arrow

उराव समुदायको करम पूजा प्रारम्भ, महोत्सवमा उराव समुदायका भारतीय मन्त्री सहभागि हुने

logo
कुमोद अधिकारी,
प्रकाशित २०७३ असोज १० सोमबार
Karam-puja--Photos.jpeg
विराटनगर । उराव समुदायले मनाउने करम पूजा प्रारम्भ भएको छ । नेपालीहरुको महानपर्व विजया दशमीको आगमनसंग उराव जातिको करम पूजा प्रारम्भ हुन्छ । असोज–११ गते विधि पूर्वक मनाइने सो पर्वको आफ्नै महत्व छ । पूजामा उराव समुदायले करम र वेलको रुखको हाँगालाई राखेर करम देवताको पूजा गर्ने प्रचलन छ । उनीहरुले  पूजाका लागि एक हप्ता अघि देखि नै जमरा राखि सकेका छन् ।
 
दशैंमा जमरा राखे जस्तै करम पूजाका लागि युवा युवतीहरु सामूहिक ब्रत बसेर जमरा राख्ने परम्परा रहिआएको राष्ट्रिय करम पूजा महोत्सवका सह–संयोजक एंव पूर्व सांसद शिवनारायण उरावले बताए । एक हप्ता पछि उम्रिएका जमरालाई फुलको रुपमा करम पूजामा प्रयोग गर्ने गरिन्छ । युवा युवतीहरु जमरा राखे जस्तै करम पूजामा ब्रत बस्ने गर्दछन् । यो वर्ष असोज–११ गते करम पूजा परेको जनाइएको छ । पूजामा उराव समुदायले राम्रो लगाउने मिठो खाने प्रचलन छ । 
 
करम पूजामा उराव समुदायले भरपुर मनोरन्जन र रमाइलो गर्ने गर्दछन् । दशैं, तिहार , होली तथा नयाँ वर्ष उराव समुदायले मनाउने गरे पनि करम पूजाको भने आफनै विशेषता र महत्व रहेको शिवनारायण उरावको भनाई छ । पूजामा सबै रिसराग तथा दुःख बिर्सेर सामूहिक रुपमा यो पर्व मनाउँछन् ।
 
पहिलो, दोश्रो र तेश्रो पकाएको रोटी करम देउतालाई चढाउने र आफन्त इष्टमित्र कहाँ गएर शुभकामना आदान प्रदान गर्ने तथा नाचगान गर्ने पनि चलन रहेको मूल समितिका कोषाध्यक्ष धु्रब उरावले बताए । भाकल पूरा हुने भएकाले यो पूजाको महत्व बढ्दै गएको उनको भनाई छ । यो पूजामा बलिदिने चलन भने छैन झण्डै एकहजार वर्ष देखि नेपालमा बसोबास गर्दै आएको यी जातीहरु खोला किनार तथा खेत खलियानमा बस्न रुचाउछन । 
 
यस्तै, करम पूजाको अवसरमा महोत्सव नै आयोजना हुने भएको छ । महोत्समा भारतका आदीवासी जनजाती कल्याणमन्त्री जोएल उरावको समेत सहभागिता रहने बताइएको छ । आफनो समुदायको मन्त्री भएकाले उहाँलाई निम्ता गरिएको समितिका सचिव गोविन्दकुमार उरावले बताए ।
 
महोत्सवमा वुद्धिजिवि तथा मुलुकका राजनीतिक व्यक्तित्वहरु समेत सहभागि हुने बताइएको छ ।  मुलुकभर उराव समुदायको संख्या ३ लाखको हाराहारीमा छ ।  त्यसमध्ये सुनसरी जिल्लामा उराव समुदायको बसोवास बढी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ