arrow

मृत्यु कुरिरहेकी सन्ध्यालाई भेटे स्वास्थ्य मन्त्री थापाले, के भयो कुराकानी ?

logo
प्रकाशित २०७३ असोज ११ मंगलबार
sandhya_Gagan.jpeg
काठमाडौं। मृत्यु कुरेर वसेकी जुम्ली युवती सन्ध्या शाहीलाई स्वास्थ्य मन्त्री गगन थापाले उनको डेरामा गएरै भेटेका छन्। सोमबार राती जुम्लाका एक स्थानियलाई मात्र लिएर मन्त्री थापा सन्ध्यालाई भेट्न गएका हुन्। क्यान्सर रोग लागेर उपचार गराइरहेकै बेला भक्तपुर क्यान्सर अस्पतालबाट मृत्युको पूर्जा पाएकी जुम्ला जिल्लाकी सन्ध्या शाहीले आफ्नो अन्तिम इच्छा नै स्वास्थ्य मन्त्रीलाई भेट्ने रहेको भन्दै थापालाई पत्र लेखेपछि मन्त्री थापा उनलाई भेट्न उनकै डेरामा गएका हुन् ।
 
स्वास्थ्य मन्त्री थापा सन्ध्यालाई भेट्दा अत्यन्तै भावुक बनेका थिए। एक त उनको अवस्था नै भावुक बनाउने थियो अर्को उनले आफूले पाएको पीडाको कुरा मन्त्रीलाई सुनाउँदा जो सुकै पनि भावुक हुने अवस्था थियो। क्यान्सरले अत्यन्तै गलाएको अवस्थामा रहेकी सन्ध्याले आफ्नो पारिवारिक अवस्था र उपचार गराउँदा आफ्नो परिवार नै सडकमा आएको बारेमा जानकारी गराएकी थिइन। अस्पतालमा डाक्टर र उपचारमा संलग्नहरुले गर्ने व्यवहारको बारेमा पनि उनले मन्त्रीलाई सुनाइन। अस्पतालमा उपचार मात्र हैन कसरी विरामीहरुलाई व्यवहार गर्ने, विरामीहरुका आफ्नतहरुलाई कसरी व्यवहार गर्ने पनि सिकाउनुपर्ने र त्यस्तो ज्ञान नहुँदा आफूहरु जस्ता हजारौं विरामी र तिनका आफन्तहरुले भोगन्परेको तीतो  अनुभव पनि उनले मन्त्रीलाई सुनाइन। 
 
सोमबार राती साँढे आठ बजे स्वास्थ्य मन्त्रालयबाट निस्किएका मन्त्री थापा सिधै चाहविल गोपिकृष्ण हलपछाडी रहेको सन्ध्याको डेरामा पुगेका थिए। दिनभर जसो सञ्चारकर्मीहरुले थापालाई सन्ध्याकहाँ जाने समयको बारेमा सोधिरहेपनि थापा भने सञ्चारमाध्यमका एकजना पनि प्रतिनिधी नलिइ सन्ध्यालाई भेट्न राती करिव ९ वजे पुगेका थिए। साथमा रहेका जुम्लाका एक स्थानिय तथा काँग्रेस कार्यकर्तालाई पनि मन्त्री थापाले विरामीको तस्विर नखिच्न आग्रह गरे। थापा एक घण्टासम्म बसेर सन्ध्याका र उनको आफन्तको पीडा, गुनासो र सुझाव सुनिरहे। उनले अघिल्लो सरकारमा खगराज अधिकारी स्वास्थ्यमन्त्री भएका बेला आफूले उपचारमा सहयोग उपलव्ध गराउन आग्रह गर्दै निवेदन दिएको जानकारी गराइन। सहयोग गर्ने पनि भनियो तर पाउन नसकेको उनले दुखेसो गरिन। डाक्टरले तीन महिनामा मृत्यु हुन्छ भनेपनि ९ महिना बाचिसकेको भन्दै उनले मर्ने र बाँच्ने कुराको बारेमा विरामीलाई भनेर हतोत्साहित बनाउने कामको मन्त्री मार्फत विरोध गरिन।  
 
सन्ध्याको कुरा सुनेपछि थापाले आफूले आम नेपाली सबैले स्वास्थ्य उपचारमा समान पहुँच राख्न सकुन भनेर नीतिगत रुपमा काम गरिरहेको बताए। ठूलालाई मात्र स्वास्थ्य उपचार सहयोग हैन की सबैलाई उपलव्ध होस भनेर कार्यविधी बनाउने काम गरिरहेको थापाले बताए। केहि दिनमै त्यो कार्यविधी तयार हुने र त्यसपछि सबैको स्वास्थ्य सेवामा समान पहँचका लागि ढोका खुल्ने उनले बताए। 
 
अघील्लो सरकारको पालामा सन्ध्याको उपचारको फाइल मन्त्रालयमा पुगिसकेको आफूले आफ्नो सचिवालयबाट समेत जानकारी पाएको थापाले उनलाई सुनाए। त्यो फाइललाई अघी बढाउने र के कस्तो सुविधा उपलव्ध गराउन सकिन्छ त्यस बारेमा जानकारी गराउने पनि थापाले बताए। क्यान्सर, मृगौला लगायतका महंगो उपचार खर्च लाग्ने रोगले धेरैको घरबार विग्रिएको, सडकमा आउनुपर्ने अवस्था आफूले धेरैको देखेको उल्लेख गर्दै थापाले त्यस किसिमको रोगको सर्वसुलभ उपचार कसरी गराउन सकिन्छ भनेर आफू र आफ्नो नेतृत्वको स्वास्थ्य मन्त्रालय काम गरिरहेको पनि मन्त्री थापाले बताए। डाक्टर नपुगेका अस्पतालहरुमा डाक्टर पुर्‍याउने काममा समेत आफू लागिरहेको भन्दै आउने दिनमा स्वास्थ्य क्षेत्रमा केहि परिवर्तनको महसुस गराउने प्रयासमा रहेको बताए। 
 
थापाले सन्ध्यालाई ढाडस दिदै अघिल्लो सरकारमा पालामा उठाइएको फाइललाई खोजेर टुङगोमा पुर्‍याउन सचिवालयलाई निर्देशन दिने बताए। मन्त्री थापाले सन्ध्याले उठाएका उनका पीडाका विषयका अतिरिक्त कतिपय आचरणगत रुपमा सुधार्नुपर्ने विषयहरु रहको बताए। कतिपय भने नीतिगत रुपमा गर्नुपर्ने कामहरु छन्। मन्त्री थापाले भने, 'यि सबैलाई आफूले मन्त्री भएको समयभित्र टुङ्ग्याउने पहल गरिरहेको छु।' मन्त्री थापाले सन्ध्याले उठाएको स्वास्थ्य क्षेत्रको विकृती र विसंगति कम गर्न आफू लागिपरेको पनि उनलाई सुनाए। 
   
आफूलाई लेखेको पत्र पढेर तथा त्यसबारेमा बुझेर भेटेरै कुरा गर्न आएको भन्दै मन्त्री थापाले प्रतिकुल स्वास्थ्य अवस्थाका बीचमा पनि स्वास्थ्य क्षेत्रको बारेमा राम्रोका लागि उनले गरेको प्रयास र पहलका लागि मन्त्रीले धन्यवाद पनि दिए। प्रतिकुलताका बीचमा पनि धैर्य राखेकोमा मन्त्रीले उनको प्रसंसा पनि गरे। उनले आफू मर्नुभन्दा अगाडि सरकारी अस्पतालमा आफूले भोगेका पीडालाई मन्त्रीसामु राखेर मात्रै मर्न चाहेको बताएकी थिईन् । पेट तथा देब्रे हातमा क्यान्सर भएकी सन्ध्याको देब्रे हात काटिएको छ। अहिले काखीमा समेत क्यान्सर फैलिएको छ। उनको काखीमा भएको क्यान्सरले बनाएको घाउ पाकेको अवस्थामा छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ