सिन्धुली । राष्ट्रिय पुननिर्माण प्रधिकरणले निजी आवास निर्माणका लागि पहिलो किस्ताको रकम पचास हजार रुपैयाँ लिन आउदा सिन्धुली जिनाखु–३ का वर्ष ६५ का पृथ्बी बहादुर सुनुवारको हिड्दा हिड्दै वाटोमै मृत्यु भएको छ ।
भुकम्प गएको डेड वर्ष वितिसक्दा वल्लतल्ल वितरण गर्न लागिएको रकम लिन सदरमुकामनै आउनु पर्ने भएकोले वृद्ध सुनुवार मृत्युको मुखमा पुग्नु परेको छ । वर्षादका कारण सिन्धुली–चकमके सडक खण्ड अवरुद्ध भई यातायात सञ्चालन नभएकाले करिव ४५ कि.मि. कठिन पैदल यात्रा गर्नपरेको कारण सदरमुकाम आइपुग्न लाग्दा क.न.पा.७ बिष्णु धारामा वाटोमै ढलेर मृत्यु भएको हो ।
राहत वितरणमा सरकारको उदासिनताका कारण यस्ता कयौ घटना घट्न सक्ने अनुमान गर्न सकिन्छ । पिडितहरुलाई राहत गाउँगाउँमै लगेर वितरण गरिदिएको भए यसरी अनाहकमा कुनै पिडितले ज्यान गुमाउनु पर्ने थिएन ।
मृतक सुनुवारको लास पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिन्धुली पठाईएको र घटनाको थप अनुसन्धान भईरहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक निर्मल पनेरुले जानकारी दिए ।