काठमाडौं । यातायात व्यवसायीले दशैंको मुखमा गाडीको अभाव सिर्जना गरी क्षमताभन्दा बढी यात्रु बोक्न पाउनुपर्ने भनि राखेको मागलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले गैर जिम्मेवारीको हद भनेका छन् ।
मन्त्रि लेखकले हाम्राकुरासंग भने, ‘हो वुधबार व्यवसायीहरु म कहाँ आउनु भएको थियो । क्षमताभन्दा बढी यात्रु बोक्न नदिने सरकारको निर्णय र नियम नमान्ने कुरा गर्नु भयो । मैले कुनै पनि हालतमा तपाईहरुको दादागिरी चल्दैन । हुँदै हुँदैन भनेको छुँ ।’
व्यवसायीले तपाईलाई कि क्षमता भन्दा बढी यात्रु हाल्न दिनुस् कि सित्तैमा इन्धन दिनुस् भनेकै हुन् नि हैन ? जवाफमा मन्त्री लेखकले भने, ‘हेर्नुस् नियम भन्दा बाहिरको कुरा कसैले गर्छ भने त्यसलाई सरकारले कुनै पनि हालतमा स्वीकार गर्दैन ।
त्यस्तो पनि कहीँ कुरा हुन्छ । हामी आफैले बनाएको नियम भत्काउन सक्दैनौं ।’ अनि उहाँहरुले दशैंमा गाडी संचालन गर्नु हुन्छ त ? लेखकले भने, ‘सेवामा पनि राजनीति गर्न खोज्नु उहाँहरुकै लागि घाटा हो । उहाँहरुले गाडी चलाउनु हुँन्छ ।’
वुधबार सिंहदरबार पुगेर मन्त्री लेखकलाई नै व्यवसायीहरुले गाडीको सिट संख्याभन्दा बढी यात्रु बोक्न नपाउने भए आफूहरूलाई सित्तैमा इन्धन दिन माग राखेका थिए ।
यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भने आफुहरुले मन्त्रीसंग कुरा गरिरहेको र विषय चाँडै टुंगिने बताए । क्षमता भन्दा बढी यात्रु र बाटोको अव्यवस्थाले दैनिक दुर्घटना भइरहेकामा तपाईहरुले सिट क्षमता भन्दा बढी यात्रु बोक्न पाउनु पर्छ भन्नु, सोझै हामी मान्छे मार्छौं भन्नु जस्तै होइन र ? जवाफमा सिटौलाले भने, ‘होइनमा हामीले त्यसरी भनेका होइनौं ।
सरकारले बाटो सुधार गरेर गाडी चल्ने सम्मको बनाइदिनु पर्ने र दशैंको बेला विभिन्न नियम लगाएर दुःख दिन खोज्नु भएन भन्ने हाम्रो भनाई हो । हामी छलफलमा छौं ।’ कुरा मिलाएर यात्रा सहज बनाउँछौं । अग्रिम टिकट नै बन्द गरिदिनु भो, यो भन्दा दुर्भाग्य के हुन सक्ला ? उनले भने, ‘होइन टिक बुकिङ चलिरहेको छ । बन्द गरेका छैंनौ । यसबारे थप कुरा पछि गरौंला ।’ उनले टेलिफोन राखे ।
सिटौलाले आफूहरूका माग पूरा नभए दशैंमा थप गाडी नचलाउने भन्दै व्यवसायीले दशैंको अग्रिम टिकट बुकिङ पनि बन्द गरेका र अहिलेको अवस्थामा थप गाडी चलाउन सडकको स्तरोन्नति नभएकाले अग्रिम टिकट काट्न स्थगित गरिएका बताएका थिए ।
व्यवसायीले सिट क्षमताभन्दा कम्तीमा पनि २० बढी यात्रु बोक्न पाउनुपर्ने माग सरकारसँग गरेका छन् ।
अर्को सर्वोच्च महासंघको भनाई यस्तो छ ?
नेपाल राष्ट्रिय यातायात व्यवसायी सर्वोच्च महासंघले सरकारले आफ्नो महासंघलाई यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, यातायात कार्यालयमा यातायातसम्बन्धी व्यवस्थापन बैठकमा बोलाउनुपर्ने माग गरेको छ ।
विहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर महासंघले नेपालमा सर्वाजनिक यातायात क्षेत्रमा स्वस्थ प्रतिष्पर्धामा खरो उत्रिने आफ्नो महासंघलाई यातायात क्षेत्रको व्यवस्थाको लागि आयोजना गरिने कुनैपनि बैठक तथा छलफलमा नबोलाएकोमा आपत्ति जनाउँदै आगामी दिनमा आफ्नो महासंघलाई पनि बोलाउनुपर्ने माग राखेको हो । यद्यपि, यो महासंघमा रहेकाहरुसंग गाडी पर्याप्त छैनन् ।
महासंघका अध्यक्ष विष्णु सिवाकोटीले महासंघलाई सरकार पक्षले सबै खाले बैठकमा सहभागी गराउनुपर्ने माग गर्दै आफुहरुलाई समेत यातायात क्षेत्रको व्यवस्थापकीय बैठकमा बोलाउनुपर्ने र आफुहरुलाई वेवास्ता गरिए कडा रुपमा प्रस्तुत हुने चेतावनी दिए ।