arrow

चुल्होसँग चेलीको मितेरी : ६ वर्षकी कृष्णालाई चुल्हो नै पाठशाला !

logo
कर्ण चन्द,
प्रकाशित २०७३ असोज १२ बुधबार
Krishna-Rawal.jpeg
डोटी । डोटीको धिर्कामाण्डौं गाविस –५ की कृष्णा रावल ६ वर्षकी भइन् । उनी गाउँकै दर्जाकोट माध्यामिक विद्यालय धिर्कामाण्डौंमा कक्षा २ मा अध्ययनरत छिन् ।
 
कृष्णा विहान साढे ६ बजे नै उठी सक्छिन् । विहान उठेलगत्तै चुल्होमा व्यस्थ हुन्छिन् । ता कि उनी नै घर मूली हुन् । र, भान्से पनि ! कृष्णाले भनिन् ‘ विहानै उठ्छु पानी भर्छु, घाँस काट्छु, खाना बनाउँछु त्यसपछि मात्रै स्कुल जान्छु । बेलुका स्कुलबाट आउँछु । फेरि खाना बनाउन थाल्छु ।’ सिक्ने र पढ्ने उनको समय घर धन्दामै वितिरहेको छ । यी चिचिलाले मुलुक हाँक्ने सामथ्र्य कहिले बनाउन सक्ने ? 
 
कृष्णाले थपिन्, ‘आमा विहानै देखि बेलुकासम्म खेतवारीमा काम गर्न जानुहुन्छ बुबा नोकरीका लागि भारतको पञ्जाव पुग्नु भएको छ । सधैं म आफैं खाना  बनाउँछु । कृष्णा एक प्रतिनिधि पात्र हुन् । धिर्कामाण्डौं –४ की ९ वर्षकी पार्वती बमको कथा पनि उस्तै छ । पार्वती  पनि विहानै देखि घर, चुल्हो चौकाको काममा व्यस्त हुन्छिन् । 
 
 
कक्षा ६ मा पढ्ने पार्वतीले बोल्नै मानिन् । मुस्कीलले बोलेकी उनले भनिन्, ‘हामी छोरी मान्छेले सबै काम सिक्नु पर्छ, चुल्हो चौकाको काम जान्नै पर्छ भन्छन् । स्कुल दिउँसो मात्रै जाने हो भन्छन् सबैले ।’ कृष्णा र पार्वती मात्रै होइन गाविसका अधिकांश कलिला छोरीहरु विहानै घाँसपात र चुल्हो चौकामा व्यस्त हुन्छन् । ता कि उनीहरु नै घर मूली वा गृहिणी ! र, चुल्हो नै उनीहरुको पाठशाला ।  
 
छोरीहरु घरधन्दाका काममा व्यस्त भए पनि छोराहरु भने फुर्सदिला देखिन्छन् ।  धिर्कामाडौं गाविस–४ का ११ वर्षिय ईश्वर कठायत भने काठको घोडा माथी चढेर रमाईलो गरी रहेका थिए । ईश्वर मात्रै होइन अन्य बालकहरु पनि खेल्न रमाउन मै व्यस्त थिए । 
 
 
ता कि उनीहरु पढिरहेका पनि थिएनन् । छोरीहरु सानै देखि घरको सारा कामको जिम्मेवारी बोक्ने गर्दछन् । उनीहरुले खेल्ने वा फर्सदिलो हुने दिन अपवाद बाहेक जीवनको अन्तिम समय सम्म पनि आउँदैन । चुल्होको काममा व्यस्त हुनुलाई छोरी पनि आफ्नो जिम्मेवारी र गर्नै पर्ने काम सम्झन्छन् ।
 
छोरीहरुले सबै कुरा जान्न आवश्यक रहेको गगुडा गाविसका डम्मरा चन्द बताउँछिन् । डम्मरा भन्छिन् ‘छोरीहरुले जान्नै पर्ने काम मध्येको एक महत्पूर्ण काम हो । चुल्हो चौकाको काम पनि हो अन्य काममा पनि छोरीलाई सहभागि गराउने गरेका छौं ।’
 
घरधन्दामा व्यस्त हुने छोरीहरुको विद्यालयमा पनि नियमित उपस्थिति समेत कम हुने गरेको छ । भोलि पराई घर गए छोरीले घरयासी कामकै कारण दुव्र्यवहार सहन नपरोस् भन्ने बाबु आमाको सोझो बुझाई हो । समाज पनि सोही परिवेशबाट प्रशिक्षित हुँदै आएको छ । यद्यपि, शिक्षा दिक्षा पाए छोरीहरु मुलुक हाँक्न सक्छन् भन्ने चेतना आउन यो समाजलाई अझै समय लाग्ने छ ।   
 
विहान र बेलुकी चुल्हो चौकामा व्यस्त हुने भएका कारण विद्यालयमा पनि छात्राले गृहकार्य कम गर्ने गरेको दर्जाकोट माध्यामिक विद्यालयका शिक्षक टेकबहादुर बोहराले बताए । 
 
बोहराले भने, ‘छोराहरुको तुलनामा छोरीहरुलाई धेरै काम हुन्छ । घरमा काम गर्ने भएकाले गृहकार्य गरेर ल्याउन पनि सम्भव भएन ।’ बोहराले थपे ‘हाम्रो समाज नै त्यस्तै छ । दिउँसो भरी विद्यालयमा जति सिक्छन् त्यही हो शिक्षा ।
 
साँझ र विहान कामकै चटारोले उनीहरु एक पटक सिकेका कुराहरुलाई होस्रो पटक अभ्यासमा ल्याउन भ्याउँदैनन् । जसले विद्यालय तहको सिकाई प्रभावकारी र उत्पादनमूलक हुन सक्दैन । अभिभावकले घरकै काम गरिदियोस् भन्ने चाहन्छन् ।  छोरीहरु पनि त्यो नर्कान सक्दैन । उनीहरुको वाध्यता बनिसकेको छ ।’
 
छात्रहरुको तुलनामा छात्राहरुको सिकाई कम गुणस्तरको छ, डोटीको जिल्ला शिक्षा अधिकारी बसन्त कुमार खत्रीले भने, ‘डोटीका सामुदायिक विद्यालयमा छात्रहरुको तुलनामा छात्राको सिकाई उपलब्धि कम छ । हामीले पढाई भन्दा पनि सिकाईलाई महत्वपूर्ण मान्ने गरेका छौं ।’ तर, अपवाद बाहेक त्यसो हुन सकेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ