arrow

चरिकोट स्वास्थ्य केन्द्रको घटनाक्रमबारे छानविनका लागि स्वास्थ्यमन्त्रीले खटाए टोली

असुरक्षित रहेको भन्दै चिकित्सक सबै भागेर काठमाडौं

logo
प्रकाशित २०७३ असोज १३ बिहिबार
gagan-sign-padbhar.jpeg
काठमाडौं । केही दिन अघि दोलखाको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा एक बालकको मृत्यु भएको घटनालाई लिएर चिकित्सकमाथि भएको अमानवीय व्यवहार र घटनाको सत्य तथ्य बुझ्न स्वास्थ्य मन्त्रालयले तीन सदस्यीय टोली चरिकोट पठाएको छ । 
मध्यामाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशक रमेश विक्रम सिंहको संयोजकत्वमा तीन सदस्यीय टोली छानविनका लागि चरिकोट पुगेको हो । टोलीमा मन्त्रालयका उप–सचिव कृष्ण लम्साल र स्वास्थ्य सेवा विभागका शाखा अधिकृत दिपक रिजाल पनि छन् । 
 
घटनापछि स्थानीयले सार्वजनिक स्थलमै आफुहरुलाई अमानवीय रुपमा माफि माग्न लगाएको र यातनापूर्ण दुर्व्यवहार गरेको भन्दै सबै चिकित्सक स्वास्थ्य केन्द्र छोडेर काठमाडौं आएका थिए । चिकित्सकको सुरक्षाको विषय समेत उठेको भन्दै गृहले समेत सह–सचिवको नेतृत्वमा टोली पठाएको छ । 
 
चिकित्सकहरुले मन्त्रालयमा निवदेन नै दिएको स्वास्थ्य मन्त्री गगन थापाका सल्लाहकार प्रताव पौडेलले बताए । पौडेलले भने, ‘टोलीले ३ दिनभित्र छानविन प्रतिवेदन बुझाउने छ ।’ चरिकोट प्राथमिक स्वास्थ्य केन्द्रमा एक बालकको मृत्युको विषयलाई लिएर तनाव भएपछि चिकित्सक बस्ने अवस्था नरहेको भागेर सबै काठमाडौं आएको उनले बताए । 
 
स्वास्थ्यमन्त्रीले यस विषयमा मन्त्रिपरिषद् बैठकमा समेत कुरा राख्नु भएको छ, पौडेलले भने, ‘बैठकमा मन्त्री ज्यूले चरिकोटको विषय मात्र नभई सबै अस्पतालमा विरामीले पाउनु पर्ने सेवा र व्यवहार तथा चिकित्सकको सुरक्षाको विषयमा कुरा गर्नु भएको छ ।’
 
जसका लागि कानून संशोधन गर्नु पर्ने भएपनि मन्त्रालयले पहल गर्ने विषयमा स्वास्थ्यमन्त्री दृढ हुनुहुन्छ । स्वास्थ्य क्षेत्रका समस्या समाधानका लागि मन्त्री थापाले प्रधानमन्त्री र सम्बन्धित मन्त्रीसंग छुट्टा–छुट्टै छलफल समेत गर्नु भएको छ । चरिकोटको आवश्यक काम कारबाहीका लागि स्वास्थ्य मन्त्रालयले गृहमन्त्रालयमा पत्र समेत पठाएको उनले बताए । 
 
केही दिन अघि चरिकोट प्राथमिक स्वास्थ्य केन्द्रमा साढे २ वर्षका महादेव रिजालको उपचारका क्रममा निधन भएपछि आफन्तले चिकित्सकहरुलाई अमानवीय व्यवहारमा माफि माग्न लगाएका थिए । स्थानीयले आफुहरुले माफि मागेको भिडियो खिचेर सामाजिक संजालमा पोष्ट गरी चरित्र हत्या गरेको चिकित्सकहरुको दुःखेसो छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ