काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले नेपाली क्रिकेटको विवाद समाधानका लागि सल्लाहकार समूह गठन गरेपनि क्रिकेट बोर्ड गठन गर्ने की संघकै निर्वाचन गर्ने भन्ने प्रष्ट नपार्दा अन्योल कायमै छ ।
आफुहरुलाई पत्र आएको बताउँदै राष्ट्रिय खेलकुद परिषद् सदस्य सचिव केवश कुमार विष्टले ६ सदस्यीय समिति गठन भएको तर थप कार्यादेश प्राप्त नभएको बताए । उनले भने, ‘अमर शेखले हेर्ने गरी ६ सदस्यीय सल्लाहकार समूह गठन गरेको जानकारी आएको छ । सो समूहले निर्वाचन गर्नेछ भनेको छ ।’
कार्यविधि दिएको छ भन्ने छ नि ? जवाफमा उनले भने, ‘थप कार्यविधि अबको छलफल पछि आउला । पहिले क्रिकेट बोर्ड गठन गर्ने भनेर सल्लाहकार समूह गठनको कुरा आएको हो । अहिले क्रिकेट बोर्डमा जानेकी संघकै निर्वाचन हुने भन्नेबारे मौन छ । केही कुरा आएको छैन ।’क्यानको प्रतिबन्ध फुकुवा गर्ने विषयमा पनि सोचिरहेको जानकारी आएको सदस्य सचिव विष्टले बताए ।
सल्लाहकार समूह गठनले हामीलाई कुनै उत्साह छैन : चन्द
निलम्बित नेपाल क्रिकेट संघ क्यानको निर्वाचित कमिटी अध्यक्ष चतुरबहादुर चन्दले सल्लाहकार समूह गठनले कुनै उत्साह नरहेको बताए ।
उनले भने, ‘पहिले राजनीतिक हस्तक्षेप भयो भन्दै निलम्बन गर्ने । फेरि राजनीतिक कलर दिने ? हिजो कार्यवहाक अध्यक्ष हुँदा आइसीसीको बैठकमा सहभागि हुन नसक्ने कुनै दल विशेषका मान्छेहरुलाई समितिमा राखिएको छ । यस्तै, स्टेक होल्डर भन्दै क्रिकेटमा कामै नगरेका व्यवसायीलाई राखिएको छ ।’ यस्तोमा नेपाली क्रिकेटको विवाद साँच्चै समाधान हुन्छ भनेर कसरी विश्वास गर्ने–चन्दले प्रतिप्रश्न गरे ।
हाम्रो एउटै अडान जिल्ला संघहरुलाई सक्रिय बनाऔं र क्रिकेट बुझेकै मान्छेहरुलाई समितिमा ल्याऔं भन्ने हो । अहिलेको समितिमा भएका एक दुई जना बाहेक जिल्लासंघसँग सम्बन्ध र पकड बनाउने हैसियत कसैसँग छैन । जिल्ला संयन्त्रलाई मूख्य आधार मान्नु पर्दैन ?
हामीसँग ३५ जिल्ला पूर्ण पकडमा छन्
उनले आफुहरुलाई आइसीसीले विगतको निर्वाचन अवैधानिक थियो भन्न सक्छ र फेरि निर्वाचन गर भन्छ भने पनि तयार छौं–भने । चन्दले आफुहरुले विधान संशोधन देखि निर्वाचन गर्ने सम्मको जिम्मेवारी पूरा गर्न सक्ने बताए ।
यद्यपि, समन्वय गरे अझै पनि केही नबिग्रेको र डिसेम्बर सम्म आफुहरुले कुर्ने उनको भनाई छ । आफुहरुको समेत आइसीसीमा सम्बन्ध रहेको भन्दै प्रक्रिया चाल्ने चन्दले बताए । आइसीसीले अहिले गर्न खोजको कामले कुनै समस्या समाधान नहुने र झन विवाद बढाउने चन्दको जिकिर छ । राखेपले चन्दको समितिलाई अवैधानिक भन्दै आएको छ । यी दुवैबीचको झगडा अन्त्य भएकै छैन ।
अदालतको निर्णय फेरि पनि आउला भन्ने आश छैन
चन्दले सर्वोच्चमा विचाराधिन मुद्दाको निर्णय कुर्दा कुर्दा थाकिसकेको बताए । अब फेरि ३० गते पेशी तोकिएको छ । जुन ४०औं पटक तोकिएको पेशी हो । फेरि पनि निर्णय आउला भन्नेमा आशा छैन, उनले भने, ‘हामीले सरकारी हस्तक्षेप विरुद्ध नै संघर्ष गरेका हौं । सरकारी हस्तक्षेपकै कारण नै देखाएर आइसीसीले क्यान निलम्बन गरेको हो ।’ अब अक्टोबरमा हुने आइसीसी बोर्ड बैठकको निर्णय पनि हामीले पर्खिरहेका छौं ।