arrow

रोल्पाका १० सरकारी कार्यालयमा १२१ पद रिक्त

logo
कविता उपाध्याय।
प्रकाशित २०७३ असोज १२ बुधबार
rolpa-employee-election.jpg.jpeg
रोल्पा । रोल्पा जिल्लाका १० वटा सरकारी कार्यालयहरुमा मात्र दरबन्दी अनुसार १ सय २१ जनाको पद रिक्त रहेको सम्वन्धित कार्यालयहरुले जनाएका छन् । कार्यालयमा दरबन्दी अनुसार कर्मचारीहरुको पदपूर्ति हुन नसक्दा हरेक सेवा प्रवाहमा कठिनाई हुने गरेको कार्यालय प्रमुखहरुको गुनासो छ । 
 
“हामीले हाम्रा कार्यालयहरुबाट सकेजति सेवा प्रबाह गरिरहेका छौं तर रिक्त पदहरु पूर्ति हुनसके सेवाग्राहीलाई अझ सहज रुपबाट सेवा प्रदान गर्न सकिने थियो” प्रहरी नायव उपरिक्षक रामप्रसाद घर्तीमगरले भने । उनका अनुसार जिल्ला प्रहरी कार्यालय रोल्पा लगायत मातहतका इकाइहरुमा ४४ जनाको पद रिक्त रहेको छ । जस अन्तर्गत  प्रहरी निरिक्षक २ जना, प्रहरी सहायक निरिक्षक ३ जना, प्रहरी हवल्दार १८ जना र प्रहरी जवान २१ जना गरी ४४ जनाको पद रिक्त रहेको हो । 
 
यसैगरी जिल्ला स्वास्थ्य कार्यालय रोल्पामा जनस्वास्थ्य अधिकृत १ जना, मेडिकल रेकर्डर १ जना, प्यारामेडिक्स १२ जना र कार्यालय सहयोगी ४ जना गरी जम्मा १८ जना कर्मचारीहरुको पद रिक्त रहेको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख डा.भवानीप्रसाद शर्माले जानकारी दिए । 
 
यस्तै जिल्ला कृषि विकास कार्यालय रोल्पामा वागवानी बिकास अधिकृत १ जना, योजना अधिकृत २ जना, प्राविधिक सहायक ५ जना, नायव प्राविधिक सहायक ३ जना र कार्यालय सहयोगी ३ जना गरी जम्मा १४ जनाको पद रिक्त रहेको कार्यालयका प्राविधिक सहायक महेन्द्र पुनले जानकारी दिए । 
 
यसैगरी जिल्ला शिक्षा कार्यालय रोल्पामा शाखा अधिकृत २ जना, विद्यालय निरिक्षक ४ जना, लेखा अधिकृत १ जना, प्राविधिक सहायक ३ जना गरी जम्मा १० जनाको पद रिक्त रहेको जिल्ला शिक्षा अधिकारी चिरञ्जिवि पौडेलले जानकारी दिए। 
 
त्यसैगरी जिल्ला विकास समितिको कार्यालय रोल्पा र मातहतका गाविसका कार्यालयहरुमा पनि करिव १ वर्षदेखि योजना अनुगमन तथा प्रशासकीय अधिकृत १ जना सहित अन्य ७ जना गाविस सचिवहरुको पद रिक्त रहेको स्थानीय विकास अधिकारी सुशील बैद्यले जानकारी दिए । 
 
यस्तै जिल्ला वन कार्यालय रोल्पामा फरेस्टर ४ जना, खरिदार १ जना, वन रक्षक २ जना र सहायक वन अधिकृत ३ जना गरी १० जनाको पद रिक्त रहेको जिल्ला वन कार्यालय रोल्पाका निमित्त जिल्ला वन अधिकृत भीमबहादुर कालिकोटेले जानकारी दिए । 
 
जिल्ला पशुसेवा कार्यालय रोल्पामा अधिकृत १ जना, नायव पशुसेवा तथा नायव पशु स्वास्थ्य प्राविधिक ६ जना गरी जम्मा ७ जनाको पद रिक्त रहेको जिल्ला पशु सेवा कार्यालय रोल्पाका कार्यालय प्रमुख नन्दलाल चौधरीले जानकारी दिए । 
 
जिल्ला प्राविधिक कार्यालय रोल्पामा इन्जिनियर २ जना, असिस्टेन्ट इन्जिनियर २ जना र कम्प्यूटर अप्रेटर गरी ५ जनाको पद रिक्त रहेको छ । यस्तै खानेपानी तथा सरसफाइ सब डिभिजन कार्यालय रोल्पामा खापासटे ३ जनाको पद रिक्त रहेको कार्यालयका सब डिभिजन प्रमुख मोहनबहादुर कुँवरले जानकारी दिए । 
 
यसैगरी जिल्ला भूसंरक्षण कार्यालय रोल्पामा भूसंरक्षक सहायक २ जनाको पद रिक्त रहेको कार्यालय प्रमुख प्रदिपकुमार मिश्रले जानकारी दिए । यी बाहेक अन्य धेरै कार्यालयहरुमा पनि दरबन्दी अनुसार पदपूर्ति हुन सकिरहेको छैन । सभामुख, उपराष्टपति तथा उपप्रधानमन्त्रीको जिल्लाका कार्यालयहरुमा यस्तो अवस्था छ भने अन्य जिल्लाको अवस्था कस्तो होला सेवाग्रहीहरुको प्रश्न छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ