arrow

हराउँदै हलगोरु पाल्ने प्रचलन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १७ बुधबार
goru-.jpg
फाइल तस्वीर

पर्वत । एक दशक अघिसम्म फलेवास नगरपालिका-५ का ढाकाराम सुवेदीको गोठमा हलगोरु हुन्थे । पूर्वकृषि प्राविधिक सुवेदीले २०७५ सालमा यान्त्रिक हलो किने । उनले त्यसपछि गोरु पाल्ने झनझट गरेनन् । 

कुस्माकै किसान विष्णु भुँवाजीले पनि यान्त्रिक हलोले जोतेर खेती गर्न थालेको नौ वर्ष भइसकेको छ । अचेल जिल्लाका झन्डै ७० प्रतिशत किसानले यान्त्रिक हलो मिनी ट्रिलर, पावर ट्रिलर, ट्र्याक्टर प्रयोग गर्ने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । 

तत्कालीन जिल्ला कृषि विकास कार्यालयले आर्थिक वर्ष २०७१/७२ देखि यान्त्रिक हलो भित्र्याएर किसानलाई अनुदानमा वितरण शुरु गरेपछि यहाँ बिस्तारै गोरु पाल्ने चलन हराउँदै गएको हो । 

तत्कालीन वरिष्ठ कृषि विकास अधिकृत (हाल गण्डकी प्रदेश कृषि निर्देशक) वासुदेव रेग्मीका अनुसार कृषि कार्यालयले आव २०७४/७५ सम्म पाँच सय यान्त्रिक हलो वितरण गरेको थियो । कृषि ज्ञान केन्द्रको पछिल्लो तथ्याङ्कअनुसार आव २०७५/७६ यताका चार वर्षमा केन्द्रले एक हजार तीन सय यान्त्रिक हलो वितरण गरिसकेको छ । 

यसबाहेक स्थानीय सरकारले पनि कृषिमा विनियोजन हुने अधिकांश रकम यान्त्रिक हलोमै खर्चने गरेका छन् । जिल्लाका सातवटै पालिकाले बर्सेनि दुई सय हाराहारीमा यान्त्रिक हलो वितरण गर्ने गरेको ज्ञान केन्द्रका सूचना अधिकारी एवं कृषि प्रसार अधिकृत विश्वास काफ्लेले बताए ।  

त्यसबाहेक विभिन्न परियोजना, विभिन्न गैरसरकारी संस्था, दातृ निकायलेसमेत अनुदानमा यान्त्रिक हलोलाई नै प्राथमिकतामा राखेको पाइएको छ । 

जिल्लामा ५३ हजार छ सय ८६ हेक्टर जमिनमध्ये २८ हजार पाँच सय ९३ हेक्टर खेतीयोग्य जग्गा छ । पछिल्लो दशक खेतीयोग्य जमिन मासिँदै जाँदा करिब २४ हजार हेक्टरमा मात्रै खेती हुँदै आएको छ । भइरहेको खेतीयोग्य जमिनमध्ये पनि झन्डै सात हजार हेक्टरमा मात्रै बाह्रै महिना सिँचाइ सुविधा पुगेको छ । 

यान्त्रिक हलोका कारण थोरै जनशक्तिले अधिक क्षेत्रफलमा खेती लगाउन सहज भएको कृषक बताउँछन् । गाउँघरमा कृषि मजदुर नपाइने, कम समयमा धेरै खेती गर्न नसकिने, आवश्यक परेका बेला हलगोरु नपाइने, साँघुरा सुर्कामा खनजोतका लागि बाउसेको अभावलगायत समस्यालाई यान्त्रिक हलोले हटाएको कुश्मा-१२ का कृषक रामप्रसाद सापकोटाले बताए । कृषिको यन्त्रीकरणले खेतीपातीमा सहजता भए पनि गोबर मलको अभाव हुन थालेको उनको भनाइ छ । 

पूर्वकृषि प्राविधक सुवेदीले गाउँघरमा गोरु पाल्न छोडेपछि दाइँ हाल्ने गोरुको अभावदेखि गोबर मलको अभाव हुन थालेको बताए । प्रतिरोपनी साढे तीन मुरीसम्म धान उत्पादन हुने खेतमा प्राङ्गारिक मलकै अभावमा उत्पादकत्व ४० प्रतिशतसम्म घटेको उनले बताए । 

व्यावसायिक खेती गर्दै आएका कुस्मा-८ का भुवाँजीले पनि बेमौसमी तरकारी उत्पादनमा ह्रास आउनाका साथै रोग, कीराको प्रकोप पनि बढेको बताए । “गाईवस्तुको मल र पिसाबले उत्पादनमा निकै सहयोग गर्थ्यो”, उनले भने, “अहिले मलदेखि विषादीसम्म रासायनिक नै प्रयोग गर्दा असर परेको छ ।”

रासायनिक मल र विषादीको प्रयोग अस्वाभाविक रूपमा प्रयोग गर्दा त्यसले माटोमासमेत गम्भीर असर पारेको कृषि ज्ञान केन्द्र प्रमुख मनिता थापाले बताए । थापाका अनुसार अहिले जिल्लामा झन्डै ३० प्रतिशतको हाराहारीले मात्र गोरुमार्फत खेतबारी खनजोत गर्दै आएका छन् । 

बाँकी सबैले यान्त्रिक हलोकै प्रयोग गर्ने गरेको थापाले बताए । खेतबारीमा यान्त्रिक हलोको प्रयोगपछि माटोमा अम्लियपनाको मात्र वृद्धि भएको उनको भनाइ छ ।-रासस



नयाँ