arrow

गठबन्धनभित्रै माओवादी, नेकपा एस र जसपाको समाजवादी मोर्चा बनाउने तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १ बुधबार
prachanda-madhav-upendra.jpg
तस्बिर – फाइल ।

काठमाडौं । उपराष्ट्रपतिको निर्वाचनमा मधेसवादी दलहरु लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले मोर्चा बनाएपछि जनता समाजवादी पार्टी जसपाले पनि माओवादी केन्द्र र नेकपा एससँग सहकार्यसहितको प्रस्ताव गरेर समाजवादी मोर्चाका लागि तयार भएको छ ।  

संसदमा रहेका तीन दलहरु सत्ता गठबन्धनभित्रै रहेर उन्मुक्ति पार्टी, जनमत पार्टी र लोसपाले संसदमा मोर्चा बनाएपछि उपराष्ट्रपति निर्वाचनमा आफूलाई असहयोग हुने ठानेर जसपाका अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चाका लागि आफू तयार भएको जनाएका छन् ।

 ‘माओवादीले यसअघि राखेको प्रस्तावमा जसपा अध्यक्ष यादव तयार भएका छन्, उनी विरुद्धमा मधेसमै मोर्चाबन्दी भएपछि जसपाले माओवादी र एस पार्टीको साथ खोजेको हो’, नेकपा एसका एक नेताले भने । 

लोसपासहित बनेको मोर्चासँग अहिले प्रतिनिधि सभामा १४ सांसद छन् । साझा मुद्दामा सहकार्य गर्ने र सत्ता समीकरणमा पनि सँगै सहकार्य गर्ने उनीहरुको घोषित नीति छ । 

त्यही आधारमा जनमतकी ममता झालाई उनीहरुले उपराष्ट्रपतिको उम्मेदवार उठाएर जसपालाई अप्ठेरोमा पारेका छन् । त्यसपछि जसपाले पनि माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीसँग मिलेर संसदभित्र तत्कालका लागि समाजवादी मोर्चा बनाउने प्रस्तावलाई अघि सारेको हो । 

त्यसका लागि शीर्ष नेताहरुले छलफल गरेका छन् । ‘अबको केही दिनमै समाजवादी मोर्चाको घोषणा हुनेछ, शीर्ष तहमा छलफल अघि बढिसक्यो’, माओवादी केन्द्रका एक पदाधिकारीले भने । 

यदि समाजवादी मोर्चा बनेमा संसदमा यो शक्ति तेस्रो बलियो शक्तिका रुपमा उदाउने गरी कसरत गरिएको हो । राष्ट्रिय सभामा भने यी तीन दलको मोर्चा निर्माण हुँदा सबैभन्दा ठूलो शक्तिका रुपमा रहने भएपछि उनीहरुको ध्यान त्यता लागेको हो । 

संसदमा रहेका यी तीन दलले समाजवादी मोर्चा घोषणा गरेमा प्रतिनिधि सभामा यी दलहरुसँग कुलमा ४४ र राष्ट्रिय सभामा उपाध्यक्षसमेत जोड्ने हो भने २६ नत्र २५ सिट रहनेछ । संसदमा सरकार निर्माणदेखि अन्य सबै विषयमा सहकार्य गर्ने गरी यी तीन पार्टीको समाजवादी मोर्चा निर्माण हुँदा यो शक्ति निर्णायक हुने दाबी गरिएको छ ।

 ‘यस्तो भएमा कांग्रेसले विकल्प खोजेमा कांग्रेसलाई बाहिर राखेर पनि सरकार निर्माण गराउने र अहिलेको प्रचण्ड नेतृत्वको सरकारलाई सुरक्षित राख्ने योजनाका साथ यस्तो कसरत गरिएको हो’, स्रोतले भन्यो,  ‘माओवादी केन्द्र यसमा सहमत देखिन्छ ।’

त्यस्तो हुँदा संसदमा अहिले प्रतिपक्षमा पुगेको एमालेले मोर्चाको साथ बिना संसदमा रहेका कांग्रेस बाहेकका सबै शक्ति मिलाउँदा पनि सरकार निर्माण गर्न नसक्ने अवस्था आउने देखिन्छ ।

तर कांग्रेसले भने एमाले र तीन पार्टीको समाजवादी मोर्चालाई छोडे पनि अन्य सबै संसदमा रहेका शक्तिलाई एक ठाउँमा ल्याउन सके पनि सरकार निर्माण गर्न सक्छ ।

 ‘यो मोर्चा कांग्रेस र एमालेमध्ये एकलाई बाहिर राख्न र आफ्नो शक्ति कायम राख्न कामयावी हुनेछ’, स्रोतले भन्यो । यो शक्तिहरुलाई कांग्रेसले पनि मिलाउन र सरकार निर्माण गर्न मुश्किल पर्ने भएकोले माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीले संसदमा आफूहरुको मोर्चा बिना कांग्रेस, एमाले कसैले पनि आफनो नेतृत्वमा सरकार बनाउन नसकोस् भन्ने गरी मोर्चा निर्माण प्रयास गरेको स्रोतको दाबी छ ।

कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन चाहे पनि जनमत, नागरिक उन्मुक्ति र लोसपालाई एकठाँउमा ल्याउन पर्ने हुन्छ । तर यी शक्तिहरु मिलाउन उसलाई अप्ठयारो पर्नसक्ने देखेरै निर्णायक लाभ लिन माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीले समाजवादी मोर्चा बनाउन खोजेको मोर्चा निर्माणमा सक्रिय रहेका एक सदस्यले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ