामुहिक रूपमा छोडिएको थियो। यो विषयले विश्वकै ध्यान खिचेको थियो भने, विश्व लिडरहरूले रुसलाई युद्ध अपराधका लागि जबाफदेही बनाउनुपर्ने माग उठेको थियो।
अप्रिल ९ मा पूर्वी सहर क्रामाटोर्स्कको रेल स्टेसनमा रुसी मिसाइल आक्रमणले ५२ नागरिकको मृत्यु भएको थियो भने, सय भन्दा बढी घाइते भएका थिए।
२०२२ कै मे १६ मा मारियुपोलमा रहेको अन्तिम युक्रेनी सैन्य गढ रहेको विशाल अजोभस्टाल स्टिल मिलका युक्रेनी रक्षकहरू झन्डै तीन महिनाको घेराबन्दीपछि रुसी सेनासामु आत्मसमर्पण गर्न तयार भएका थिए। मारिउपोलको पतनले युक्रेनलाई आजोभ तटबाट टाढा पारेको थियो भने रुसी सीमाबाट क्राइमियासम्मको भूमि कोरिडोर सुरक्षित गरेको थियो।
विश्वकै ठुलो गहुँ र सूर्यमुखी तेललगायतका कयौँ कृषि उत्पादनको केन्द्रका रूपमा रहेको युक्रेनी अनाज विश्व बजारमा नआउँदा यति बेला भोकमरीको विषयले समेत ठुलो चिन्ता उब्जिन थालेको थियो।
यस्तोमा अमेरिकाको पहल र टर्कीको मध्यस्थतामा जुलाई २२ मा रुस र युक्रेन ब्ल्याक सी बन्दरगाहहरूमा अड्किएको अन्नको आपूर्तिलाई खुला गर्ने सम्झौतामा सहमत भएका थिए । यो कदमले विश्वव्यापी खाद्य सुरक्षालाई खतरामा पार्ने चिन्ताको अन्त्य गरेको थियो।
जुलाई २९ मा मारियुपोलमा कैद गरिएका युक्रेनी सिपाहीहरू थुनिएको रुस नियन्त्रित पूर्वी सहर ओलेनिभकाको एउटा जेलमा मिसाइल आक्रमण हुँदा कम्तीमा ५३ जनाको मृत्यु भएको थियो। आक्रमणको लागि युक्रेन र रुसले व्यापारलाई दोष दिएका थिए।
अगस्टदेखि बलियो बनेको युक्रेन
रुसी आक्रमण र कीभबाट रुसी सेना फिर्ता गएपछिका डोनबास केन्द्रित लडाइँमा बिच अगस्ट ९ मा क्रिमियाको एक हवाई अड्डामा शक्तिशाली विस्फोट भएको थियो। यो विस्फोटलाई युक्रेनीकाउण्टर अट्याक भनिएको थियो तथापि, युक्रेनले त्यति बेला नै यसको जिम्मेवारी भने लिएको थिएन। त्यसको एक हप्तापछि त्यहाँको पावर सब स्टेसन र गोला बारुद डिपोमा थप विस्फोट भएको थियो।
यो रुसले युद्धको लागि प्रमुख आपूर्ति केन्द्रको रूपमा प्रयोग गरेको ठाउँ थियो। युक्रेनका शीर्ष सैन्य अधिकारीले पछि क्रिमियामा कीभको सेनाले नै आक्रमणहरू गरेको स्वीकारेका थिए।
२०२२ को अगस्ट २० मा रुसी राष्ट्रवादी विचारधाराका अलेक्ज्याण्डर डुगिनकी छोरी दर्या डुगिनाको मास्को बाहिर कार बम विस्फोटमा मृत्यु भएको थियो। रुसले यसको आरोप पनि युक्रेनलाई नै लगाएको छ।
सेप्टेम्बर ६ मा युक्रेनी सेनाहरूले उत्तर पूर्वी खार्किभ क्षेत्रमा एक आश्चर्यजनक काउन्टर अट्याक सुरु गरेका थिए। रुसले महिनौँसम्म कब्जामा राखेको ठुला क्षेत्रबाट यो काउन्टर अट्याकले उनीहरूलाई फिर्ता हुन बाध्य पारेको थियो।
यति बेला रुस युद्धको दबाबमा पर्न थालेको सङ्केत सुरु भएका थिए। अन्य क्षति युक्रेन भन्दा कम भए पनि हजारौँको सङ्ख्यामा सैन्य क्षति बेहोरेको रुसका पुटिनले सेप्टेम्बर २१ मा थप ३ लाख जनालाई रुसी सेनामा भर्ती गर्ने घोषणा गरेका थिए। यो कदमले रुस युद्धको दबाबमा परेको र जबरजस्ती युवाहरूलाई युद्धमा लगाउन खोजेको भन्दै त्यति बेला आलोचना निम्त्याएको थियो।
तथापि, सेप्टेम्बर ३० मा रुसका लागि आफ्नो युद्ध सफलताको एक हिस्साका रूपमा पुटिनले चार युक्रेनी क्षेत्रहरूलाई क्रेमलिनमा गाभ्ने कागजातमा हस्ताक्षर गरेका थिए।
अक्टोबर ८ मा क्रिमियालाई रुसको मुख्य भूमिसँग जोड्ने महत्त्वपूर्ण पुलमा विस्फोटक पदार्थले भरिएको ट्रक विस्फोट गरिएको थियो। कथित युक्रेनी यो विस्फोट रुसका लागि अझैँ चुनौतीको सङ्केत बनेको थियो।
नोभेम्बर ९ मा रुसले युक्रेनी काउन्टर आक्रमणमा परेपछि खेर्सन सहरबाट फिर्ताको घोषणा गरिएको थियो। रुसले कब्जा गरेको एक मात्र क्षेत्रीय केन्द्र समेत यसले गुमाएको थियो।
डिसेम्बर ५ मा रुसी सेनाले युक्रेनले रुसी क्षेत्र भित्र लामो दूरीको बमवर्षक प्रयोग गर्दै दुई वटा आधारहरूलाई लक्षित गर्न ड्रोन प्रयोग गरेको आरोप लगाएको थियो।
डिसेम्बर २१ मा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले युद्ध सुरु भएदेखि आफ्नो पहिलो विदेश भ्रमणका क्रममा संयुक्त राज्य अमेरिकाको भ्रमण गर्दै त्यहाँका राष्ट्रपति जो बाइडेनसँग प्याट्रियट एयर डिफेन्स मिसाइल प्रणाली र अन्य हतियारहरूको माग गर्दै अमेरिकी संसद्मा सम्बोधन गरेका थिए।
रुस-युक्रेन युद्ध २०२३ मा प्रवेश
जनवरी १ मा नयाँ वर्ष पहिलो दिनको केही बेरमै माकिभ्का सहरमा युक्रेनी मिसाइल आक्रमणबाट नयाँ परिचालन गरिएका सयौँ रुसी सैनिकहरू मारिएका थिए। रुसको रक्षा मन्त्रालयले ८९ सैनिकको मृत्यु भएको भने पनि युक्रेनी अधिकारीहरूले मृत्यु हुनेको सङ्ख्या सयौँमा रहेको बताएका थिए।
महिनौँको भयङ्कर लडाइँ पछि रुसले जनवरी १२ मा सोलेदारको नुन खानी सहर कब्जा गरेको घोषणा गरेको थियो। जनवरी १४ मा रुसले युक्रेनको ऊर्जा सुविधाहरूमा आक्रमणको अर्को लहर सुरु गरेको थियो। डिनिप्रो सहरको एक अपार्टमेन्ट भवनमा एक रुसी क्षेप्यास्त्र प्रहार हुँदा ४५ जना मारिएका थिए।
रुस-युक्रेन युद्धको एक वर्ष पूरा
२०२३ को फेब्रुअरी २४ अर्थात् आज रुसले युक्रेनमा आक्रमण गरेको एक वर्ष पूरा भएको छ। यसको तीन दिनअघि फेब्रुअरी २० मा अमेरिकी राष्ट्रपति जो बाइडेनले अचानक गोप्य रूपमा कीभको भ्रमण गरेका थिए।
अन्य युरोपेली लिडरहरूले निरन्तर कीभको भ्रमण गर्दै आएका छन् भने, हिजो मात्रै स्पेनका राष्ट्रपति पेड्रो सान्चेजले कीभको भ्रमण गरेका थिए। पश्चिमा मुलुकहरूले कीभलाई व्यापक रूपमा हतियार पठाएर सहयोग गरिरहेको छ।
रुसले शान्ति वार्ताका लागि तयार रहेको भने पनि पश्चिमा हतियारको भरमा युक्रेन भने सबै भूमि (क्रिमियासमेत) फिर्ता नलिएसम्म लड्ने भनिरहेको छ। रुस युक्रेन युद्धको असर विश्वभर अनेकौँ किसिमले देखा परेको छ।
कोभिड१९को महामारीबाट थला परेको विश्व उठ्नै लाग्दा विश्वलाई चीनको विकास र विस्तारलाई रोक्ने अमेरिकी रणनीति र युक्रेन युद्धले झनैं समस्याग्रस्त बनाएको छ। चीनले युक्रेन युद्ध रोक्न पटक पटक आह्वान गर्दै आएको छ। तथापि, अमेरिकाले आफ्नो हित अनुरूप युक्रेन युद्ध लम्ब्याउन चाहिरहेको चिनियाँ आरोप छ।
युरोप र विश्वभर ऊर्जा, खाद्य र सबै गरी मुद्रास्फीति विश्वभर बढ्दो छ। रुस र युक्रेनले ब्याहोरिरहेको हजारौँको सङ्ख्यामा सैन्य एवं मानवीय क्षति, लाखौँको सङ्ख्यामा विस्थापन र कराडौंको पूर्वाधार एवं आर्थिक क्षति भन्दा पर विश्व र विश्वका पनि विकासोन्मुख मुलुकहरूसम्म युद्धको असर परेको छ।
युक्रेन युद्ध अझैँ कति लामो समयसम्म चल्छ भन्ने आङ्कलन गर्न सकिने स्थिति छैन। आशा गरौँ यस्तो नहोस् र हुँदैन तर, अहिलेको अवस्थामा पश्चिमा मुलुकहरूले युक्रेनलाई झन् सहयोग गर्दै गए र रुससँग युद्ध बढाउँदै लगे पनि विश्व आणविक युद्धको चपेटामा पर्न सक्ने चिन्ता समेत बढ्न थालेको छ।
रुसका लागि अस्तित्वको लडाइँ
शीत युद्धपछि सोभियत सङ्घको विघटन र पूर्व सोभियत मुलुकहरूमा पश्चिमी अथवा अमेरिकी उपस्थिति रुसका लागि चिन्ताको विषय रही आएको थियो। अल्बानिया, बुल्गेरिया, चेकोस्लोभाकियाजस्थन पूर्व सोभियत मुलुकहरू नेटोमा समावेश हुनु र रुसी सीमा नजिक नै नेटाको विस्तार रुसले आफ्ना लागि खतरा भन्ने गर्छ।
रुसले युक्रेनलाई युरोपेली युनियन र नेटोमा समावेश नगर्ने सर्त राख्दै विश्व लिडरहरूसँग युद्ध सुरु गर्नु अघि वार्ता समेत गरेका थिए। तर, यो सर्तमा पश्चिमा मुलुकहरू मन्जुर नहुँदा पनि रुस युद्धका लागि झनैं तयार भएको थियो। अहिले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यो लडाइँ अब, रुसी सभ्यता र रुसी अस्तित्वकै लडाइँ हो भनेका छन् र यो लडाइँका लागि पुटिन जुनसुकै हदसम्म जान सक्छन्।
(स्राेतहरूकाे सहयाेगमा)