arrow

आफैँ गरेको निर्णयमा क्याम्पसलाई बदनाम गर्दै गाउँपालिका प्रमुख यादव

logo
रबिन्द्र यादव, 
प्रकाशित २०८० जेठ १ सोमबार
campus-gaupalika-tussel-nawalparasi.jpg

नवलपरासी पश्चिम । त्रिभुवन क्याम्पस प्रतापपुर गाउँपालिका वडा नं ९ स्थित बेलाटारीले छात्राहरुलाई साइकल वितरणमा सिफारिस लिने क्रममा जनही पाँच  सय रुपैयाँ असुलेको भनी प्रतापपुर गाउँपालिकाले कपोलकल्पित तथ्यहीन प्रचार गरेको भन्दै आपत्ति जनाएको छ । 

आइतबार क्याम्पस संचालकले पत्रकार सम्मेलनसमेत आयोजना गरी गाउँपालिकाले क्याम्पसलाई बदनामी गर्ने प्रयास गरेको बताएको हो । त्रिभुवन क्याम्पस बेलाटारीका क्याम्पस सञ्चालक समितिका अध्यक्ष अमुलकुमार पाण्डेले एक विज्ञप्तिसमेत जारी गरी गाउँपालिकाको अभिव्यक्ति प्रति घोर आपत्ति तथा खेद प्रकट गरेको बताएका छन् । 

अध्यक्ष पाण्डेद्वारा जारी गरीएको प्रेस विज्ञप्तिमा हालका प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादव उक्त क्याम्पसको सञ्चालक समितिको सदस्य भएको समयमा नै अन्य सिफारिस दस्तुर वापत १ हजार रुपैयाँ लिने भनी निर्णय गरेको जनाइएको छ ।

२०७३ साल असार २० गते तत्कालीन क्याम्पस सञ्चालक समितिका अध्यक्ष केदारनाथ पाण्डे रहँदा सोही समितिको सदस्यको रुपमा यादव समेत रहेको र उक्त निर्णयमा यादवको समेत हस्ताक्षर भएको क्याम्पसले जनाएको छ । 

साथै त्यसरी निर्णय गरिएको दस्तावेज समेत पत्रकारहरु सामु सार्वजनिक गरिएको छ । पत्रकार सम्मेलनमा क्याम्पस संचालक समिति अध्यक्ष पाण्डेले उमेशचन्द यादवले आफ्नै कार्यकालमा गरेको निर्णय बिर्सेर हालको क्याम्पस प्रशासनलाई बदनाम गर्न खोजेको आरोप लगाएका हुन् । 

त्यस्तै मिति २०७७ कात्तिक २२ गते तत्कालीन नितेष गुप्ता नेतृत्वको क्याम्पस संचालन समितिको बैठकले सिफारिस दस्तुर १ हजारबाट घटाएर ५ सय रुपैयाँ कायम गरेको र सोही अनुसार नै रकम लिइएको दाबी क्याम्पस प्रमुख मनोजधर द्विवेदीले बताए ।

आफूहरुले तत्कालीन समितिको निर्णय अनुसार नै सिफारिस दस्तुर लिएको तर आफूहरुलाई बदनाम गर्ने प्रयास गाउँपालिका प्रमुखले गरिरहेको गुनासो क्याम्पस प्रमुख द्विवेदीले गरेका छन् ।

गत शुक्रबार प्रतापपुर गाउँपालिकाले पालिकाभित्र रहेका स्नातक तह प्रथम वर्ष अध्ययनरत १ सय २० जना छात्राहरुलाई निःशुल्क साइकल वितरण गरेको थियो । 

जस अन्तर्गत त्रिभुवन क्याम्पस बेलाटारीका ७७ जना छात्राहरुले साइकल प्राप्त गरेका थिए भने साइकल प्राप्त गर्ने उद्देश्यले ७८ जना छात्राहरुले क्याम्पसबाट सिफारिस लिएका थिए ।

क्याम्पसले ती विद्यार्थीहरु सो क्याम्पसमा अध्ययन गरेको सिफारिस वापत जनही ५ सय रुपैयाँ शुल्क लिएको थियो । उक्त रकम असुल गरिएको भनी साइकल वितरण समारोहमा गाउँपालिका अध्यक्ष यादवले आफूहरुले निःशुल्क साइकल वितरण गरेको तर त्यसका नाममा क्याम्पसले रकम असुली गरेर छात्राहरुलाई आर्थिक भार पारेको आरोप लगाएका थिए । 

त्यस्तै उक्त समारोहमा ५ सय रुपैयाँ असुल गरी विद्यार्थीहरुलाई रसिदसमेत नदिइएको र क्याम्पसले आर्थिक अपचलन गरेको आरोपसमेत लगाइएको थियो ।

क्याम्पस प्रमुख तथा संचालक समितिले भने आफूहरुले नियमअनुसार रकम लिएको र त्यस वापतको रसिद सबैलाई दिइएको भनी रसिदको प्रतिलिपीसमेत सार्वजनिक गरेको थियो ।

त्यस्तै क्यापसले ‘क्यूएए’ प्रक्रियामा जाँदै गर्दा जग्गा विवाद तथा पैसाको विवाद सिर्जना गरी गाउँपालिका र सँगै रहेको त्रिभुवन नमूना मावीलेसमेत हस्तक्षेप गरिरहेको विज्ञप्तिमा उल्लेख रहेको छ ।

त्यस्तैगरी त्रिभुवन क्याम्पस बेलाटारीको स्वतन्त्र विद्यार्थी युनियनले समेत विज्ञप्ति जारी गर्दैै गाउँपालिका अध्यक्षले आफ्नै कार्यकालमा र आफ्नै हस्ताक्षरमा गरेको निर्णयविरुद्ध अभिव्यक्ति दिएर क्याम्पसको बदनामी गर्न खाजेको आरोप लगाएको हो । 

युनियनका अध्यक्ष कमलेश पासीको हस्ताक्षर प्रेस विज्ञप्तिमा सो विषयमा जाँचबुझ गर्दा आर्थिक कारोबार चुस्तदुरुस्त रहेको पाइएको उल्लेख गरेको छ ।

उक्त क्याम्पस संचालक समिति पाण्डेले राजनैतिक पूर्वाग्रह राखेर क्याम्पसलाई असफल बनाउने षड्यन्त्र भइरहेकोसमेत बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ