arrow

रिवन काट्ने कार्यक्रममा जान्न भनेका प्रधानमन्त्रीले गरे भवनको उद्घाटन

२०७४ माघ सम्ममा तीनै तहको निर्वाचन हुन्छ

logo
प्रकाशित २०७३ असोज १२ बुधबार
pm-g-new-citawan.jpeg
चितवन । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सहमति जुटाएर संविधान कार्यान्वयनको पक्षमा सरकार दृढ सङ्कल्पका साथ अगाडि बढ्ने बताएका छन् ।
 
जिल्ला प्रशासन कार्यालय चितवनको नवनिर्मित भवनको उद्घाटन गर्दै दाहालले भजे, ‘वर्तमान सरकारको मुख्य जिम्मेवारी नै संविधान कार्यान्वयन गर्नु हो ।’
 
प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयनका क्रममा राष्ट्रिय सहमति गरेर चैत मसान्तभित्र स्थानीय निकायको निर्वाचन र ०७४ माघ सम्ममा तीनै तहको निर्वाचन सम्पन्न गर्ने बताए ।  
 
सरकार अहिले इतिहासको मौलिक कालखण्डबाट अघि बढिरहेको चर्चा गर्दै दाहालले भने, ‘हामीसँग अवसर र चुनौती दुबै छन्, यसको बीचमा बसेर काम गर्नुपर्ने अवस्था छ ।’ 
 
प्रधानमन्त्री दाहालले ठूलो बलिदानीबाट प्राप्त संविधान कार्यान्वयन गर्ने कार्यभार सबैको सामु आफूले पाएको भन्दै “यो काम पहिलो प्राथमिकता हो, जसका लागि असन्तुष्ट पक्षलाई पनि समेटेर सरकारले काम गर्छ, यसमा सफलता मिलिरहेको छ भने ।’
 
उच्च अदालत गठन, इलाकाका आधारमा स्थानीय निकायको सीमाङ्कन लगायतका विषयमा भएका सहमति र उपलब्धि महत्वपूर्ण भएको भन्दै उहाँले क्रमशः संविधान कार्यान्वयनको पक्षमा असन्तुष्ट पक्षसँग सहमति हुँदै जाने बताए । 
 
प्रधानमन्त्रीले सरकारको दोस्रो महत्वपूर्ण र प्राथमिकताको विषय पुनःनिर्माण भएको बताउँदै ४५ दिनमा भएको प्रगतिको समीक्षा गरेर सरकार अघि बढेको छ भने । 
 
आफू प्रधानमन्त्री भएसँगै गरिबका निम्ति सरकारले कार्यक्रम अगाडि बढाएको भन्दै दाहालले यो कार्यक्रमले विपन्न जनतालाई लक्षित गर्ने र उनीहरुको सरकारसम्म पहुँच स्थापित गर्ने बताए । 
 
प्रधानमन्त्री दाहालले नेपाली जनताले अब सरकारको अनुभूति गरेर लाभ लिनसक्ने बताउँदै आफू पहिलो पटक प्रधानमन्त्री हुँदा चाहे जति काम गर्न नसकेको तर दोस्रो पटक अहिले भने जनताले देख्ने र परिणाम आउने गरी काम गर्ने विश्वास गरे । 
 
सम्भावना र चुनौतीका बीचमा रहेर गरिने काम जनताका पक्षमा हुनेमा प्रधानमन्त्री दाहालको जोड छ । प्रधानमन्त्रीले चुस्त दुरुस्त ढङ्गबाट जनताका काम सम्पादन गर्न प्रशासन कार्यालय व्यवस्थित हुनु आवश्यक रहेको बताउँदै त्यो चितवनमा परिपूर्ति हुने छ भने । 
 
आफूले नागरिकता बनाएको स्मरण गर्दै दाहालले त्यतिबेला आफूले जुन ढङ्गले दुःख पाएको थिएँ, त्यो अब यहाँका जनताले पाउन नपर्ने बताए । दाहालले भने, ‘मैले नागरिकता बनाउन पाएको झमेला अहिलेपनि सम्झिरहेको छु ।ँ 
 
चितवन देशभरका जिल्लाबाट बसाइसराइँ गरेर आएको बस्नेको जिल्ला भएको भन्दै दाहालले चितवनलाई हाईब्रिड जिल्लाको संज्ञा दिए । 
 
यो भवन बनेसँगै अब जिल्लामा विकासको गतिले तीव्रता पाउनेमा प्रधानमन्त्रीले विश्वास गरे । 
 
छिमेकी दुई देशसँग प्रगाढ सम्बन्ध 
प्रधानमन्त्री दाहालले भारत भ्रमण आशातित सफल भएको बताए । छिमेकी दुबै देशसँग राम्रो सम्बन्ध कायम गर्न आफू लागिपरेको बताउँदै दाहालले भारत भ्रमणका क्रममा विश्वासको नयाँ आधार खडा भएको छ भने । 
 
प्रधानमन्त्री दाहालले यस अघि गर्ने भनिएका विकास निर्माणका काम अगाडि बढाउन भारत सकारात्मक रहेको बताउँदै आफ्नो भ्रमणले नेपाली र भारतीय जनताबीचमा नयाँ सम्बन्धको वातावरण र नयाँ आयाम सुरु भएको सुनाए । 
 
यसले आर्थिक समृद्धि र विकासका लागि बाटो खुलेको पनि प्रधानमन्त्रीले बताए । विसं २०६९ मा निर्माण थालिएको नवनिर्मित सो भवन पाँच करोड ६३ लाखको लागतमा निर्माण सम्पन्न गरिएको हो । 
 
निर्माण प्रतिवेदन पेस गर्दै प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले तीन तले सो भवन २१ हजार वर्गफिट क्षेत्रमा फैलिएको बताए ।  २७ वटा कोठा रहेको सो भवनमा शौचालय, खानेपानी, मोबाइल चार्ज गर्ने ठाउँ, सेवाग्राही बस्ने ठाउँ, सिसी क्यामरालगायतका सुविधा रहेको प्रजिअ सिंहले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ