arrow

दलहरुले आत्मालोचना गरेर फेरि पुरानै स्थानमा आउनु पर्छ : गच्छदार

logo
प्रकाशित २०७३ असोज २० बिहिबार
काठमाडौं । मधेसी जनाधिकार फोरम नेपाल लोकतान्त्रिकले राजनीतिक सहमतिका आधारमा संविधान संशोधन गर्न पुनः माग गरेको छ । 
 
पार्टीको विहिबार सकिएको दुईदिने संसदीय दलको बैठकले राजनीतिक दलबीचको राष्ट्रिय एकता र सहमतिबाट नै संविधान संशोधन लगायत समस्या समाधान हुनेमा जोड दिएको छ । 
 
संविधान जारी हुनुपूर्व भएको सोह्रबुँदे सहमति कार्यान्वयन हुन नसक्दा वर्तमान राजतीतिक सङ्कट र जटिलता उत्पन्न भएको ठहर दलले गरेको छ । 
 
अध्यक्ष विजयकुमार गच्छदारको अध्यक्षतामा दलको केन्द्रीय कार्यालय सुविधानगरमा बसेको सो बैठकले राजनीतिक समस्या समाधान गर्न नेता गच्छदारले निर्वाह गरेको भूमिकाप्रति उनलाई समर्थन समेत गरेको दलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 
 
बैठकले पार्टी आठौँ वर्ष प्रवेश गरेका सन्दर्भमा आगामी दिनमा पार्टी सुदृढीकरणमा सशक्त र प्रभावकारी रुपमा परिचालित हुने निर्णय समेत गरेको छ । 
 
 
सोह्रबुँदे सहमतिलाई आधार बनाएर अघि बढ्नुपर्नेमा जोड
फोरम लोकतान्त्रिक अध्यक्ष गच्छदारले राजनीतिक गतिरोध अन्त्यका लागि सोह्रबुँदे सहमतिलाई आत्मसात् गर्नुपर्ने बताएका छन् । 
 
विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेता गच्छदारले सोह्रबुँदे सहमतिकै आधारमा संविधान जारी भएकाले संविधान कार्यान्वयनका लागि पनि सो सहमतिलाई आधार मानेर दल अगाडि बढ्नुपर्नेमा जोड दिए ।  
 
दलहरुले आत्मालोचना गरेर फेरि पुरानै स्थानमा आउनुको विकल्प नभएको बताउँदै अध्यक्ष गच्छदारले सहमतिबिना संविधान संशोधन र यसको कार्यान्वयन सम्भव नभएकाले सबै दललाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई सुझाव दिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ