काठमाडौं । देवीभागवतपुराणमा आश्विन शुक्लपक्षका नौ अहोरात्रलाई नवरात्रव्रत भनिएको छ्र । त्यसको दोस्रो दिन ब्रह्मचारिणीको पूजा आराधना गरी द्वितीया पर्व मनाईँदै छ ।
हिन्दू धर्मालम्बीहरूले वैदिक विधिमार्फत् यस दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गर्ने गरेका छन् ।
घटस्थापनाको दिनदेखि सुरू भएको नवरात्रिको दोस्रो दिनको पनि पूजा विधि घटस्थापनाको जस्तै हो ।
घटस्थापनाको दिन राखेको जमरालाई झिसमिसे बिहानी मै आत्मशुद्धि पश्चात् नदी, खोलाबाट ल्याएको पवित्र जलले जमरामा राखिन्छ ।
यसरी जमरा राखिएको स्थानको नजिकै जलपूर्ण घडा (कलश)को वरिपरि नौवटा देवीको स्वरूपको प्रतिमूर्ति मानी पूजा गरिन्छ ।
जसमध्ये दोस्रो दिन ब्रह्मचारिणीको पूजा आराधना अनि जलपूर्ण कलशमा पञ्चपल्लव चढाई अनन्त शक्तिस्वरूपा महाकाली (संहार), महालक्ष्मी (सुरक्षा) र महासरस्वती (सृष्टि)को पञ्चोपचारले पूजाआजा गरिन्छ ।
हाम्रो धर्म, संस्कृति अनुसार कलशमै सम्पूर्ण देवी देवता, सागर, सप्तद्वीप, सम्पूर्ण नदी एवं तीर्थहरू निहित हुन्छन् ।
यसका अतिरिक्त कलशमा अष्टमङ्गलका शुभ चिन्हहरूद्वारा पूजित भएको पाइन्छ । यसदिन पनि सम्पूर्ण देवीदेवता, तीर्थ, पावनी नदी नाला, सप्त सागर, सप्त द्वीप आदि सबैलाई समाहित गरी दसैँ पूजा गरिएको हुन्छ ।
यसै दिनदेखि नवमीसम्म प्रत्येक नेपालीहरूका घरघरमा र देवीका मन्दिरहरूमा पहिलो दिनकै बमोजिम भगवती दुर्गाको पूजा,आराधना र प्रार्थना गरिन्छ र शङ्ख, डमरू, घण्टी आदि बजाइ दुर्गासप्तशती ९चण्डी०, दुर्गा कवच, श्रीमद्देवीभागवत आदि पाठ पनि पढिन्छ ।
पूजा गरिसकेपछि प्रत्येक दिन बलि चाहिँ अनिवार्य दिनुपर्ने कुरा शास्त्रीय विधानमा उल्लेख गरिएको छ ।
श्रौतयज्ञानुसार पशु बलि र शाकाहारीहरूले प्रदान गर्ने नरिवल, ऊखु, कुभिण्डो आदि स्मार्तबलि गरि दुई प्रकारको हुन्छ । बलि प्रदान गरिसकेपछि यस दिनको कार्य समापन गरिन्छ ।
जमराको रूपमा गहुँ तथा जौको अंकुर लगाउनाले सुख, शान्ति, समृद्धि र स्वास्थ्य लाभ हुने शास्त्रीय मान्यता छ । वनौषधिविज्ञहरूका अनुसार जौका जमरालाई महौषधि भनिन्छ ।
निधारमा विजयादेवीको प्रसादस्वरूप टीका लगाएर जमरा शिरमा राख्यो भने शिरको पीडा, मानसिक अशान्तिबाट बच्न सकिन्छ ।
जमराबाट शीतलता एवं नूतनको प्रतिक हो । अंकुरित अन्नबाट भिटामिन, प्रोटिन, क्याल्सियम आदि प्राप्त हुन्छ । स्वास्थ्यको लागि अति उत्तम मानिन्छ ।
माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्ने गरिएको हो ।