arrow

लुम्बिनीका सहकारीमा बेथिति

बुटवलको शिव शिखरदेखि बर्दियाको नमस्ते सहकारीसम्मको बचत रकम के हुन्छ ?

logo
नारायण वली,
प्रकाशित २०७९ चैत २ बिहिबार
Sahakari-Logo-1.jpg

रुपन्देही । लुम्बिनी प्रदेशमा ३ हजार ७ सय ५५ वटा सहकारी छन् । जसले ४२ अर्ब लगानी, ६० अर्ब निक्षेप र ६ अर्ब सेयर पुँजीको कारोबार गरेको तथ्याङ्क सहकारी बोर्डमा छ । तर यो तथ्याङ्क गत ०७७ सालको हो । त्यसयता हालसम्म अद्यावधिक गरिएको छैन ।

बुटवलको राजमार्ग चौराह नजिक उदय सिनेमा भएको भवनमा मुख्यकार्यालय रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाले पनि शिव शिखर भन्दा अगाडिदेखि नै बचतकर्ताहरुलाई पैसा दिन नसकेको घटना बाहिरीएपछि एकपछि अर्काे सहकारीहरुले पैसा दिन नसकेको रहस्यहरु बाहिरिएका हुन् । सुप्रिममा त आक्रोशित बचतकर्ताहरुले तोडफोडसमेत गरेका थिए । 
 
बुटवलको जोगीकुटीस्थित कार्यालय रहेको शिव शिखर बचत तथा ऋण सहकारी संस्था अहिले पूर्णरुपमा बन्द छ । काठमाडौं मुख्य कार्यालय रहेको सो सहकारीले बुटवलमा सपिङ सेन्टर समेत सञ्चालन गर्दै आएको थियो । त्यहाँका स्थानिय व्यापारी एवं नागरिकहरुसँग सहकारीका लागि दैनिकी उठाउँदै आएको थियो ।

रुपन्देहीका आगन्तुक, अग्रमबग्रहम जडिबुडी बचत तथा ऋण सहकारी हालका समस्याग्रस्त सहकारीमा पर्दछन् । जसले दैनिक बचतकर्ताहरुलाई रकम फिर्ता गर्न नसकेपछि कुनै सहकारीले सूचना टाँसेर कार्यालय नै बन्द गरेका छन् भने, केही अन्य सहकारीले बचतकर्ताहरुको पैसा दिन सकेका छैनन् । जसले गर्दा दुखसुख गरेर बचत गरेको आफुहरुको रकम डुब्ने होकी भन्ने चिन्तामा छन्, बचतकर्ताहरु । सूचना टाँसेर कार्यलय बन्द गर्ने सहकारी हो शिव शिखर सहकारी ।

ती सहकारीहरुमा आफूले बचत गरेको रकम अप्ठ्यारो स्थितिमासमेत निकाल्न नपाएको गुनासो बचतकर्ताहरुको छ । अग्रमबग्रहम जडिबुडी सहकारी भैरहवाको अध्यक्ष लामो समयदेखि सम्पर्कविहीन छन् । बर्दियामा रहेको नमस्ते बचत तथा ऋण सहकारी संस्था झन चरम संकटमा छ ।

सञ्चालक समितिका अध्यक्ष र व्यवस्थापक प्रमुख बर्षाैंदेखि गायब हुँदा स्थानीयहरुले गरेको लाखौं बचत रकम संकटमा परेको छ । समस्याग्रस्त अवस्थमा रहेको नमस्तेलाई प्रदेश सहकारी नियमन निकायमा उजुरी परेपछि छानबिन गर्दा सञ्चालक समितिका अध्यक्ष र व्यवस्थापक प्रमुखबाट आर्थिक अपचलन भएको तथ्य फेला परेको बताइएको छ ।

सहकारीका पीडितहरु कोही प्रहरी, कोही जिल्ला प्रशासन, कोही रजिस्ट्रार कार्यालयमा उजुरी गर्न जाने भएकाले बेथिति कतिवटा सहकारीमा भएको छ भन्ने ठ्याक्कै नभएको भन्दै लुम्बिनी प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष टीकाराम पोखरेलले प्रदेशमा सञ्चालित केही सहकारीमा समस्या देखिएकाले सरकारले कानुनी प्रक्रिया अगाडि बढाएको बताए । उनले आफूहरुकहाँ सहकारीबाट ठगिएको भन्दै निवेदन दिन आउने क्रम जारी रहेको जनाए । 

दाङको लमहीमा रहेको नागरिक बचत तथा ऋण सहकारी, देउखुरीमा रहेको महाप्रमुख बचत तथा ऋण सहकारी संस्थामा पनि समस्या रहेको बुझिएको छ ।

लुम्बिनी प्रदेशका सहकारी रजिस्ट्रार भीमप्रसाद तिवारीले पनि प्रदेश रजिष्ट्रार कार्यालयमा उजुरी दिन आउन थालेको बताए । यता सहकारी विज्ञहरुका अनुसार प्रदेशमा दर्ता नभएका तर कार्यक्षेत्र बनाएर सञ्चालनमा आएका केही सहकारीमा समस्या देखिएको बताउँदै सञ्चालकहरुबाट अपचलन हुँदासमेत नियामक निकायहरुले तत्काल कारबाही प्रक्रियालाई अगाडि बढाउन नसकेको गुनासो छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ