arrow

दशैंमा घर जान सवारीको कमी हुँदैन, व्यवसायी लाइनमा आइसकेका छन् : मन्त्री लेखक

क्षमता बढी यात्रु बोक्नेलाई छोडिदैन, वीपी राजमार्गमा ठूला सवारीलाई रुटपरमिट दिइएको छैन

logo
प्रकाशित २०७३ असोज १६ आइतबार
ramesh-lekha-reportars-club.jpeg
काठमाडौं । भौतिक योजना तथा यातायातमन्त्री रमेश लेखकले वीपी राजमार्गमा ठूला सवारी चलाउने निर्णय नभएको प्रस्ट्याएका छन् । आइतबार रिपोर्टर्स क्लबको साक्षात्कारमा मन्त्री लेखकले वीपी राजमार्गमा ठूला सवारी चलाउन रुटपरमिट सरकारले नदिएको बताए । 
 
मन्त्री लेखकले भने,‘वीपी राजमार्गमा अहिले १८ सिट क्षमता भएका माईक्रो तथा हाईस मात्रै चल्ने गर्छन, सरकारले ठूला सवारीलाई पनि रुटपरमिट दियो भन्ने हल्ला, शंकाहरु बजारमा आएका छन्, यसमा कुनै सत्यता छैन ।’ यद्यपि, उनले प्राविधिक समितिले भने यसबारेमा सरकालाई केही सुझावहरु भने अघि सारेको बताए । 
 
मन्त्री लेखकले दशैंतिहारलाई लक्षित गरेर सरकारले सवारीहरुको उचित व्यवस्था, यात्रुवाहक बसहरु बढिभन्दा बढी थप्ने लगायत सम्पूर्ण व्यवस्था गरिसकेको बताए । मन्त्री लेखकले थपे, ‘सरकारले काठमाडौं उपत्यकाबाट बाहिर जाने सवारीहरुको उचित व्यवस्था लगायत आवश्यक पहल र प्रयत्न गरिसकेको छ, सरल र सुलभ तरिकाले सवारीसाधनको व्यवस्था हुँदैछ, कोही पनि यात्रुहरुले चिन्ता गर्नुपर्दैन ।’
 
मन्त्री लेखकले यातायात व्यवसायीहरुले समेत दशैंतिहारमा उपत्यकाबाट गन्तव्यसम्म जान यात्रुहरुलाई सवारीको कुनै कमी हुन नदिने प्रतिवद्धता सरकारसँग गरिसकेकाले यात्रुहरुले चिन्ता गर्नु नपर्ने विश्वास दिलाए । 
 
मन्त्री लेखकले थपे, ‘यातायात व्यवसायी साथीहरुले जिल्ला जिल्ला अथवा देशव्यापी रुपमा सवारीहरु ल्याएर भएपनि सेवा दिन्छौं भन्नुभएको छ, आशा छ सवारीको अव कुनै कमी हुँदैन ।’ व्यवसायीहरु लाइनमा आइसकेका छन् । 
 
मन्त्री लेखकले आवश्यक परे सरकारले अन्य विकल्प समेत अघि सार्ने जनाए । हालै मात्रै पनि सवारी आवातजावतको उचित व्यवस्था गर्नेबारे सम्बन्धित सबै निकाय प्रहरी, सेना, र सरकारका मुख्य सचिववीच छलफल भएको मन्त्री लेखकले बताए ।
 
लेखकले पछिल्लो समय सरकारले बनाएको नयाँ नियम बमोजिम क्षमताभन्दा बढी यात्रु बोकेको पाइए कडा कारबाही गर्ने समेत उद्घोष गरे । लेखकले थपे,‘सवारीको कुनै कमी हुँदैन, जोखिमपूर्ण यात्रा नगरौं, छतमा बसेर यात्रा गर्ने काम नगरौं ।’ 
 
सवारी आवातजावतमा कलंकीदेखि नागढुँगा, नागढुँगादेखि मुग्लिनसम्म, र मुग्लिनदेखि नारायणघाटसम्मको सडकको मर्मत भैसकेकाले अब त्यसमा पनि कुनै समस्या नहुने मन्त्री लेखकको भनाई छ । मन्त्रीले लेखकले भने,‘दशैंतिहारमा यी सडक खण्डमा समेत कुनै समस्या हुँदैनन् ।’
 
फरक प्रसंगमा मन्त्री लेखकले संविधान संशोधन प्रक्रियाबारे दलहरुवीच आन्तरिक गृहकार्य भैरहेको समेत बताए । उनले भने,‘अहिले दलहरुबीच आन्तरिक गृहकार्य भैरहेको छ, छिट्टै यसले गति लिन्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ