स्वर्णिमले जितेपछि गोविन्दले भने- खबरदारीपूर्ण साथ रहिरहनेछ
मैले मेरा क्षेत्रका मतदाताको अपेक्षा पूरा गर्ने विश्वास दिलाउन सकिनँ
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १२ मंगलबार
753
Shares
काठमाडौं । तनहुँमा रास्वपाका स्वर्णिम वाग्लेले जितेपछि निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले बधाई दिएका छन् । आज बिहान सार्वजनिक मत परिणामअनुसार प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि भट्टराईले वाग्लेलाई बधाई दिएका हुन् ।
कांग्रेसका भट्टराईले भने, “चुनावी यात्राका दौरानमा हामीबीच सौहार्द प्रतिस्पर्धा रह्यो । र, संयोगले तपाईँ निर्वाचित हुनुभयो । मैले मेरा क्षेत्रका मतदाताको अपेक्षा पूरा गर्ने विश्वास दिलाउन सकिनँ, तपाईँले सक्नुभयो ।”
उनेले यस क्षेत्रको आधिकारिक प्रतिनिधि निर्वाचित भइरहँदा आफूप्रतिको विकास अपेक्षा राखेका मतदाताको विश्वास पनि अब डा वाग्लेको अभिभारा बन्न पुगेको उल्लेख गरे ।
उनेले भने, “मैले पदको सपना नदेखे पनि यस क्षेत्रको विकासे अभियन्ताका रूपमा निरन्तर खटेको हुँ । अब पनि खटिरहनेछु । अनि तपाईँले चाहेमा यहाँका मतदाताको विकासे चाहना पूरा गर्ने अभियानमा मेरो रचनात्मक सहयोग अनि खबरदारीपूर्ण साथ रहिरहनेछ ।”
मत परिणाम अनुसार डा वाग्ले ३४ हजार नौ सय ११ मत प्राप्त गरी विजयी भएका थिए । गोविन्द भट्टराईले २० हजार १२२ मत पाएका थिए । निर्वाचनमा ६५ हजार तीन सय १६ मत खसेकामा ६४ हजार एक सय ३५ मत सदर भएको थियो भने एक हजार एक सय ८१ मत बदर भएको थियो ।