arrow

उपनिर्वाचनका लागि आज तीन वटै क्षेत्रमा उम्मेदवारी दर्ता 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २० सोमबार
upanirwachan-2080-election.jpg

काठमाडौं । आगामी बैशाख १० गते मा हुन गइरहेको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ ।
 
निर्वाचन आयोगका अनुसार चितवन–२, तनहुँ–१ र बारा–२ मा बैशाख १० मा हुन गइरहेको उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन पत्र दर्ता हुन गइरहेको हो । 

आयोगले यसअघि नै सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार सो उपनिर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर आ–आफ्नो उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नेछन् ।

गत मङ्सिर ४ गतेको निर्वाचनवाट निर्वाचित राष्टय स्वतन्त पार्टीका सभापति रवि लामिछाने नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि चितवन २ रिक्त हुन पुगेको थियो ।

यसैगरी नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि तनहुँ– १ र जसपाका सांसद  रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि बारा–२ रिक्त हुन पुगेको थियो । 

रिक्त रहेका तीन वटा निर्वाचन क्षेत्रमा आगामी बैशाख १० गते उपनिर्वाचन हुन लागेको हो । 

सो उपनिर्वाचन प्रयोजनका लागि शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ ।

आयोगको १० बुँदे निर्देशन
निर्वाचन आयोगले उम्मेदवारको मनोनयनपत्र दर्ता २५ जनाभन्दा बढी सहभागी नहुने लगायत १० बुँदे निर्देशन जारी गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गरी निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र पेश गर्न जाँदा उम्मेदवार, प्रस्तावक र समर्थकसहित बढीमा २५ जनाभन्दा बढीको जुलुस लिएर जान नहुने, बाजा, गाजा, झाँकी तथा निर्वाचन आचारसंहिता, २०७९ विपरीतका ब्यानर, चिह्न र झण्डासहित जान नहुने, उम्मेदवारको पहिचान झल्किने लोगो, टिका, चिह्न, टिसर्ट, ज्याकेट, कमिज, ब्याज, मास्क, लकेट, झोला, टोपी, गम्छा, ब्यानर, प्लेकार्ड प्रयोग गर्न नहुने निर्देशन दिइएको जनाए ।

मनोनयन गर्न जाँदा र मनोनयनस्थलमा उम्मेदवारको पक्षमा नारा–जुलुस, भाषण र प्रतिस्पर्धी लक्षित गालीगलौज र टीकाटिप्पणी नगर्ने नगराउने, उम्मेदवारको मनोनयनको समयमा सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्थाको वा अन्तर्गतको कुनै परियोजनाको स्रोतसाधन र सम्पत्ति प्रयोग गर्न नहुने, नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले तत् तत् हैसियतमा रही उम्मेदवारको मनोनयनमा सहभागी हुन नहुने, उम्मेदवारको मनोनयनका समयमा बालबालिकाको प्रयोग गर्न गराउन नहुने, मनोनयनका क्रममा संवैधानिक निकाय तथा सोका पदाधिकारीले कुनै राजनीतिक दल वा उम्मेदवारलाई आफ्नो सवारीसाधन वा अन्य सामग्री प्रयोग गर्न दिन नहुने जनाइएको छ ।

आयोगले हेलिकोप्टर प्रयोग गरी राजनीतिक दल वा उम्मेदवारले उम्मेदवारी मनोनयन गर्न जान नहुने नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहअन्तर्गत निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले उम्मेदवारी मनोनयनको क्रममा राजनीतिक दल वा उम्मेदवारसँग सहभागी हुन नहुने पनि स्पष्ट गरेको छ ।

निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ र निर्वाचन आचारसंहिता, २०७९ ले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त वातावरणमा सम्पन्न गर्नका लागि राजनीतिक दल, राजनीतिक दलका प्रतिनिधि र राजनीतिक दलका उम्मेदवारले पालना गर्नुपर्ने आवश्यक विषयका सम्बन्धमा कानुनी व्यवस्था रहेको छ । 

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ मा आयोगले संविधान र प्रचलित कानूनको अधिनमा रही दलले गर्ने काम कारबाही सञ्चालन गर्दा पालना गर्नुपर्ने विषयका सम्बन्धमा आवश्यक निर्देशन दिन सक्नेछ र सोही दफाको उपदफा ९२० मा उपदफा ९१० बमोजिमको निर्देशन पालना गर्नु प्रत्येक दलको कर्तव्य हुनेछ भन्ने कानूनी व्यवस्था रहेको छ ।

 उपनिर्वाचनलाई, स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन उम्मेदवारको मनोनयनको समयमा उम्मेदवार र राजनीतिक दलले देहाय बमोजिमका काम कारबाही नगर्न नगराउन राजनीतिक दल र उम्मेदवारलाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम निर्वाचन आयोगले निर्देशन दिने निर्णय गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ