arrow

बाइसे, चौबिसे शासन कालको एक खास स्थल, सदरमुकाम सारेपछि शून्य

जहाँ घटस्थापनामा पूजा गर्न थालेपछि सवारी दुर्घटना कम भए

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७३ असोज १७ सोमबार
syanja-new-pp.jpeg
स्याङ्जा । धार्मिक पर्यटकीय स्थलहरुको खोजी नहुँदा स्याङ्जाका अधिकांश धार्मिक क्षेत्रहरु ओझेलमा पर्दै आएका छन् । अत्यन्तै उचाईमा रहेका धार्मिक स्थलहरु मध्ये स्याङ्जाको पौवेगौडे ४ मा रहेको नुवाकोट प्रचार–प्रसारको अभावले ओझेलमा परेको छ । 
स्याङ्जा सदरमुकाम पुतलीबजारबाट नजिकै रहेको नुवाकोटलाई व्यवस्थित र प्रचार–प्रसार गर्न सकेमा धार्मिक पर्यटकीय गन्तव्य स्थल बन्न सक्छ । 
 
जिल्लाका शक्ति पीठहरु मध्ये नुवाकोटमा रहेको कालाभैरव मन्दिर पनि एक हो । जहाँ प्राचिनकालमा बाइसे, चौबिसे राजा रजौटाहरुले राज्य गर्दाको एक स्थल पनि हो नुवाकोट । त्यसताका एक खास स्थल मानिन्थ्यो । त्यति मात्र नभई कुनै समय स्याङ्जा जिल्लाको सदरमुकाम पनि हो । मुलुक परिर्वतनसँगै नागरिकलाई असुविधा भएको महशुस गरी जिल्ला सदरमुकाम पुतलीबजारमा सारिएको थियो । 
 
सदरमुकाम सरेपछि ओझेलमा परेको नुवाकोट क्षेत्रलाई प्रचार–प्रसार गर्न सकिएमा धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकसित गर्न सकिन्छ । यस क्षेत्रमा चार ओटा मन्दिर छन् । सुनकोशी देवी, कालिका, चण्डी र कालाभैरव प्रख्यात  हुन् । कालाभैरवको भाकल वा दर्शन गरे मनोकांक्षा पुरा हुने जनविश्वास रहँदै आएको मन्दिरका पुजारी टेकप्रसाद अर्याल बताउँछन् । 
 
यो मन्दिर प्राचिनकालको भएर पनि यसको प्रचार–प्रसार हुन सकेको छैन । अहिले मन्दिर ओझेलमा परेको पुजारी अर्याल बताउँछन् । बडादशैंको घट्स्थापना देखि पूर्णिमा सम्म मन्दिर दर्शन गर्न आउनेको भीड लाग्छ मन्दिरका पुजारीले अर्यालले भने, ‘मन्दिर दर्शन गर्न आउने अधिकांशले मनले आटेको पुगको सुनाउँछन् ।’ यो मन्दिरमा साउनमा काटमार गर्न नपाईने र एकादशी, औंसी बाहेक अन्य समयमा काटमार गर्न पाइन्छ अर्यालले थपे ।  
 
स्याङ्जा बाहेक कास्की, काठमाडौं, पर्वत, पाल्पा, गुल्मी, वाग्लुङ् लगायतका जिल्लाबाट भक्तजनहरु मन्दिरको दर्शन गर्न आउने गरेका छन् । पञ्चवलीका भाकल गरेका व्याक्तिहरु प्रायः नवदुर्गामा आउने गर्दछन् । चापकोटबाट मन्दिर दर्शन गर्न गएका राजु कोइरालाले आटेको पुग्ने सुनेका कारण मन्दिर दर्शन गर्न आएको बताए ।
 
कोइराला मन्दिर दर्शन गर्न आउने पात्र मात्र हुन् । यस मन्दिरको विशेषताका बारेमा प्रचार–प्रसार गर्न सकिएको अवस्थामा यस क्षेत्रमा बाह्रै महिना भीड लाग्ने स्थानीयहरु बताउँछन् । सो क्षेत्रको आर्थिक समृद्धिका लागि समेत त्यहाँ पर्यटन आगम गर्न सक्नु पर्नेमा स्थानीयको जोड छ । 
 
मन्दिर पुग्नु भन्दा अगावै ठाँउ–ठाँउबाट कयौं रमणीय दृष्यहरु समेत देख्न सकिन्छ । हिमश्रृखला, कास्कीको पोखरा, स्याङ्जा सदरमुकाम लगायत विभिन्न जिल्लाको अवलोकन गर्न सकिन्छ । अर्को रोचक प्रसङ्ग के छ भने यसको प्रचार–प्रसारका लागि स्थानीय यातायात व्यवसायीहरु लागेका छन् । यहाँका यातायात व्यवसायीहरुले हरेक बडादशैंको घटस्थापनामा पुजाआजा गर्न थालेपछि दुर्घट्नामा कमी आएको विश्वास गरेका छन् । 
 
२०६६ सालबाट गण्डकी यातायात व्यवसायीले हरेक घट्स्थापनामा पूजाआजा गरेपछि दुर्घट्ना कमी भएको यातायात व्यवसायी बसन्तकुमार मल्ल बताउँछन् । यहाँ पूजाआजा गर्न थालेपछि दुर्घट्नामा कमी आएको छ, यातायात व्यवसायी मल्ले भने, ‘हामीले विश्वास मानेका छौ र यस कार्यलाई निरन्तरता दिइरहेका छौं ।’ हरेक वर्षको बडादशैंमा घट्स्थापनाको दिनमा सबै व्यवसायी मिलेर यहाँ पूजाआजा गर्दै आएका छौं मल्ले थपे । 
 
पुरातात्विक महत्व वोकेको यस क्षेत्रका लागि विकास नभएको भने होइन । तर, जति हुनुपर्ने थियो त्यति आकर्षक बनाउन जिल्ला पर्यटन समितिले समेत चासो नदेखाएको बताइएको छ । गण्डकी यातायात समितिले घट्स्थापनाको दिनमा आयोजना गरिएको पूजाआजा तथा शुभकामना आदानप्रदानका लागि पुगेका सो क्षेत्रका सांसद राजु थापाले यस क्षेत्रको विकास नहुनुमा राजनीतिक खिचातानी प्रमुख कारण रहेको बताए ।
 
बजेटको अभावका कारण जिल्लाको मात्रै नभएर नेपालकै महत्व वोकेको नुवाकोट कालाभैरवको जति विकास हुनुपर्ने हो त्यो नभएको थापाको भनाई थियो । सबै क्षेत्रले यो क्षेत्रको विकासका लागि चासो दिनु आवश्यकता छ सांसद थापाले भने, ‘जिल्लाका शक्तिपिठ मध्येको एक यो नुवाकोटको कालाभैरवका लागि विकास गर्न सकिएमा आर्थिक रुपले समेत अगाडी बढाउन मद्धत पुग्ने छ ।’ आएको बजेटको सदुपयोग गरी यस क्षेत्रको अभावको खोजी गरी विकास गर्नु आवश्यक छ सांसद थापाले थपे । 
 
जिल्लाकै उच्च भागमा रहेको नुवाकोट कालाभैरव पुग्न स्याङ्जा सदरमुकामबाट १ घण्टा कच्ची सडक र २ घण्टा पैदल यात्रबाट पुग्न सकिन्छ । सडकको राम्रो व्यवस्था र खानेपानीको अभाव रहेको यस क्षेत्रलाई पूर्णता बनाउने हो भने स्याङ्जाको धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने देखिन्छ । जसका कारण जिल्लाको आर्थिक रुपमा पनि यो क्षेत्रको विकास गर्न सकिएमा टेवा पुग्ने छ । बेलैमा प्राचिनकाल देखिको पुरातात्तिक महत्व बोकेका क्षेत्रको विकासमा सम्बन्धित निकायको ध्यान जान आवश्क छ । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ