काठमाडौं । निर्वाचन आयुक्त इला शर्मा र पूर्व भारतीय प्रमुख निर्वाचन आयुक्त शाहाबुद्दिन याकुव कुरैसीबीच विवाह हुन लागेको भन्दै अफवाह फैलिएको छ।
शर्मा र कुरैसीबीचको सम्बन्धलाई लिएर भारतीय पत्रिका ‘द टेलिग्राफ’ले विवाह हुन लागेको खबर प्रकाशन गरेको हो। ‘द टेलिग्राफ’मा रशीद किदवईले लेखेको समाचार सोही पत्रिकाको
अनलाइन पोर्टलमा समेत प्रकाशन भएको छ । समाचारमा चाँडै विवाह हुने भनिएको छ ।
उसले भनेको छ, ‘गत सेप्टेम्बरमा कुरैसीले शर्मालाई मेक्सिकोमा भएको सम्मेलनका क्रममा भेटेका थिए।’ कुरैसीले टेलिग्राफको जिज्ञासामा आफुहरुबीचको सम्बन्ध नितान्त आन्तरिक कुरो हो भनेका छन् ।
यस विषयमा इला शर्मा बोल्न नसक्ने भन्दै कुरैसीले शर्माको गोपनियताको मर्मलाई सम्मान गर्न आग्रह गरेको समेत साचारमा जनाइएको छ।
के हो त कुरा ? विहे गर्ने नै हो ?
निर्वाचन आयुक्त शर्माले हाम्राकुरासंग खुलेरै कुरा गरिन् । उनले भनिन्, ‘समाचार आएको मैले थाहा पाएँ । त्यस बारेमा म संग उहाँ (कुरैसी)ले कुरै गर्नु भएको छैन ।’ हाँस्दै शर्माले भनेकी छन्, ‘चन्द्र भाई मेरो विहे हुने भए मैले किन लुकाउँथे र ! खुसीको कुरा पनि मैले लुकाउने कुरा हुन्छ र ? । तपाईलाई पनि पार्टीको निम्तो आउँथ्यो होला ।’
६९ वर्षीय कुरैसी र ४९ वर्षीया शर्माबीच सम्बन्ध भने असाध्यै निकट छ । यो कुरा शर्माले पनि छुपाइनन् । उनले भनिन्, ‘सम्बन्ध किन हुँदैन ? हाम्रो असाध्यै राम्रो रिलेशन छ । उहाँको पुस्तक हामी पढ्छौं । नेपालको निर्वाचन प्रणालीमा पनि उहाँले थुप्रै सुझाव दिनु भएको छ । भारत आउने जाने त भइनै रहन्छ । हो चिनजान छ । किन लुकाउँ र । मान्छेहरुको दोस्ती त हुँन्छ नै ।
सुरुमा दिक्क लाग्या थ्यो, अहिले हाँसो उठिरहेको छ !
उनले कुराकानीका क्रममा भनिन्, ‘मसंग नेपाली केही पत्रपत्रिकाको समस्या थियो नै, भारतीय मिडिया पनि यस्ता हुँदारहेछन् भन्ने थाहा पाँए ।’ यो पित्त पत्रकारिता हो । मैले मेरो खुसीको कुरा लुकाउने कुरा हुन्छ र –फेरि पनि उनले भनिन् । मलाई कसैले सोधेको छैन । फेरि हाँस्दै उनले भनिन्, ‘विहान सुरुमा समाचार पढ्दा दिक्क लागेको थियो, तर अहिले हाँसो उठिरहेको छ ।’
आयुक्त शर्माले वाराणासी, भारतबाट जीव विज्ञानमा बीएससी, कमन ल मा एलएलबी एवं संस्कृत साहित्यमा शास्त्री गरेकी छन् । त्यसैगरी नेपाल प्रेस इन्स्टिच्युट काठमाडौंबाट पत्रकारितामा डिप्लोमा गरेकी छन् ।
शर्मा सन् २०१३ मार्च २४ देखि निर्वाचन आयोग नेपालको आयुक्त पदमा कार्यरत छन् । निर्वाचन आयोगमा २०७० को निर्वाचनका बखत उनलाई नियमित अायोगका काम कारबाही बाहेक दोस्रो पञ्चवर्षीय रणनीतिक योजना निर्माण, निर्वाचन कानून तर्जुमा, निर्वाचन कार्यविधि निर्माण, निर्वाचन संचालन तालिका निर्माण तथा प्रेस एवं संचार, लैंगिक एवं समावेशीकरणको कार्य हेर्ने विशेष जिम्मेवारी दिइएको थियो ।
२०१४ मा फोरम अफ इलेक्शन म्यनाजेमेन्ट बोडिज अफ साउथ एशियाको पाँचौं सम्मेलन आयोजना गराउने जिम्मेवारी पनि उनले बहन गरेकी थिइन् ।
निर्वाचन आयोगमा अहिले उनले नियमित आयोगको कार्य बाहेक कानून तर्जुमा, राजनीतिक दल सम्बन्ध, मतदाता नामावली संकलन, लैंगिक एवं समावेशीकरण, प्रेस एवं संचार तथा पाँचौं मीटिंगको संकल्प प्रस्तावअनुसार नेपालमा साउथ एशिया इन्स्टिच्युट अफ डेमोक्रेसी एंड इलेक्टोरल स्टडीजको स्थापना सम्बन्धी कार्य हेरिरहेकी छन् ।
वकालत, पत्रकारिता, विकासतथा जनसम्पर्क क्षेत्रमा उनको २५ वर्ष भन्दा बढीको अनुभव छ । पत्रकारिता पेशामा उनले राष्ट्रिय अंग्रेजी दैनिकमा संवाददाता, समाचार डेस्क सम्पादक तथा फिचर सम्पादकका रुपमा तेह्र काम गरेकी छन् । उनले केही वर्ष महिला अधिकारसम्बन्धी स्तम्भ एवं धेरै वर्षसम्म सम्पादकीय लेखिन् ।
कानूनको उच्च अध्ययन पश्चात् जनसम्पर्क परामर्श तथा अंग्रेजी राष्ट्रिय दैनिकमा राजनीति, विकास, लैङ्गिक मुद्दामा सम्पादकीय लेखनलाई निरन्तरता दिंदै उनले व्यापारिक कानूनी परामर्शदाता, प्रतिस्पर्धा कानून विशेषज्ञका रूपमा एवं पीआइएलद्वारा विकासको मुद्दाहरुको वकालतसम्बन्धि कार्य गरिन् ।