arrow

समीकरण बदलिए पनि गण्डकी र लुम्बिनी प्रदेश छाड्न एमालेको आनाकानी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २७ सोमबार
uml-cpn.jpg
तस्बिर – फाइल ।

काठमाडौं । केन्द्रबाट बाहिरिएको नेकपा एमाले प्रदेशमा अझै हटिसकेको छैन । समीकरण बदलिँदासमेत एमालेले गण्डकी र लुम्बिनी प्रदेशमा अझै सत्ता गठबन्धनलाई सत्ता हस्तान्तरण गर्न आनाकानी गरिरहेको छ । दुवै प्रदेशमा एमाले अल्पमतमा परिसकेको भए पनि मुख्यमन्त्री खगराज अधिकारी र लिला गिरीले राजीनामा नदिइ असहज परिस्थिति बनाएका कारण सत्ता सत्ता गठबन्धन दल दुई प्रदेशमा सरकारविहीन भएका छन् । 

२७ पुसदेखि शुरु भएको कर्णाली प्रदेशमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको सत्ता सहकार्य आइतबारदेखि समाप्त भएको छ । आइतबार एमालेका तीन मन्त्रीले राजीनामा दिएसँगै एमाले–माओवादीबीचको सहकार्यमा पूर्णविराम लागेको छ । तर गण्डकी र लुम्बिनीमा यस्तो परिस्थिति बनेको छैन । 

गण्डकीमा पहिलो दल नेपाली कांग्रेसका २७, एमालेका २२, माओवादीका ८, राप्रपाका २ र नेकपा एकीकृत समाजवादीका एक जना सांसद छन् । तर एमालेमा अधिकारी मुख्यमन्त्री रहेका छन् । 

माओवादी र राप्रपाले यसअघि नै सरकार छाडिसकेका छन् । यहाँ कांग्रेसको नेतृत्वमा सरकार बन्नु पर्ने थियो । अहिलेसम्म बन्न सकेको छैन । 

यता लुम्बिनीमा एमालेसँग २९, कांग्रेससँग २७, माओवादीसँग १०, राप्रपा र नागरिक उन्मुक्तिसँग ४–४, जसपा र जनमतका ३–३ जना सांसद छन् । प्रदेशमा दोस्रो रहेको कांग्रेसले एमालेबाट सरकार खोस्न सकेको छैन । 

यहाँ गठबन्धन दलहरुको स्पष्ट बहुमत पुग्छ । लुम्बिनीमा माओवादी केन्द्रले पनि सरकारको नेतृत्व दाबी गरेको छ । प्रदेश सभाका १० दलमध्ये माओवादी केन्द्र १० सांसदसहित तेस्रो ठूलो दल हो । तर त्यहाँ कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउने प्रस्ताव गरिएको छ । 

यता कर्णालीमा एमाले १० पुसको समीकरण अनुसार २७ पुसमा माओवादी केन्द्र संसदीय दलका नेता राजकुमार शर्मालाई समर्थन गर्दै सरकारमा सहभागी भएको थियो । एमालेबाट विनोदकुमार शाहले २८ पुसमा मुख्यमन्त्री शर्मासँगै शपथ लिएर दलको प्रतिनिधित्व गरेका थिए । यद्यपि उनी ११ माघसम्म बिना विभागीय मन्त्री भएर बसे । ११ माघमा मात्रै मन्त्रीमण्डलले पूर्णता पाएको थियो ।

आइतबार एमालेका तर्फबाट मन्त्री बनेका आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाह, सामाजिक विकास मन्त्री टेकराज पछाई र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जीतबहादुर मल्ले राजीनामा दिएपछि त्यहाँ नयाँ सरकार बन्ने वा यही सरकारमा कांग्रेस सहभागी हुने बाटो खुलेको छ ।  

राष्ट्रिय राजनीतिमा चुनावी गठबन्धन ब्युँतिएसँगै मुख्यमन्त्री शर्माको सहजताका लागि राजीनामा दिएको एमालेले जनाएको छ । कर्णालीमा एमाले लोकप्रिय पार्टी रहे पनि सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गर्न सकिरहेको छैन । 

०७४ मा २० सिटसहित पहिलो दल बन्दासमेत नेतृत्वको अवसर नपाएको एमाले यो पटक १० सिटमा खुम्चियो । १० पुसमा एक खालको समीकरण बनेपछि सत्तामा जाने अवसर त प्राप्त गर्यो तर नेतृत्वको अवसर प्राप्त गरेन । 

उता मधेस प्रदेशबाट एमाले बाहिरिएको छ । उपनिर्वाचनमा जसपालाई असहयोग गरेको भन्ने भित्री अभियोगमा जसपामा मुख्यमन्त्रीले एमाले मन्त्रीहरुलाई निकाल्ने तयारी गरेपछि एमाले सरकारबाट बाहिरिएको हो ।

बागमतीमा एमाले बाहिरिइसकेको छ । बागमतीमा कांग्रेस सहभागी भएको छ । कांग्रेसबाट आइतबार बहादुरसिंह लामा र तीर्थबहादुर लामा मन्त्री बनेका छन् । 

कोशी प्रदेशमा भने एमाले बलियो रहेकाले त्यहाँबाट तत्कालै सरकार अर्कोतर्फ मोडिने संभावना निकै कम रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ