arrow

नयाँ शिक्षा नीति निर्माण नबन्दा ग्रामिण स्तरका विद्यालय विस्थापित हुने खतरा

logo
नारायण वली,
प्रकाशित २०८० वैशाख ५ मंगलबार
education-reporters-butwal.jpg

रुपन्देही । वरिष्ठ अधिवक्ता तथा प्राध्यापक डा बुद्धबहादुर थापाले नेपालमा भोलिका दिनमा न पाठ्यक्रम, न पाठ्यपुस्तक, न शिक्षक कोही नहुने दिन आउने दाबी गरेका छन् । उनले हिजो शिक्षक केन्द्रीत शिक्षा भएको भन्दै आज शिक्षकहरु भुत्ते हुँदै गएको जिकीर गरे । पछिल्लो समय शिक्षकहरुसँग प्रविधिमैत्री ज्ञान नभएको र अहिलेको माग भने प्रविधियुक्त रहेको उनको भनाइ छ ।  

रिपोर्टर्स क्लबले मंगलबार "अबको शिक्षा प्रणाली कस्तो हुनुपर्छ" भन्ने विषयक साक्षात्कार कार्यक्रममा बोल्दै शिक्षाविद् विद्यानाथ कोइरालाले शिक्षा मन्त्रालयमा देशका ठूला राजनीतिक दलले राजनीतिक स्वार्थ मात्रै पूरा गर्ने देखिएको जनाउँदै उच्च शिक्षामा राज्यको उदासिनता, बेखबर, ध्यान पुग्न नसकेको र सेमेस्टर प्रणाली नेपाली विद्यार्थीको हितमा नभएको जनाए ।

उनले शिक्षामा बजेट अपर्याप्त भएका कारण सामुदायिक र संस्थागत विद्यालयको पहुँच घट्दै गएको व्यक्त गरे । उच्च शिक्षालाई हेर्ने एउटा छुट्टै मेकानिजम स्थापना भएमा शिक्षा क्षेत्र सुधार हुँदै जाने सुझाव दिए । तर हालसम्म सरकारले तलदेखि उच्च शिक्षासम्म हेर्दै आएकाले प्रभावकारी पहुँच पुग्न नसक्दा नेपालको शिक्षा क्षेत्र फस्टाउन नसकेको जिकीर गरे ।

शिक्षा पत्रकार समाजका अध्यक्ष कृष्ण मल्लले शिक्षामा पहिले अंग्रेजी र गणितलाई महत्त्व राखिएको र अहिले गुणस्तर खोजिदै गएको बताए । पालिकाले विद्यालयलाई खुम्चाउन खोजेकाले विद्यार्थीलाई पुन: पहिले जस्तै घण्टौं पैदल हिँडेर स्कुल जाने दिन आउन सक्ने उनको अड्कल छ उनले ग्रामीण स्तरबाट विद्यालयहरु खोसिदै जाने खतरा बढेको स्पष्ट पारे । 

शिक्षामा रहेका प्रशासकहरुले प्रविधिमैत्री रुपमा लैजाने भनिएकोमा नीति निर्माण कार्य बनाउँदा लिपिबद्ध उल्लेख नगरिएको बताए । पछिल्लो समय विद्यालय शिक्षा र प्राविधिक शिक्षामा विद्यार्थीहरुको सहभागीता न्यून रहेको भन्दै शिक्षालाई मजबुत बनाउन कहिले र कसले ध्यान दिने हो भनेर प्रश्न गरे । 

बुटवल उपमहानगरपालिका शिक्षा शाखा प्रमुख मित्रमणि खनालले शिक्षा ऐन २०२८ लाई परिमार्जन गर्दै हालसम्म चल्दै आएको भन्दै नयाँ नीति नबनेको बताए ।

प्रमुख खनालले बुटवलले शिक्षा क्षेत्रमा १० करोड बजेट छुट्याइएको जानकारी गराउँदै १० जना कर्मचारी रहेकाले बुटवलमा शिक्षा क्षेत्रमा काम गर्न कुनै अभाव नभएको बताए । उनले आफूहरुले समावेशीकरण ल्याएको बताए । तर हुम्लालगायत देशका पहाडी एवं हिमाली जिल्लामा शिक्षामा काम गर्ने कर्मचारीसमेत नभएकाले राज्यको ध्यान कहिले पुग्ने भनेर जिज्ञासा राखे ।

कालिका मानवज्ञान विद्यालय बुटवलका प्रधानाध्यापक दिनेश थापाले भर्ना अभियानका क्रममा कमजोर वर्गका विद्यार्थीहरुलाई समावेश नगरेको भन्ने कुरा गलत भएको बताए ।

दीप बोर्डिङ स्कुल बुटवलका प्रधानाध्यापक टिकाराम न्यौपानेले हालको शिक्षा नीतिले सरकारी तथा संस्थागत विद्यालय कुनैलाई पनि फाइदा पुग्ने खालको नीति ल्याउन नसकेको आरोप लगाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ