arrow

कालोबजारी गर्नेलाई २० वर्ष कैद गर्ने गरी नयाँ कानून : आपूर्तिमन्त्री बोहरा

दशैं महँगीरहित हुन्छ, ५५ दिनसम्म कुनै पनि उपभोग्य वस्तुको मुल्य बढाउन पाउँदैन

logo
प्रकाशित २०७३ असोज १७ सोमबार
aapurti-mantri-new-reportars.jpeg
काठमाडौं । आपूर्तिमन्त्री दिपक बोहराले सरकारले बजार व्यवस्थापन, अखाद्य वस्तु विक्रि वितरण रोक गर्ने, अनियमितता र कालोबजारी गर्नेलाई कडा कारबाही गर्ने गरी नयाँ कानुन ल्याउने तयारी गरेको बताएका छन् । 
 
सोमबार रिपोर्टर्स क्लबको साक्षात्कारमा मन्त्री बोहराले बजारमा अनियमितता गर्ने र लाभको लागि अखाद्य वस्तु बेच्ने र उपभोक्ताको जीवनमा खेलबाड गर्नेलाई आर्थिक दण्ड गर्ने र ५ देखि २० वर्षसम्म जेल सजाय गर्नेसम्मको नयाँ कानून ल्याउने तयारी भइरहेको सुनाएका हुन् । 
 
मन्त्री बोहराले भने, ‘कानून संशोधन गर्ने बाटोमा हामी गैसकेका छौं । छिट्टै नयाँ काूनन संसदमा पेश गर्छौं ।’ त्यस्तै, मन्त्री बोहराले कालबजारी ऐनलाई समेत कडा तथा धारिलो बनाउन सरकारले तयारी गरेको स्पष्ट पारे । 
 
बोहराले महँगीरहित दशैं बनाउने गरी सरकारले बजार अनुगमनलाई तीव्रता दिएको समेत बताए । उनले भने,‘अहिले हामीले विभिन्न दश वटा निकायमार्फत बजार अनुगमन गरिरहेका छौं, जनताले राम्रो र सहुलियतमा सामान पाउनुपर्छ ।’ आपूर्ति मन्त्रालयका सचिवको नेतृत्वमा अहिले दशवटै निकायका प्रमुख तथा निर्देशकहरुले बजार अनुगमन तथा मुल्यवृद्धि नियन्त्रणको काम गरिरहेको समेत मन्त्री बोहराले जानकारी दिए ।  
 
दशैंतिहारमा चामल, दाल, चिनी, नुन, तेल लगायतका अत्यावश्यक वस्तुहरुको मुल्य वृद्धि नहुने समेत मन्त्री बोहराले जिकिर गरे । उनले भने,‘सरकारले कडाईका साथ यसबारेमा अभियान छेडेको छ, पर्याप्त निर्देशन दिएको छ, तपाईहरु ढुक्क हुनुहोस् दशैंतिहारमा कुनै हालतमा पनि मुल्यवृद्धि हुँदैन्, यदी भएको थाहा पाए हामीलाई खबर गर्नुहोस् हामी तत्काल आईपुग्छौं ।’ 
 
मुल्यवृद्धि नगर्ने कुरामा खुद्रा पसलहरुले समेत सरकारलाई साथ दिएको उनको भनाई थियो । सरकारले उपभोक्ताको सहुलियतको लागि पनि काठमाडौं, ललितपुर र भक्तपुरमा सुहलियत बजार सञ्चालन गरिरहेको उनले बताए ।  
 
पछिल्लो समय सरकार बजार नियन्त्रणमा राख्न सफल भएको समेत मन्त्री बोहराको जिकिर छ । ‘अहिले बजारमा कहीँ कतैपनि अखाद्य वस्तु पाईँदैन, र म्याद नाघेको बस्तु भेटिँदैन’, उनले थपे । मन्त्री बोहराका अनुसार पछिल्लो समय सरकारले ४ सय ५२ जनालाई कारवाही गरिसकेको छ । यद्यपि, उनले कारबाही गर्नको लागि ऐन तथा कानूनहरुमा केही प्राविधिक झमेलाहरु रहेको स्पष्ट पारे । 
 
सरकारले अखाद्य वस्तु नष्ट गर्ने अभियानमा पछिल्लो समय ३ करोड मुल्य बराबरको म्याद नाघेका वस्तुहरुको नष्ट गरिसकेकाले सरकार यो अभियानबाट पछि नहट्ने उनले प्रतिवद्धता व्यक्त गरे । 
 
फरक प्रसंगमा मन्त्री बोहराले तीनवटै निकायको निर्वाचन आगामी माघ ७ गतेभित्रै भएमात्रै संविधान कार्यान्वयन हुने भएकाले सरकारले अहिले त्यतातिर ध्यान दिएको बताए । उनले स्थानीय निकायको चुनावको लागि गाउपालिकाको संख्यालाई नै कायम गरेर चुनाव हुनुपर्छ भन्ने पक्षमा आफ्नो पार्टी रहेको बताए । 
 
राप्रपा नेपालसँग आफ्नो पार्टीको एकता हुने कुरामा आफू अझैपनि विश्वस्त रहेको उनले बताए । ‘राष्ट्रवादी शक्तिहरु मिल्नुपर्छ, हामी हिन्दुगणतन्त्र स्वीकारेर अघि बढ्नुपर्छ भन्ने पक्षमा छौं ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ