arrow

उपभोक्ता झुक्याउन भाटभटेनीद्वारा सरकारी लोगो दुरूपयोग !

logo
प्रकाशित २०७३ असोज १७ सोमबार
Bhatbhateni.jpeg
काठमाडौं । भाटभटेनी सुपर मार्केटले आफ्नो व्यवसायिक विज्ञापनको लागि सरकारी लोगो दुरूपयोग गरेको छ । दशैंको लागि अहिलेसम्म सार्वजनिक भएको समाचार अनुसार सरकारले नेशनल ट्रेनिङबाहेक अन्यसँग सुपथ मुल्य पसल सञ्चालनको लागि समन्वय नै गरेको छैन । 
 
तर भाटभटेनीले भने आफ्ना केही शाखाहरूमा स्पष्टसँग सरकारी लोगो प्रयोग गरेर ‘नेपाल सरकार, आपूर्ति मन्त्रालय’ लेखेर त्यसैैको पछाडि भाटभटेनी सुपर स्टोरद्वारा सञ्चालित सुपथ मुल्य पसल भनेर लेखिएको छ । 
 
सरकारी लोगोसँग आम मानिसको विश्वास जोडिएको हुन्छ । त्यसैले त सरकारले समन्वय गरेको सुपथ मुल्य पसलमा उपभोक्तहरूको भीड पनि लाग्ने गरेको तथ्यले पनि त्यसलाई पुष्टि गर्छ । 
 
तर, यही तथ्यको पछि लागेर भाटभटेनीले सरकारी लोगो दुरूपयोग गर्दा कसैको मिलेमतोमा काम भईरहेको छ या त भाटभटेनीले पेलेर नै यस्तो गरिरहेको छ भन्नेकुुरा भने खोजीको विषय बनेको छ । 
 
अहिले भाटभटेनीले आफ्नो हरेक व्यवसायिक विज्ञापनमा सरकारी लोगो प्रयोग गर्ने गरेको छ भने उसको चुच्चेपाटी शाखामा झनै उपभोक्ता झुक्किने पोस्टर प्रयोग गरेको छ ।  
 
आपूर्ति मन्त्रालयका प्रवक्ता सूर्य श्रेष्ठले भाटभटेनीलाई सुपथ मूल्य पसल सञ्चालन गर्न दिएको विषयमा आफूलाई आधिकारिक जानकारी नभएको स्पष्ट पारे । तर, भाटभटेनी पक्षको मन्त्री दिपक बोहोराबीच यस विषयमा सहमति भएको भन्ने हल्ला भने आफूले पनि सुनेको बताए । 
 
उनले मन्त्रालयले स्वीकृति नदिईकन निजी संस्थाले सरकारी लोगो प्रयोग गरेर उपभोक्ता झुक्कयाउने भने नपाईने पनि बताए ।
 
आपूर्ति मन्त्रालय स्रोतका अनुसार भाटभटेनी सुपर स्टोर र मन्त्री बोहोराबीच भेटवार्ता भएपछि भाटभटेनीले सरकारी लोगो प्रयोग गर्न थालेको हो । तर, यस विषयमा निर्णय भएको भएपनि मन्त्रालयलाई समेत आधिकारिक जानकारी नदिई तथ्य गुपचुप राखिनुले यो विषयलाई झनै शंकास्पद बनाएको छ । 
 
प्रवक्तालाई समेत आधिकारिक जानकारी नभएको उक्त विषयको बारेमा मन्त्रालयका अन्य कर्मचारीहरूलाई पनि पत्तो छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ