arrow

हराउँदै ढिकी–जाँतो, पाको पुस्तालाई पिरलो

logo
सन्जय भट्टराई,
प्रकाशित २०८० जेठ २ मंगलबार
345711179_1929411630753292_19103.jpg
तस्बिर– कावासोती १३ मा रहेको सामूहिक ढिकीमा पिठो कुट्दै महिलाहरु ।

कावासोती ।  गाउँघरमा आधुनिक प्रविधि भित्रिएपछि कुटानी–पिसानीका परम्परागत साधन ढिकी र जाँतो हराउँदै जान लागेका छन् ।  प्रविधिको विकाससँगै विद्युत्बाट चल्ने मिल स्थापना भएपछि गाउँघरमा परम्परागत ढिकी–जाँतोको प्रयोग घट्दै जाँदा ढिकी र जाँतो बिस्तारै लोप हुने अवस्थामा पुगेका हुन् ।

प्रविधिले परम्परागत साधनलाई विस्थापित गर्दै लगेपछि परम्परागत साधनका रुपमा रहेका ढिकी र जाँतो हराउँदै गएपछि पाका पुस्तालाई भने ढिकी र जाँतोमा पिसेको अन्नको स्वाद हराउँदै जाँदाँ नरमाइलो  लागेको छ । कावासोती नगरपालिका वडा नं १२ का ७४ वर्षीय डण्डापानी तिवारीले आधुनिक उपकरणले धान कुट्ने, तोरी पेल्ने, गहुँ, मकै पिस्ने परम्परागत मेसिन विस्थापित हुने गरेको बताए । “ढिकी, पानी घट्ट र जाँतोमा पिसेको अनाजबाट पकाइएका परिकार निकै स्वादिला हुन्थे,” तिवारीले भने, “विद्युतीय उपकरणले सजिलो त भएको छ , तर स्वाद हरायो ।”

प्रविधिको विकास र मानिसको काम गर्ने बानी हराउँदै जाँदा परम्परागत प्रविधि लोप हुँदै गएको कावासोती १२ बुद्धिराम लम्सालको भनाइ छ । परम्परागत प्रविधि लोप हुँदै गएपछि ढिकी र जाँतोमा कुटेको चामल र पिठो मात्रै होइन गाउँघरमा ढिकी र जाँतो देखिनै छाडेको लम्सालले बताए । “अहिलेका अधिकांश युवा वर्गलाई त ‘ढिकी जाँतो भनेको के हो ?’ भन्ने अवस्था आइसक्यो, यसका बारेमा कसैलाई बताउनुपर्यो भने पनि गाउँघरमा  ढिकी जातोँनै भेटिदैनन,” लम्सालले भने । 

कावासोती १२ की ९३ वर्षीया मनरुपा चापागाईसँग ढिकी, जाँतो कुटेर जीविका चलाएको अनुभव छ । ३० वर्षसम्म ढिकीजाँतो कुटी जीविका चलाउँदै आएकी चापागाईको परिवारका सदस्यले पछिल्लो समयमा १ पाथी पिसाउन परे पनि विद्युतको मेसिनमा लैजाने गरेको देख्दा पुराना दिनमा ढिकी जाँतो गरेको सम्झना आउने बताउँछिन् । “अहिले त उमेर र शरीरले पनि सक्दैन, पहिले पहिले बिहान ३ बजे उठेर बिहानलाई पकाउन मकै पिसेर आटो बनाउँथ्यौँ, बिहानै ढिकी–जाँतोमा काम गर्दा आनन्द आउँथ्यो पछिल्लो समयमा १–२ पाथी भए पनि मेसिनमा लैजान्छन्” चापागाईले पुराना दिन सम्झिदै भनिन् ।

आजकल कुनै कुनै गाउँमा मुस्किलले परम्परागत जाँतोसम्म देख्न पाइन्छ । खुट्टाले धान कुट्ने ढिकी त भेटिनै छाडेको छ । नयाँ पुस्ता  छिटो, छरितो र सुविधा भोगी  भएकाले पनि कुटानी पिसानीका  परम्परागत साधनहरु हराउँदै गएका हुन्  । “पहिले प्रत्येक घरमा ढिकी र जाँतो हुने गरे पनि हाल भने कतैकतै मात्र प्रयोगमा ल्याएको भेटिन्छ । यस्ता प्रविधिको आधुनिकीकरण गरी अझै कम लागत र सर्वसुलभताका आधारमा विकास गरे परम्परागत प्रविधिको संरक्षण हुन्थ्यो,” कावासोती १३ का डुनराज सिग्देलले बताए । 

कावासोती नगरपालिकामा मात्रै होइन पूर्वी नवलपरासीका पहाडी क्षेत्रका केही गाउँ बाहेक अधिकांश गाउँहरुमा ढिकी जाँतो हराउँदै गएका हुन् ।

प्रविधिको विकाससँगै विद्युतीय मिलहरुको प्रयोग बढेसँगै नयाँ पुस्ताका लागि भने ढिकी जाँताेलाई बिर्सदै जाने हुन् कि भन्नेकुराले पाका पुस्तालाई भने पिरोलेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ