arrow

सुदूरपश्चिममा मदन भण्डारी राजमार्गको काम शुरु भएन

logo
राम धामी,
प्रकाशित २०८० वैशाख २५ सोमबार
madan-bhandari0rajmarga-sudrur.JPG

डडेल्धुरा । राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गको सुदूरपश्चिम खण्डमा सडक निर्माण कार्य हुन सकेको छैन । झापाको बाहुनडाँगीस्थित मिर्चीडाँगी चोकबाट चुरेको फेदी हुँदै पश्चिममा डडेल्धुराको रूपाल पुग्ने करिब एक हजार तीन सय ५२ किलोमिटर राजमार्गको सुदूरपश्चिम खण्डमा हालसम्म काम शुरु नभएको मदन भण्डारी राजमार्ग आयोजना कार्यालय सुर्खेतका डिभिजन प्रमुख शम्भुप्रसाद आचार्यले बताए । उनले चालू आर्थिक वर्षमा समेत सुदूरपश्चिम खण्डका लागि बजेट विनियोजन नभएको बताउँदै अगामी वर्षदेखि काम शुरु गर्न बजेट माग गरिरहेको जानकारी दिए । 

सरकारको उच्च प्राथमिकतामा रहेको राजमार्गको निर्माण कार्यले सुदूरपश्चिम प्रदेशमा गति लिन नसकेकोमा यहाँका अगुवाहरू अविलम्ब काम शुरु हुनुपर्ने माग गरेका छन् । डडेल्धुराको रुपाल जोगबुडा खण्डमा सडक विभागको पूरक बजेट र स्थानीय पालिकाको बजेटबाट ट्र्याक खोल्ने काम र प्रारम्भिक सर्वेक्षणबाहेक लोक मार्गको काम हुन नसकेको सत्तारुढ नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य भरत धानुक ‘पुकार’ ले जानकारी दिए । 

आयोजनाबाट बजेट विनियोजन नहुँदा मदन भण्डारी राजमार्ग आयोजनाको काम गर्न स्थानीय तहबाट मात्रै रकम विनियोजन गर्न कठिनाइ भइरहेको परशुराम नगरपालिका नगर प्रमुख भरत बढाएर जोशीले बताए । ‘यति ठुलो राष्ट्रिय गौरवको सडक आयोजना निर्माण गर्न स्थानीय तहको बजेट पर्याप्त हुँदैन,’ उनले भने, ‘आयोजनाले बजेट विनियोजन नगर्दा सुदूरपश्चिम प्रदेशमा सडक आयोजनाको काम अघि बढाउन चुनौती थपिएको छ ।’

सङ्घीय आयोजना भएकाले सुदूरपश्चिम प्रदेश सरकारले पनि मदन भण्डारी राजमार्ग निर्माणका लागि बजेट विनियोजन गरेको छैन । नयाँ ट्र्याक खोल्नेभन्दा सञ्चालनमा रहेका टुक्रा टुक्रा सडक जोडेर राजमार्गको निर्माण भइरहेको छ । विभिन्न १० वटा टुक्रे सडकलाई एकीकृत गरी पूर्वदेखि पश्चिमसम्म जोड्ने चौथो राजमार्गका रूपमा मदन भण्डारी राजमार्गलाई सरकारले अघि बढाएको हो । मन्त्रिपरिषद्को २०७५ जेठ ६ गतेको निर्णयअनुसार मदन भण्डारी राजमार्ग आयोजनालाई आव २०७५-७६ देखि निर्माण शुरु भएको हो । 

राजमार्गको रेखाङ्कन चुरे क्षेत्रलाई आधार मानेर गरिएको छ । महेन्द्र राजमार्गको समान्तर र उत्तरतर्फ पूर्व-पश्चिम भएर जाने मदन भण्डारी राजमार्गलाई बाह्रै महिना प्रयोग गर्न सकिने गरी रेखाङ्कन गरिएको डिभिजन प्रमुख आचार्यले बताए । आयोजनाको निर्माण कार्य विसं २०८२ मा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । हाल मदन भण्डारी राजमार्ग आयोजनाले ७६१ किलोमिटर सडकको निर्माण कार्य गर्दै आइरहेको छ । बाँकी ६८५ किलोमिटर सडक विभाग अन्तर्गतकै आयोजनाले हेरिरहेका छन् । राजमार्गमा एक सय ८५ वटा पुलको निर्माणसमेत गर्नुपर्नेछ । आयोजनाको शुरु अनुमानित लागत ७५ अर्ब छुट्याइएको थियो ।

दुई लेनको यो राजमार्ग झापाको शान्तिनगरदेखि सुनसरीको धरान-चतरा, उदयपुरको गाईघाट-कटारी, सिन्धुलीको सिन्धुलीमाडी, मकवानपुरको हेटौँडा, नवलपरासीको गैंडाकोट, पाल्पाको रामपुर, गुल्मीको रिडी-तम्घास, प्युठानको बागदुला-देवीस्थान, दाङको घोराही-तुलसीपुर-पुरनधारा, सुर्खेतको बोटेचौर-बड्डीचौर, डोटीको सिमचौर-बीपीनगर, कैलालीको सहजपुर-बुडर हुँदै डडेल्धुराको जोगबुडाहुँदै रुपालसम्म पुर्‍याउने योजना छ ।

मध्यपहाडी राजमार्ग र पूर्वपश्चिम राजमार्गको बीचमा बन्ने यो राजमार्गले चुरे आसपासका क्षेत्रलाई र पूर्वदेखि पश्चिमसम्मलाई समेट्नेछ । चुरे तथा भित्री मधेसका उपत्यकालगायत मुलुकका प्रमुख सहरहरुलाई जोडने यो सडक आयोजना औद्योगिक करिडोरका रूपमा अघि बढाइएको सडक विभागका अधिकारीहरू बताउँछन् । ‘पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको चुरे क्षेत्रलाई औद्योगिक करिडोरका रूपमा विकास गर्न आवश्यक देखिएपछि लोक मार्गको योजना बनेको हो,’ नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश समितिका सभापति तथा सङ्घीय सरकार पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले बताए । 

सडक बनेपछि चुरे क्षेत्र आसपासका चुनढुङ्गा, कोइला, फलामलगायत खानी सञ्चालनको प्रशस्त सम्भावना रहेको उनले जानकारी दिए । भित्रिमधेस क्षेत्रका प्रमुख सहर जोडिने भएकाले त्यहाँका उत्पादित वस्तुले बजार पाउने र ती सहरमा औद्योगिकलगायत आर्थिक गतिविधि बढ्ने भएकाले राष्ट्रिय गौरवको मदन भण्डारी राजमार्ग आयोजना कार्यान्वयन गरिएको पुर्वमन्त्री बलायरले बताए । सुदूरपश्चिम प्रदेशमा मदन भण्डारी राजमार्ग आयोजना कार्यान्वयन गर्न बजेट विनियोजन हुनुपर्ने सुदूरपश्चिम प्रदेश सरकारका पुर्वमन्त्री पठानसिँह बोहराले बताए । 

पहाड तिरका बस्तीहरूमा बसाई सराइ निकै चाप बढेको र पहाडका तमाम बस्ती खाली भइरहेको अवस्थामा तराईमा जनघनत्व घटाउन मदन भण्डारी राजमार्ग आयोजना निकै प्रभावकारी हुने सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । ‘राजमार्ग निर्माण कार्य पूर्वतिर द्रुत गतिमा बढेको छ भने सुदूरपश्चिम खण्डमा काम भइरहेको छैन,’ सुदूरपश्चिम प्रदेश सभाका सांसद डा.ताराप्रसाद जोशीले भने, ‘सङ्घीय सरकारले सुदूरपश्चिम प्रदेशमा मदन भण्डारी राजमार्गको काम अविलम्ब अघि बढाउनुपर्छ ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ