arrow

उपनिर्वाचनको उम्मेदवारी दर्ताको समय नजिकिँदै, यस्तो छ समीकरण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १५ बुधबार
upanirwachan-2080-election.jpg
तस्बिर – फाइल ।

काठमाडौं । आगामी बैशाख १० गते हुने उपनिर्वाचनमा मनोनयन गर्ने दिन नजिक आएसँगै प्रमुख दलहरुबीच कसलाई उम्मेदवार बनाउने भन्नेबारेमा छलफल शुरु भएको छ । 

नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा, जनता समाजवादी पार्टी जसपा, लोकतान्त्रिक समाजवादी पार्टी लोसपा, जनमत पार्टीले यो निर्वाचनमा भाग लिने भएकाले ती दलभित्र तीव्र छलफल शुरु भएको हो । 

एमालेले भने तीन वटै क्षेत्रको उपनिर्वाचनमा गठबन्धन नगर्ने भएको छ । वैशाख १० गते चितवन २, बारा २ र तनहुँ १ मा प्रतिनिधि सभा सदस्य पदमा उपनिर्वाचन हुँदा एमालेले एकल उम्मेदवार उठाउने भएको हो । 

चितवन–२ मा रास्वपा सभापति रवि लामिछाने नागरिकता प्रकरणमा मुछिएपछि पद गुम्दा खाली भएको थियो भने तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ का रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि खाली हुन पुगेको हो । 

चितवनमा रास्वपाकै सभापति रवि लामिछानेको उम्मेदवारी पक्कापक्की भएको छ । तनहुँ र बारामा कसलाई उठाउने भन्ने बारेमा रास्वपाले उम्मेदवारको खोजी गरिरहेको छ । 

उपनिर्वाचन हुने तीन वटै निर्वाचनमा एमालेले आफ्नै उम्मेदवार उठाउने र गठबन्धन नगर्ने गरी तयारी थालेको छ । 

तीन वटै उपनिर्वाचनका लागि उम्मेदवार छान्न पार्टी कमिटीका तल्लो तहलाई निर्देशन दिइसकेको छ ।  

चैत २० गते उम्मेदवारी दर्ताको समय तोकिएकाले १९ गतेभित्र टुङ्गो लगाउने गरी सिफारिस गर्न निर्देशन दिएको हो । 

विधानत उम्मेदवार छान्दा जिल्ला हुँदै प्रदेश कमिटीमार्फत प्रस्ताव माग्ने र  त्यसका लागि तत् कमिटीलाई उम्मेदवार सिफारिस गरेर पठाउन निर्देशन गइसकेको छ । 

जिल्ला र प्रदेशबाट सिफारिस भएर आएकालाई केन्द्रले उम्मेदवार तोक्ने भएकाले चितवन, बारा र तनहुँमा एमालेले कसलाई उठाउँदैछ भन्ने अझै अन्यौल रहेको छ । 

एमाले नेताहरूका अनुसार चितवनमा मंसिरमा निर्वाचन लडेर पराजित भएका कृष्णभक्त पोखरेल, बागमती प्रदेश सभामा पराजित देवी ज्ञवाली र एमाले जिल्ला अध्यक्षसमेत रहेका र स्थानीय तह निर्वाचनमा भरतपुर महानगरमा रेणुु दाहालसँग पराजित भएका विजय सुवेदीमध्ये एक जनालाई उम्मेदवार बनाउने तयारी गरेको स्रोतको दाबी छ । 

मंसिरको निर्वाचनमा चितवन २ मा रवि लामिछाने ४९ हजार ३०० मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८८ र एमालेका कृष्णभक्त पोखरेल १४ हजार ६५२ मत ल्याएका थिए । 

सो क्षेत्रमा राप्रपाका रवीन अधिकारीले ९५५ मत ल्याएका थिए । सो क्षेत्र एमालेको पकड मानिए पनि गएको निर्वाचनमा रवि लामिछानेले प्रतिस्पर्धीभन्दा तेब्बर मत बढीले चुनाव जितेका थिए । अहिले उनी आपैmँ सो क्षेत्रमा निर्वाचनको तयारी गरिरहेका छन् । 

बारा २ मा भने गत निर्वाचनमा एमालेले उम्मेदवार उठाएको थिएन । एमालेले हालका उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई नै सहयोग गरेको थियो । 

सो क्षेत्रबाट जसपाका यादव १३ हजार ८२२ मतसहित निर्वाचित भएका थिए । सो क्षेत्रमा माओवादी केन्द्रका शिवप्रसाद कुशवाहाले १३ हजार ४६८ र स्वतन्त्र उम्मेदवारहरू रामकिशोर यादवले ११ हजार ४३, रवीन्द्रप्रसाद यादवले १० हजार ७५०, अरुणकुमार ज्ञवालीले ७ हजार ६९८, जनमतका राजेश साहले २ हजार ७२५ र नागरिक उन्मुक्तिका तेजबहादुर भगतले १ हजार १११ मत ल्याएका थिए । 

एमाले भने मधेसवादी दलहरुबीच आएको विवादलाई क्यास गरेर आफ्नो उम्मेदवार जिताउने प्रयासमा लाग्ने जनाएको छ  । 

त्यस्तै तनहुँमा सो पार्टीले किरण गुरुङ र सर्वेन्द्र खनालमध्ये एकलाई  उम्मेदवार बनाउने तयारी गरेको छ  । खनालले पार्टीले निर्णय गरे आफू पछि नहट्नेसमेत बताउँदै आएका छन् । 

खनाल गत मंसिरको निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ मा उम्मेदवार बनेका थिए । गृह जिल्ला तनहुँ भएका खनाल मंसिरको निर्वाचनमा पनि तनहुँबाटै निर्वाचन लड्न चाहन्थे । 

तर पार्टीले त्यसबेला एकबहादुर राना मगरलाई उठाएको थियो । उनले १९ हजार ९८१ मत ल्याएका थिए । त्यस्तै स्वतन्त्र उम्मेदवार  गोविन्दराज जोशीले ६ हजार ८८६, रास्वपाका विकास सिग्देलले ६ हजार ४४ र राप्रपाका विनोदकुमार घर्तीले २ हजार ४८४ सय मत ल्याएका थिए । 

अहिले सो क्षेत्रमा नेपाली कांग्रेसबाट गोविन्द भट्टराई उम्मेदवार बन्ने सम्भावना बढी भएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ