arrow

नक्कली भुटानी प्रकरणमा दबाब स्वरूप प्रदर्शन

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ५ शुक्रबार
raut-pradarsan.jpg

काठमाडौं ।  नेकपा (एकीकृत समाजवादी)ले नक्कली भुटानी शरणार्थीलाई विदेश पठाउने कार्यमा संलग्न सबैलाई कारबाहीको माग गर्दै बिहीबार विरोध प्रदर्शन गरेको छ । 

सङ्गठित अपराधका रूपमा रहेको उक्त विषय राष्ट्रका विरुद्ध भएकाले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न दबाबस्वरुप प्रदर्शन गरेको हो । पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले नक्कली शरणार्थी प्रकरणमा प्रहरीले गर्ने छानबिनलाई सरकारले हस्तक्षेप गर्न खोजेमा आफ्नो पार्टीको सहयोग नरहने बताए ।
 
सरकारले घटनालाई ढाकछोप गरी कमजोर बनाउन खोजेमा साथ दिनुपर्ने बाध्यता नरहेको प्रष्ट पार्दै उनले कानुन सबैलाई समान रहेकाले उच्च ओहोदामा रहेका व्यक्तिलाई उन्मुक्ति दिन नहुने बताए ।

अर्का उपमहासचिव तथा मोर्चा फाँट इन्चार्ज डा विजय पौडेलले कम्युनिष्ट सिद्धान्तमा आबद्ध नेता नै देशद्रोही काममा संलग्न हुनु दुःखदायी विषय भएको भन्दै अन्य भ्रष्टाचारको पनि छानबिन गर्न सरकार संवेदनशील हुनुपर्नेमा जोड दिए ।

पार्टी पोलिटब्यूरो सदस्य दिलु पन्तले पहुँचवाला दोषीलाई जोगाउन घटनालाई प्रभावित बनाउन खोजेकामा सतर्क रहन जनतालाई आग्रह गर्नुभयो । पार्टी निकट जनवर्गीय सङ्गठनले पनि प्रदर्शनमा ऐक्यबद्धता प्रकट गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ