arrow

नक्कली भुटानी शरणार्थी प्रकरणमा

रिजाल र मियाँ हिरासतमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ५ शुक्रबार
rijal-miya.jpg

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका भुटानी शरणार्थीका नेता तथा अधिकारकर्मी टेकनाथ रिजाल र नेपाल हज समितिका अध्यक्ष शम्शेर मियाँलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतले शरणार्थी प्रकरणमा अनुसन्धानका लागि बिहीबार पक्राउ परेका रिजाल र मियाँलाई हिरासतमा राखेर अनुसन्धान गर्न दुई दिनको म्याद दिएको हो । योसँगै रिजाल र मियाँ हिरासतमा रहेका छन् ।   

रिजाललाई झापाबाट काठमाडौं आउने क्रममा बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो भने मियाँलाई सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट पक्राउ गरेको काठमाडौंका प्रहरी उपरीक्षक सीताराम रिजालले बताए ।

उक्त घटनामा यसअघि प्रहरीले पूर्वमन्त्री र बहालवाला सचिवसहित १४ जनालाई पक्राउ गरी प्रारम्भिक बयान लिइसकेको छ । बिहीबार पक्राउ परेका दुईसहित उक्त घटनामा पक्राउ पर्नेको सङ्ख्या १६ पुगेको छ ।

रिजालमाथि यसअघि हिरासतमा परेका सानु भण्डारीसँग आर्थिक कारोबार भएको पाइएपछि अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ । विगतमा रिजालले बाँकी रहेका शरणार्थीको पुनर्बासका लागि पहल गरेका थिए । सोही आधारमा सरकारले कार्यदल गठन गरेको थियो ।

यता हज समितिका अध्यक्ष मियाँलाई भने गिरोहसँगको मिलेमतो गरेको आरोप छ । उनले हज समितिका लागि प्रयोग गर्न दिएको गाडी गिरोहलाई प्रयोग गर्न दिएको खुलेको प्रहरीले जनाएको छ । उक्त सरकारी गाडी अहिले प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

घटनामा अब प्रहरीले पाँच दिनमा अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमार्फत अदालतमा मुद्दा पुर्याउनुपर्ने छ । जिल्ला प्रहरी परिसर काठमाडौंले शरणार्थी प्रकरणको घटनाको ठगी र सङ्गठित अपराधमा अनुसन्धान गरिरहेको छ । 

उक्त घटनामा अनुसन्धानका लागि पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, निलम्बित सचिव (पूर्वगृहसचिव) टेकनारायण पाण्डे, पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकार डा इन्द्रजीत राईलगायत १६ जना पक्राउ परिसकेका छन् । अझै दुई जना फरार रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ