arrow

माझीहरु संकटमा : कम्तिमा प्राथमिक शिक्षा अनिवार्य माझी भाषामै पढाइयोस्

logo
राजन परियार,
प्रकाशित २०७३ असोज १५ शनिबार
maji-news-sindhuli.jpeg
सिन्धुली । आफ्नो छुट्टै भाषा, धर्म, सस्कार, संस्कृति र परम्परा भएको नेपालका प्रमुख आदिवासी जनजाती मध्ये माझी जाति पनि एक हो । तर आफ्नै खालका सस्कार संस्कृति भएपनि सो समुदाय संकटमा छ  । माझी समुदाय आफै र उसको पहिचान एवं संस्कृती ओझेलमा पर्दै गएको छ । 
 
आदिवासी जनजाती राष्ट्रिय उत्थान प्रतिष्ठानले गरेको वर्गीकरण अनुसार यो जाती अति सिमान्तकृत जनजाती भित्र पर्दछ । खोलाको किनारमा मात्र बसोबास गर्ने यो जातीको पुख्र्यौली पेशा भनेको माछा मार्ने, डुंगा चलाउने र खेती पातिको काम गर्ने हो । 
 
अहिले जिल्लामा पुख्र्यौली पेशामा आवद्ध माझी समुदायको संख्या अत्यन्तै न्यून रहेको माझी उत्थान संघका जिल्ला अध्यक्ष बविन्द्रलाल माझी बताउँछन् । उनीहरुको आफ्नै भाषा, धर्म, संस्कृति र परम्मरा भएपनि अहिले त्यो लोपहुँदै गएको छ । आफ्नो परम्परागत संस्कार र संस्कृतिको रक्षा गर्ने कुरामा माझी जाती स्वयं सचेत हुन जरुरी छ । राज्यले समेत उनीहरुको संरक्षणका लागि समयमै उचित कदम चाल्न आश्वयक छ । 
 
नेपाल सरकारको २०६८ सालको जनगणना अनुसार सिन्धुली जिल्लामा माझी जातीको जनसंख्या १२ हजार बढी रहेको छ । देशभरीको जनगणनाको अवस्था हेर्ने हो भने सिन्धुली जिल्ला नै माझी जातीको बाहुल्य भएको जिल्ला हो । 
 
सिन्धुली जिल्लामा ५३ वटा गाविसहरु मध्ये ३२ वटा गाविसमा माझी जातीको बसोबास छ । जिल्लाको अत्यधिक उर्वर भूमि मानिने मरिणखोला, कमलाखोला र सुनकोशी गढतिर क्षेत्रमा माझी जातीको बसोबास छ । 
 
माझी जाती आर्थिक, शैक्षिक, राजनीतिक हिसावले पछि परेको छ, माझीले भने, ‘खोलाको किनारमा बस्ने भएकाले खोलाले खेत बगाइदिँदा यी जातीका परीवारको आर्थिक अवस्था झन कमजोर हुँदै गएको छ ।’ 
 
माझी भाषा त झन नगण्य मान्छेहरुले मात्र बोल्ने हुँदा यो भाषा समेत लोप हँुदै गइरहेको छ । उनले भनेका छन्, ‘संरक्षण नहुने हो भने लोप नै हुन्छ । कम्तीमा पनि प्राथमिक शिक्षा अनिवार्य रुपमा माझी भाषामा नै पढ्न पाउनु पर्ने व्यवस्था गर्नु पर्छ ।’ यो विविधता नै नेपालको मौलिक पहिचान हो । माझीहरु आफूलाई तान्त्रिक धर्मालम्वी भन्ने गर्छन् । पूजाको लागि यिनीहरुको कुनै मन्दिर वा मान्छेले बनाएको मूर्ति हुँदैन । 
 
जंगल तथा खोलाको किनारमा अस्थायी रुपमा देव देवीहरुको प्रतिक बनाइएको विशेष पवित्र ठाउँ नै यो जातीको लागि पूजा गर्ने ठाउँ हो । पछिल्लो समय आधुनिकताको प्रभावले यिनीहरुको सांस्कृतिक जीवनशैली धराशायी बन्दै गएको छ ।
 
भाषाको लोप हुने क्रम एकदमै तीब्र हुँदै गइरहेको छ । त्यसैले सांस्कृतिक अतिक्रमण कम गरी समय सापेक्ष संस्कृतिको निर्माण तर्फ पाइला चाल्नु र माझी भाषाको संरक्षण गर्नु नै अहिलेको आवश्यकता भएको माझी समुदायका अगुवा सोमलाल माझी बताउँछन् ।
 
उनले भने, ‘सरकारको तर्फबाट गरिने विकासे गतिविधीले पारेको प्रभावको वास्तविक लेखा जोखाको भएको छैन । त्यस अनुरुप आर्थिक सहयोग उपलब्ध गराउन नसक्दा यो जाती झन झन गरिबीको दलदलमा फस्दै गइरहेको अवस्था छ । 
 
माझी जातीको उत्थान र सस्कृति संरक्षणमा क्रियाशील माझी उत्थान संघ सिन्धुलीले भने सिन्धुली जिल्ला भरीको माझी जातीको तथ्याङक संकलन र विश्लेषण गर्ने काम सुरु गरेको बताएको छ । 
 
स्थानीय स्तरमा केही गाविसहरुले माझी जातीको संस्कृतिको विकासको लागि केही खर्च गरेको भएपनि जिविस सिन्धुलीको तर्फबाट खर्च हुने बजेटमा खासै बजेट विनियोजन गरेको देखिँदैन ।
 
विगत २ वर्ष यता अहिले सम्म ३ लाख बढी बजेट विनियोजन हुन सकेको अवस्था छैन । त्यो पनि माझी जातिको उत्थान र संरक्षण भन्दा पनि अन्य योजनाका लागि विनियोजन गरिएको अगुवाहरुको भनाई छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ