- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
विराटनगर । मोरङको क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा. सुनील शर्मा आफ्नो निर्वाचन क्षेत्रका सुकुमवासी र अव्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउने अभियानमा जुटेका छन् ।
एकपछि अर्को चुनावी बाचा पूरा गर्दै गएका सांसद शर्मा अहिले सुकुमवासीको समस्या समाधानमा लागेका हुन् । चुनावी अभियानका क्रममा उनले पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने र सुकुमवासी समस्या समाधानमा काम गर्ने विषयलाई प्राथमिकताका साथ उठाएका थिए ।
निरन्तरको दौडधुपपछि पूर्वाञ्चल विश्वविद्यालयलाई मेडिकल कलेज सञ्चालनको स्वीकृति दिलाउन सफल भएपछि सांसद शर्मा अहिले सुकुमवासी समस्या समाधानमा केन्द्रित भएका हुन् । भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यस्थित बसोवासीको समस्या समाधानका लागि उनले सदनमा पनि आवाज उठाइरहेका छन् ।
सुकुमवासीलाई जग्गा उपलब्ध गराउने काम छिटो गर्न स्थानीय सरकार, राष्ट्रिय भूमि आयोग र सदनमा पनि उनले घचघचाउने काम गरिरहेका छन् । ‘यो क्षेत्रमा हजारौं परिवार सुकुमवासी हुनुहुन्छ, मैले चुनावी अभियानका क्रममा उहाँहरुको समस्या समाधानमा सक्दो पहल गर्ने बचन पनि दिएको थिए,’ सांसद शर्मा भन्छन्, ‘सुकुमवासीलाई प्रकृया पुर्याएर जतिसक्दो छिटो जग्गा उपलब्ध गराउनुपर्छ भनेर निरन्तर लागिरहेको छु ।’
सुकुमवासी र अव्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउन अहिले कानेपोखरी गाउँपालिकामा जग्गा नापजाँचको काम भइरहेको छ । शुक्रबार सांसद शर्मा कानेपोखरी–६ स्थित बिहिबारेमा पुगेर सुकुमवासी परिवारले भोगचलन गर्दै आएको जग्गा नापजाँचमा सामेल भए ।
राष्ट्रिय भूमि आयोग र कानेपोखरी गाउँपालिकावाट जग्गा नापजाँचमा खटिएका अमिन र सर्वेक्षकसँग भेट गरी उनले त्यहाँको अवस्थाको वारेमा जानकारी लिए । जग्गा नापजाँचको काम जतिसक्दो छिटो सकेर सुकुमवासी र अव्यवस्थित वसोवासीलाई चाँडै जग्गा धनीपूर्जा उपलब्ध गराउने गरी लाग्न कर्मचारी र स्थानीय जनप्रतिनिधिलाई उनले आग्रह गरे ।
मोरङको क्षेत्र नं. ३ मा हजारौं परिवार सुकुमवासी छन् । कानेपोखरी र पथरीशनिश्चरेमा सुकुमवासीको संख्या धेरै छ । सरकारले सुकुमवासी र अव्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउँने प्रकृया थालेपछि कानेपोखरीका मात्रै ४ हजार ८ सय परिवारले जग्गा प्राप्तीका लागि फर्म भरेका छन् । जग्गा नापजाँचमा समन्वय र सहजीकरणका लागि कानेपोखरी गाउँपालिकामा ६ नं. वडाका वडाध्यक्ष खड्ग बस्नेतको संयोजकत्वमा तीन सदस्यीय सहजिकरण समिति पनि बनाइएको छ ।
समिति संयोजक बस्नेतका अनुसार यसअघि वडा नं. ६ का १६४ परिवारलाई जग्गा धनीपूर्जा वितरण गरिसकिएको छ ।
भूमिहीन दलित र भूमिहीन सुकुमवासीलाई भोगचलन गर्दै आएको पाँच कट्ठासम्म जग्गा उपलब्ध गराउने गरिएको छ । अव्यवस्थित बसोवासीलाई पनि न्यून मूल्यमा जग्गा दिने गरिएको छ ।