arrow

बडा दशैंको पहिलो दिन घटस्थापना , जमरा राख्ने यस्तो छ विधि

logo
डा. प्रकाश ढकाल,
प्रकाशित २०७३ असोज १५ शनिबार
Dashain_nawaratri.jpeg
 
 
काठमाडौं । बडा दशैं नेपालीहरूको प्रमुख चार्ड हो । राष्ट्रिय चार्ड दशैँ (नवरात्र) हिन्दु धर्मावलम्बीहरुले आश्विन शुक्ल प्रतिपदादेखि नवमी सम्म शक्तिको आराधना गरी दशौं दिन बिहान दशमीका दिन टीका ग्रहण र विशेष रुपमा पूर्णिमासम्म प्रसाद ग्रहण गर्दै मनाउने गरिन्छ । 
 
आश्विन शुक्ल प्रतिपदा ९घटस्थापना०मा जमरा राखी नवमीसम्म नवरात्रीय विधिले प्रत्येक दिन फरक देवीहरूको पूजा हुन्छ्र । प्रतिपदादेखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायिनी, कालरात्री, महागौरी, सिद्धिदात्री गरी नवदुर्गाको पूजा गर्दै सप्तशती पाठ गरी महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष आराधना गरिन्छ । 
विजयादशमीको दिन भगवतीले दानवी शक्तिमाथी र रामले रावणमाथि विजय हासिल गरेको उपलक्ष्यमा नवदुर्गा भवानीको प्रसादस्वरुप रातो टीका र जमरा लगाउने चलन छ । आश्विन शुक्ल पक्षको दशमी यस पर्वको प्रमुख दिन हो । यसलाई असत्य माथि सत्यको विजयको रूपमा लिईन्छ । यसकारण यस दशमीलाई विजया दशमी भनिएको हो । 
 
वरपरका मानिसलाई समेत सजिलो होस् भन्ने हेतुले यो कार्य पूर्णिमा सम्म गरिन्छ । आफ्ना नाता कुटुम्ब ठूला बडा र मान्यजनबाट टीका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्ने गरिन्छ  । नयाँ कपडाहरू लगाउने, मिठो खाना खाने, घर आँगन, बाटोघाटो, गाँउ बस्ती सफासुग्घर राख्ने जस्ता काम यस चाडमा विशेष उत्साहका साथ गरिन्छ ।
 
घटस्थापना
देवीभागवत पुराणमा आश्विन शुक्लपक्षका नौ अहोरात्रलाई नवरात्र व्रत भनिएको छ्र । यस व्रतको दिनहरूमा निश्चित तिथीमूलक देवी देवताहरूको अनुष्ठान समेत हुने भएकाले नवरात्रका दिनहरूलाई घटाउन वा बढाउन मिल्दैन । 
प्रतिपदाको दिनलाई घटस्थापना भनिन्छ । यसै दिनदेखि नवरात्रि आरम्भ हुन्छ । 
 
यस दिन झिसमिसे बिहानी मै आत्मशुद्धि पश्चात् नदी, खोला, बगर वा आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा अथवा माटो ल्याई  पूजाकोठामा राखी जमराका लागि जौ अथवा गाउघरमा चलिआएको अन्न छरिन्छ । 
 
जौ अथवा अन्नलाई वैदिक यज्ञको लागि अत्यावश्यक वस्तु मानिन्छ । गहुँ तथा जौको अंकुर लगाउनाले सुख, शान्ति, समृद्धि र स्वास्थ्य लाभ हुने शास्त्रीय मान्यता छ । वनौषधिविज्ञहरूका अनुसार जौका जमरालाई महौषधि भनिन्छ । निधारमा विजयादेवीको प्रसादस्वरूप टीका लगाएर जमरा शिरमा राख्यो भने शिरको पीडा, मानसिक अशान्तिबाट बच्न सकिन्छ । जमराबाट शीतलता एवं नूतनको प्रतिक हो । 
 
अंकुरित अन्नबाट भिटामिन, प्रोटिन, क्याल्सियम आदि प्राप्त हुन्छ । स्वास्थ्यको लागि अति उत्तम मानिन्छ । माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्ने गरिएको हो । 
त्यस स्थानको नजिकै  जलपूर्ण घडा (कलश)को वरिपरि नौवटा देवीको स्वरूपको प्रतिमूर्ति मानी पूजा गरिन्छ । 
 
अनि जलपूर्ण कलशमा पञ्चपल्लव चढाई अनन्त शक्तिस्वरूपा महाकाली (संहार), महालक्ष्मी(सुरक्षा) र महासरस्वती (सृष्टि)को पञ्चोपचारले पूजा-आजा गरिन्छ । 
 
हाम्रो धर्म, संस्कृति अनुसार कलशमै सम्पूर्ण देवी देवता,सागर, सप्तद्वीप, सम्पूर्ण नदी एवं तीर्थहरू निहित हुन्छन् । यसका अतिरिक्त कलशमा अष्टमङ्गलका शुभ चिन्हहरूद्वारा पूजित भएको पाइन्छ ।  घट कलश स्थापना गरी त्यसमै सम्पूर्ण देवीदेवता, तीर्थ, पावनी नदी नाला, सप्त सागर, सप्त द्वीप आदि सबैलाई समाहित गरी दसैँ पूजाको थालनी गरिएको हो । 
 
यसै दिनदेखि नवमीसम्म प्रत्येक नेपालीहरूका घरघरमा र देवीका मन्दिरहरूमा पहिलो दिनकै बमोजिम भगवती दुर्गाको पूजा,आराधना र प्रार्थना गरिन्छ र शङ्ख, डमरू, घण्टी आदि बजाइ दुर्गासप्तशती ९चण्डी०, दुर्गा कवच, श्रीमद्देवीभागवत आदि पाठ पनि पढिन्छ । 
 
पूजा गरिसकेपछि प्रत्येक दिन बलि चाहिँ अनिवार्य दिनुपर्ने कुरा शास्त्रीय विधानमा उल्लेख गरिएको छ । श्रौतयज्ञानुसार पशु बलि र शाकाहारीहरूले प्रदान गर्ने नरिवल, ऊखु,कुभिण्डो आदि स्मार्तबलि गरि दुई प्रकारको हुन्छ ।  बलि प्रदान गरिसकेपछि यस दिनको कार्य समापन गरिन्छ ।
 
चैत्र शुक्ल एवं आश्विन शुक्लको प्रतिपदा तिथि वर्षका अत्यन्त शुभ तिथि हुन् । यी दिनहरूमा हिन्दुहरू नयाँ कार्य सुरु गर्दछन् । शस्त्रको पूजा गर्दछन् । प्राचीन कालमा राजाहरू यस दिन विजयको प्रार्थना गरेर रण(यात्राको लागि प्रस्थान गर्दथे । अहिले पनि भारतमा रामलीलाको आयोजना हुन्छ । रावणको विशाल पुतला बनाएर जलाईन्छ । 
 
विजयदशमी भगवान् रामको विजय अथवा दुर्गा पूजाको रूपमा मनाइएपनि  यो शक्तिपूजाको पर्व हो । शस्त्र पूजनको उपयुक्त तिथि पनि हो ।  हर्ष,  उल्लास तथा विजयको पर्व हो । हिन्दु संस्कृति वीरताको पूजक अनि शौर्यको उपासक हो । व्यक्ति र समाजको मनम मनमाा वीरता प्रकट होस् भन्ने ध्येयले दसैँको उत्सव (पर्व) सुरु भएको हो । 
 
दसैँ पर्वले दश प्रकारका पापहरू( काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य, अहङ्कार, आलस्य, हिंसा र स्तेय त्यागको प्रेरणा दिन्छ ।
 
सामाजिक महत्त्व
नेपाल कृषि प्रधान देश हुन्  । जब कृषक आफ्नो खेतमा सुनौलो बाली उमारेर अन्न रूपी सम्पत्ति घरमा ल्याउँछ । त्यतिबेला उसको खुसी एवं उमंगको सीमा हुँदैन । यस खुसीको अवसरमा भगवान्को कृपा मानेर कृतज्ञता प्रकट गर्न पूजा गर्दछ । 
 
दसैँ नेपालीहरूको सबैभन्दा विशेष पर्व मानिन्छ । नेपाली हिन्दु पात्रो अनुसार आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म दश दिन पूजापाठ, व्रत र उत्सवका साथ मनाइने चाड भएको हुनाले यसलाई दसैँ वा विजया दशमी का नामले पनि चिनिन्छ  । दसैँ आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु हुन्छ र यो पहिलो दिनलाई घटस्थापना भनिन्छ । 
 
दसैँ प्रतिपदा घटस्थापनादेखि पूर्णिमा (कोजाग्रत)सम्म पन्ध्र दिनको हुने भएता पनि पहिलो नौ दिनलाई नवरात्रि र दसौँ दिनलाई विजयादशमी  भनिन्छ । यो पर्वमा माता दुर्गाले महिषासुर,शुम्भादि दैत्यलाई तथा भगवान् श्री रामचन्द्रले रावणलाई वध गरेर मानवजातिको कल्याण गरेको मान्यता छ । प्रतिपदा (घटस्थापना), सप्तमी (फूलपाती), महाअष्टमी, (कालरात्रि), महानवमी, विजयादशमी,र पूर्णिमा(कोजाग्रत) दसैँका प्रमुख तिथिहरू हुन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ