काठमाडौं । असोज ९ गतेदेखि आमरण अनसनमा बसेका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका वरिष्ठ चिकित्सक गोविन्द केसीको अवस्था थप गम्भीर बनेके छ ।
उपचारमा संलग्न डा सुवास आचार्यले कुनै पनि बेला मुटुको चाल गडबडी भए ज्यानैसमेत खतरामा रहेको बताए । अन्यमात्रालाई मिलाउन सकिने भए पनि मुटुको चाल कुनै पनि बेला बिग्रन सक्ने भएकाले अवस्था अत्यन्त गम्भीर भएको डा आचार्यले जनाए ।
केसीमा रगतमा अक्सिजनको मात्रा कमी, मांसपेशी बाउँडिने, छाती दुख्ने, रिंगटा लाग्ने समस्या पहिलेदेखि नै देखिँदै आएको छ ।
आफ्नो स्वास्थ्य जतिसुकै गम्भीर भए पनि नवौं पटक आमरण अनसन बसेका डा केसीले सरकारले आफूसँग गरेको सम्झौता कार्यान्वयन नगरेसम्म अनशन नतोड्ने बताउँदै आएका छन् ।
यसैबीच, आवासीय चिकित्सकहरुले आकस्मिक र शल्यक्रिया बाहेकका काम गर्न छाडेका छन् ।
डा गोविन्द केसीको समर्थन गर्दै अस्पतालका दुई सय बढी आवासीय चिकित्सकले आकस्मिक र शल्यक्रिया बाहेकका पठनपाठनमा काम गर्न छाडेका हुन् ।
नेपाल रेडिडेन्ट डक्टर्स एसोसिएसनका अध्यक्ष डा लिजन महर्जनले सरकारले डा. केसीका मागमा गाम्भीर्यता नदेखाएकाले अब बिहीबारदेखि अप्रेशन र इमरजेन्सीसमेत ठप्प पार्ने मनस्थितिमा पुगेको बताए ।
उनले हाम्राकुरासंग भने, ‘साथीहरुबीच छलफल हुँदैछ, हामी सकभर यी दुई सेवा बन्द गर्ने पक्षमा छैनौं, तर बारम्बार यसरी डा. केसीले आमरण अनसन बस्ने अवस्था आउने हो भने हामी पनि कडा रुपले प्रस्तुत हुनुको विकल्प छैन ।’