arrow

चितवन २ः मतदाता मौन, रवि रक्षात्मक

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ७ बिहिबार
rabi-lamichhane-2080.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीं (रास्वपा) का सभापति रवि लामिछानेको कमजोरीका कारण चितवन २ मा हुन लागेको उपनिर्वाचनमा मुलुकका प्रमुख दलहरुसहित रवि लामिछाने मतदातालाई आफ्नो पक्षमा पार्न अन्तिम कसरत गरिरहेका छन् । 

मंसिर ४ मा भएको निर्वाचनमा चितवन २ बाट लामिछाने सबैभन्दा बढी मतान्तरले विजयी भए पनि पहिलेको जस्तो सहज अवस्था नबनेकाले लामिछानेले आफ्नो पक्षमा माहोल बनाउने सबै प्रकारको शक्ति प्रयोग गरिरहेका छन् । 

उता नेपाली कांग्रेस र एमालेले पनि आफ्नो पक्षमा माहोल बनाउन केन्द्रीय नेताहरु नै लगेर चुनाव प्रचार प्रसार गरिरहेका छन् । जुन आज अन्तिम दिन हो । मंसिर ४ मा उम्मेदवारी दर्ताकै क्रममा नागरिकता सम्बन्धी विवाद आएको थियो । 

तर निर्वाचन आयोगले समयमा निर्णय नदिँदा उनीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको र त्यसकै आधारमा उपनिर्वाचन हुने अवस्था सिर्जना भएको थियो । 

पुराना राजनीतिक दलका कमजोरीमाथि टेलिभिजन कार्यक्रममार्फत प्रश्न उठाउँदै चर्चा बटुलेका लामिछानेले चुनाव मात्र जितेनन् उनी उपप्रधान तथा गृहमन्त्री पनि बने। 

तर नागरिकता विवादमा तानिएका लामिछानेको सर्वोच्चको फैसलाबाट सांसद पद खारेज भयो, मन्त्री पनि गुम्यो । मंसिर ४ मा भएको निर्वाचनमा चितवन २ बाट सबैभन्दा बढी मतान्तरले विजयी भए पनि अहिलेको अवस्थामा उनी रक्षात्मक रहेका छन् । 

केन्द्रीयस्तरका नेताहरू चुनावी प्रचारमा होमिएको देखिन्छ । नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा लगायतका शीर्ष नेताहरू चितवनमै छन् । उनीहरूले विभिन्न ठाउँमा शक्ति प्रदर्शनसमेत गर्दै आएका छन् । कांग्रेस, एमाले रास्वपाले लगातार जस्तै शक्ति प्रदर्शन गरिरहेका छन् । 

लामिछानेले संविधान र कानूनी प्रावधानलाई ख्याल नगर्दा चितवन २ मा उपनिर्वाचन हुन लागेको हो भन्ने तथ्य एकहदसम्म तल्लो तहसम्मै पुगेको छ । 

यसअघिको निर्वाचनमा लामिछानेविरुद्ध चितवन २ का मतदाताले खासै प्रश्न गरेनन् । तर उनकै कारण उपनिर्वाचन हुने अवस्था आएपछि स्थानीय मतदाताले यसमा प्रश्न उठाएका बसेका छन् । 

कांग्रेसले अघिल्लो निर्वाचनमा चितवन २ मा व्यवसायी उमेश श्रेष्ठलाई उम्मेदवार बनाएको थियो । उनको उम्मेदवारीप्रति कांग्रेस नेता तथा कार्यकर्तासमेत असन्तुष्ट थिए । तर अहिले भने कांग्रेस एमाले दुवै उम्मेदवार स्थानीय भएकाले पनि रविका लागि प्रतिरक्षा गर्नुपर्ने बाध्यता रहेको छ । 

अहिले स्थानीय नेता श्रेष्ठलाई मैदान उतारेको कांग्रेस परिणाम आफ्नो पक्षमा पार्न चाहन्छ ।  स्थानीय नारा दिँदै चुनावी प्रचारमा होमिएको कांग्रेस अहिले पार्टीका पुराना नेताहरूलाई पनि समेटेर अघि बढेको छ ।

एमाले उम्मेदवार न्यौपानेले पार्टीका एजेन्डा र लामिछानेको विगतको कमजोरी उठाउँदै मत मागिरहेका छन् । एमाले र कांग्रेसका उम्मेदवारले परिणाम आ–आफ्नो पक्षमा आउने दाबी गरे पनि चुनावी माहोल भने कसको पक्षमा छ भनेर आँकलन गर्न सक्ने अवस्था छैन । 

रविलाई कोही कसैले विरोध गरेमा उनका पक्षका मान्छेहरुले सामाजिक सञ्जालमै तथानाम गाली गर्ने भएकाले चितवनका मतदाताहरु पनि चुपचाप बसेका छन् । 

मंसिरमा भएको चुनावमा लामिछानेले ४९ हजार ३ सय मत प्राप्त गरेका थिए। उनका निकटतम प्रतिस्र्धी सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९ सय ८९ मत र एमालेका उम्मेदवार कृष्णभक्त पोखरेल १४ हजार ६ सय ५२ मत प्राप्त गरेका थिए । 

२०७४ साल र २०७० सालको निर्वाचनमा चितवन २ बाट एमालेका पोखरेल निर्वाचित भएका थिए । तुलनात्मक रुपमा त्यहाँ एमालेको राम्रो भए पनि रविको प्रवेशपछि सबै संगठन विथोलिएको थियो । 

कांग्रेसले आफ्ना पुराना नेताहरुलाई समेटेर अघिकाले यतिबेला कांग्रेसको पनि माहोल राम्रो बन्दै गएको छ । कांग्रेसका शीर्ष नेता चितवनको चुनावी मैदानमा होमिएका छन् । 

महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा चितवनमा पुगेर मत मागिसकेका छन् । अहिले केन्द्रीय सदस्य बालकृष्ण खाँण, उमेश श्रेष्ठ, मधु आचार्य, सरिता प्रसाई, रामहरि खतिवडा, दिलमान पाख्रिन, रामनाथ अधिकारी, डिला संग्रौलालगायतका नेता चितवनमै पुगेका छन् । 

एमालेका पनि नेताहरुले चितवनलाई प्राथमिकतामा राखेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ