arrow

युरिक एसिड भएमा खान हुने र नहुने चिजहरु

logo
डा कपिलमणि केसी
प्रकाशित २०८० वैशाख २३ शनिबार
dr-kapilmani-kc-article-uric-acid.jpg

सायद युरिक एसिडको बारेमा हामीहरु सबैलाई केही न केही जानकारी छ । युरिक एसिड किन हुन्छ ? यसका लक्षणहरु के हुन्  ? यसलाई कसरी पत्ता लगाउने भन्ने कुराहरु जत्तिको महत्वपूर्ण छ त्यतिकै महत्वपूर्ण के खान हुने र के खान नहुने भन्ने बारेमा हो ।

अहिलेको अवस्थामा ओपीडीमा आउने बिरामीहरुको विचार मनन गर्दा र सर्वसाधाराणको कुरा सुन्दा युरिक एसिडको बारेमा के खान हुने र के खान नहुने बारेमा धेरैनै  भ्रमहरु भेटिन्छन् । यसकारण पनि यो लेख पढ्न जरुरी देखिन्छ । 

प्युरिन नामक प्रोटिन बढी भएको खाद्य पदार्थहरुमा स्वभाविक रुपमा युरिक एसिड बढी हुन्छ। प्युरिन प्रोटिन बढी पाइने खानेकुराहरु दुई प्रकारका हुन्छन् । एउटा भेजिटेरिअन र अर्को ननभेजिटेरिअन डाइट । ननभेजिटेरिअन खाद्यपदार्थहरुमा रातो मासु जस्तै– खसी, बोका, राँगा, भैँसी, सुंगुर, बँदेल त्यसमा पनि भित्री अंगहरु आन्द्राभुँडी, कलेजो, मिर्गौला र गिदीमा युरिक एसिडको मात्रा बढी हुन्छ । 

भेजिटेरिअन डाइटमा गेडागुडी विशेषगरी टुसा उम्रिएका गेडागुडी, क्वाँटी, रक्सी जन्य पदार्थ, कोल्ड ड्रिंक्स (सुगरी ड्रिंक्स), फ्रुक्टोजको मात्रा बढी भएका सुगरी फ्रुट र फ्रुट–जुस जस्ता खानेकुराहरु पर्दछन् । 

यो बाहेक फूल गोबी (काउली), कुरिलो (एस्पारागस), पालक (स्पाइनक) र च्याउ जस्ता तरकारीमा पनि पनि युरिक एसिडको मात्रा बढी हुन्छ । फ्रुक्टोज भन्ने एक प्रकारको चिनी गुलियो फ्रुट जुसमा बाहेक स्विट केक, कुकिज र केन्डी जस्ता खानेकुरामा पनि हुने हुँदा यस्ता चिजहरु पनि युरिक एसिड फ्रेन्ड्ली हुँदैनन् ।

यी माथिका वाक्यहरुबाट युरिक एसिड भएका बिरामीले के कुरा खाने र के नखाने भन्ने बारेमा प्रस्ट हुन्छ। यद्यपि हाम्रो समाजमा युरिक एसिड भएका बिरामीहरुले खान हुने र नहुने चिजहरुको बारेमा धेरैनै भ्रमहरु छन् । जुन कुरा वैज्ञानिक रुपमा प्रमाणित हुँदैनन् । 

रातो मासुमा युरिक एसिडको मात्रा अत्यधिक बढी भए पनि कुखुराको मासु र माछामा पनि युरिक एसिड हुने हुँदा  जोेर्नी सुन्निएर दुखेको अवस्था जसलाई इन्फ्लामेटरी फेज भनिन्छ त्यस्तो अवस्थामा कुखुराको मासु र माछा थोरै मात्रामा पनि सेवन गर्नु हुँदैन । 

तर यो कुरा भनिरहँदा कुखुराको मासुमा रातो मासुमा जस्तो युरिक एसिडको मात्रा बढी हुँदैन भन्ने कुरा पनि बुझ्नु जरुरी छ । अर्को कुरा के छ भने  कुनै–कुनै सामुद्रिक माछाहरु जस्तै शेल्फिश, ओलिफिश, क्यान फिशहरुमा युरिक एसिडको मात्रा अत्यधिक बढी हुन्छ । 

यद्यपि हामी नेपालीहरु समुद्र सतहबाट निकै टाढा रहे पनि सामुद्रिक भागमा बस्ने मानिसहरु यो कुराको बारेमा अवगत रहनु पर्दछ । दैनिक रुपमा हामीहरुले खाने कुखुरा र हाँसको अण्डामा प्रोटिनको मात्रा बढी भए पनि प्युरिन प्रोटिन निकै कम हुने हुँदा यसलाई युरिक एसिडका बिरामीहरुले सुरक्षित रुपमा सेवन गर्न मिल्छ।

अर्को कुरा धेरै मानिसहरुले युरिक एसिड भएको अवस्थामा डेरी प्रोडक्टहरु विशेष गरी दही खान हुँदैन भन्ने सामाजिक मान्यता बिल्कुल गलत छ । त्यसकारण युरिक एसिडका बिरामीले निर्धक्क भएर दही सेवन गर्न मिल्छ । 

कुनै कुनै बिरामीले शरीरमा भएका जुनसुकै जोर्नी दुखेमा युरिक एसिड हो भन्ने ठानेर लामो समयदेखि दूध र दही सेवन नगरेको पाइन्छ । वास्तवमा डाक्टरको नजरबाट हेर्दा त्यस्ता प्रकारका जोर्नी दुखाइ युरिक एसिडबाट नभएर हड्डी खिएर भएको भेटिन्छ र त्यस्तो अवस्थामा दूध र दही सेवन नगर्दा हड्डी झन् कमजोर भएर बढी दुखाइ हुने सम्भावना हुन्छ । 

यसर्थ युरिक एसिड हो होइन भन्ने कुरा सामान्य ल्याब टेस्ट गराएकै भरमा बिरामीले आफैँले प्रमाणित गर्ने कुरा होइन । विज्ञ चिकित्सकको सुझाव अनुसार युरिक एसिड भए नभएको पुष्टि गर्नु पर्दछ । 

युरिक एसिड भएका धेरै बिरामीहरुले अमिलो चिजहरु जस्तो कागती, सुन्तलाहरु खानु हुँदैन भन्ने मान्यता राख्दछन् । यो कुरा पनि तर्क संगत छैन । किनभने कागती र सुन्तलामा हुने यस्कर्बिक एसिड (भिटामिन सी) र साइट्रिक एसिडले युरिक एसिडलाई शरीरबाट पिसाबको माध्यमबाट बाहिर निकाल्न मद्दत गर्दछ । स्पष्ट शब्दमा भन्दा युरिक एसिडका बिरामीहरुले कागती सुन्तलाहरु बढी खानु पर्दछ । 

अर्को महत्वपूर्ण कुरा यूरिक एसिड हुने बिरामीहरुले १०–१५ वर्षदेखि गोलभेँडा खाने गरेको छैन भन्ने सुन्नमा आउँदछ । यसमा पनि कुनै वैज्ञानिक कारण छैन । यस्ता बिरामीहरुले तरकारीमा गोलभेँडा राखेर निर्धक्क साथ खान मिल्दछ । हामी नेपालीहरुले दैनिक जीवनमा खाने अचारको कुरा गरिरहँदा युरिक एसिडका धेरै बिरामीहरुले अचार खानु हुँदैन भन्ने सोचाइ पनि बिल्कुल गलत हो । 

हेल्थ जर्नलमा प्रकाशित तथ्यअनुसार अचारमा हुने प्रोबायोटिक नामक ब्याक्टेरिया युरिक एसिड फ्रेन्ड्ली हुन्छ र यसले युरिक एसिड बढाउने काम गर्दैन ।

अन्त्यमा, छोटकरीमा उल्लेख गर्दा युरिक एसिड भएका बिरामीहरुले प्रशस्त पानी पिउनु पर्दछ । कम फ्याट भएको दूध, दही, हरियो सागसब्जी, केरा, स्याउ, चेरीजस्ता फलफूल, ओखर, बदाम तथा अरु नट्सहरु नियमित रुपमा सेवन गर्न मिल्दछ । 

यदि स्वास्थ्यमा अरु समस्याले छेक्दैन भने कफी र ग्रिन टि पनि युरिक एसिड फ्रेन्ड्ली मानिन्छ। (डा. केसी अर्थोपेडिक सर्जन हुन्)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ