- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
लन्डन । बेलायतका राजा चार्ल्स तृतीयको अहिले राज्याभिषेक कार्यक्रम चलिरहेको छ । लन्डनको वेस्टमिन्स्टर एबीमा विशेष समारोहकाबीच अहिले चलिरहेको राज्याभिषेक समारोहमा राजा चार्ल्सलाई राजमुकुट पहिराइने छ ।
सो विशेष समारोहमा सहभागिताका लागि विश्वभरबाट दुई हजार भन्दा बढी अति विशिष्ट पाहुनाहरु एबीमा रहेका छन् । यसरी आउने पाहुनाहरुमा विभिन्न देशका राजा तथा राजपरिवारका सदस्यहरु, विश्वभरका विभिन्न मुलुकका राजनेताहरु, राष्ट्रपति, प्रधानमन्त्रीसहित सरकारका प्रतिनिधिहरु सो समारोहमा सहभागी भएका छन् ।
विशेष समारोहमा राजा चार्ल्स तथा रानी क्वीन कन्सोर्ट क्यामिलालाई राजमुकुट पहिर्याइने कार्यक्रम छ । बीबीसीका अनुसार २।२३ किलो ग्राम तौल भएको सुन र हीरा जवाहरातजडित राजमुकुटले राजा चार्ल्सको शिरमा शुशोभित गरिनेछ ।
सो राजमुकुट यस अघि सन् १९५३ मा महारानी एलिजाबेथको शिरमा सजाइएको थियो । बेलायतको इतिहासमै सबैभन्दा बढी शासन गरेकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा गत सेप्टेम्बरमा निधन भएको थियो ।
महारानी एलिजाबेथको निधन भएपछि उनका ७३ वर्षीय छोरा चार्ल्स बेलायतको राजा बनेका हुन् । उनको आज हुन गइरहेको राज्याभिषेक समारोह भने झन्डै तीन घन्टा चल्ने जनाइएको छ ।
नेपालबाट सहभागीताका लागि परराष्ट्र मन्त्री एनपी साउद गएका छन् ।
तीन घण्टे कार्यक्रममा विभिन्न कला, संस्कृति र इतिहास झल्काउने प्रस्तुति भइरहेको छ ।